एजेन्सी । भारतीय महिला क्रिकेट टिमकी कप्तान हर्मनप्रित कौरले एकदिवसीय, टी-२० र टेष्ट गरी तीनै फर्म्याटको कप्तानीबाट राजीनामा दिनुभएको छ । हर्मनप्रितले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् तीनै फर्म्याटको कप्तानी छाडेको घोषणा गर्नुभएको हो । ३७ वर्षीया हर्मनप्रितले कप्तानीबाट राजीनामा दिए पनि आफ्नो खेलाडी करिअरलाई भने निरन्तरता दिने बताउनुभएको छ ।
उहाँले भारतीय महिला टिमको कप्तानका रूपमा पाँच टेष्ट, ५१ एकदिवसीय अन्तर्राष्ट्रिय र १५५ टी-२० अन्तर्राष्ट्रिय खेलमा नेतृत्व गर्नुभएको छ । उहाँको कप्तानीमा भारतले एसियाली खेलकुदमा स्वर्ण पदकसमेत जितेको थियो ।
भारतीय महिला क्रिकेट टिमको भविष्यबारे उपकप्तान स्मृति मन्धना, मुख्य प्रशिक्षक अमोल मुजुम्दार र सचिव देवाजित साइकियाले सोमबार छलफल गरेपछि हर्मनप्रितले कप्तानी छाड्ने निर्णय सार्वजनिक गर्नुभएको हो ।
राजीनामाको घोषणा गर्दै हर्मनप्रितले यो निर्णय आफ्ना लागि सहज नभएको बताउनुभएको छ । उहाँले वर्षौंका सम्झना, भावना र योगदान आफूले जीवनभर साथमा राख्ने उल्लेख गर्नुभएको छ ।
‘यो मेरा लागि सहज निर्णय थिएन । वर्षौंका सम्झना, भावना र योगदानहरू मेरा लागि जीवनभर साथ रहनेछन् । मैले देशका लागि आफ्नो हरेक चिज दिएकी थिएँ । कप्तानी गर्दा मैले आफ्नो प्रदर्शन र व्यक्तिगत वृद्धिभन्दा टिमको प्रदर्शनलाई बढी प्राथमिकता दिएँ,’ उहाँले लेख्नुभएको छ ।
कप्तानीका क्रममा आफूले धेरै कठिन निर्णय लिनुपरेको र ती निर्णय सधैं सकारात्मक रूपमा नबुझिएको पनि उहाँले उल्लेख गर्नुभएको छ । कतिपय निर्णयले व्यक्तिगत रूपमा समेत आफूलाई असर गरेको भए पनि टिमलाई बलियो बनाउने उद्देश्यले ती निर्णय लिएको उहाँको भनाइ छ ।
हर्मनप्रितले कप्तानी छाडेपछि भारतीय महिला टिमको नयाँ कप्तानका रूपमा स्मृति मन्धनाको नाम चर्चामा आएको छ । मन्धनाले यस जिम्मेवारीका लागि तयार रहेको बताउँदै आउनुभएको छ । उहाँको नेतृत्वमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले २०२४ र २०२६ मा महिला प्रिमियर लिग (डब्ल्युपिएल) को उपाधि जितेको थियो ।
हर्मनप्रितले सन् २०१२ मा पहिलोपटक भारतीय महिला टिमको कप्तानी सम्हाल्नुभएको थियो । सन् २०१६ मा भारतमा आयोजित टी-२० विश्वकपमा भारतीय टोली समूह चरणबाटै बाहिरिएपछि उहाँ कप्तानीको प्रमुख दाबेदारका रूपमा अघि आउनुभएको थियो । मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि हर्मनप्रितले सन् २०२२ मा एकदिवसीय र टेष्ट टिमको कप्तानीको जिम्मेवारी पाउनुभएको थियो । लामो समय भारतीय महिला क्रिकेटको नेतृत्व गरेपछि उहाँले अब कप्तानीको जिम्मेवारीबाट अलग हुने निर्णय गर्नुभएको हो ।







प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमुक्त
नागरिकको विश्वास नै प्रहरीको वास्तविक
यसपाली बागलुङ कालिकामा छैन चहलपहल
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस
पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन