नेपालको इतिहासमा सबैभन्दा भयावह रूपमा नेपाली जनताले सामना गर्नुपरेको एउटा काहालिलाग्दो घटनाको अब ४० दिन बितिसकेको छ । यसक्रममा भएका खोज तथा उद्धारका कार्यहरू सरकारले तन्मयताका साथ अगाडि बढायो । घटना भएको १५ दिन बित्दासम्म पनि अनपेक्षित रूपमा केही मानिसहरूको जीवितै उद्धार भयो तर अब भने कोही मानिस जीवित फेला पर्ने सम्भावना टरिसकेको छ । त्यस्तो भयावह र काहालिलाग्दो बाढीको बीचमा लपेटिएर ४० दिनसम्म कोही कतै जीवित भेटिने सम्भावना अब छैन । यसका साथै मृत व्यक्तिहरू पनि पानी, हिलो, लेदोमा गुट्मुटिएर रहेको अवस्थामा सग्लो र नसडेको अवस्थामा भेट्न सक्ने सम्भावना टरिसकेको छ ।
बाढीमा हराएर नभेटिएका र हालसम्म सम्पर्कमा नआएका व्यक्तिका आफन्तहरूले पनि अब उनीहरू जीवित भेटिने सम्भावना देखेका छैनन् । त्यसै कारणले अधिकांशले आफ्नो धर्म संस्कार अनुसार तिनको विभिन्न ढंगले अन्तिम संस्कार गरिसकेका छन् । हिन्दु धर्म मान्नेहरूले कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेका छन् र तिनको काजक्रिया पनि भइसकेको छ । सरकारले अब कुनै व्यक्ति जिउँदो भेट्ने सम्भावना देखेन । हालसम्मको प्रयास, विज्ञहरूको सल्लाह, सुझाव र त्यसभित्र व्यक्तिहरू जीवित भेटिने सम्भावना नरहेका कारण सरकारले अब खोज तथा उद्धार कार्य स्थगित गर्ने निर्णय गरेको छ । अस्ति सोमबार प्रधानमन्त्री बालेन साहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले यस्तो निर्णय गरेको हो ।
सामान्यतया उद्धारमा सरकारले कमीकमजोरी गरेको भन्ने आक्षेप र विरोध खासै सुनिएन । यो प्राकृतिक प्रकोप हो । कसैको गल्ती र कमजोरीबाट भएको होइन । हो भने विश्वका ठूला औद्योगिक राष्ट्रहरूको कार्बन उत्सर्जनको प्रभावबाट सिर्जना भएको प्राकृतिक समस्या हो भन्न सकिन्छ । गत भदौ १० गते नेपाल चीन सीमाक्षेत्रको उत्तरपट्टि चीनतर्फ हिमपहिरो आएर हिमतालमा बज्रिँदा ताल फुटेर त्यसको पानी लेदो, गेग्य्रानसहितको अकल्पनीय र अनियन्त्रित बाढी आउँदा भोटेकोशी, त्रिशूली र नारायणी नदीहरूमा त्यसको उभार आएको थियो । त्यसले भोटेकोशी र त्रिशूली आसपासका बस्तीहरू विनाश भए । ती नदीहरूमा भएका पक्की पुल, झोलुंगे पुलहरू सबै बगे ।
बस्ती बग्दा स्वभावतया त्यहाँ भएका व्यक्ति निर्मित संरचना, घरपालुवा जनावर तथा पक्षीहरू, ती बस्तीमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरू, विभिन्न वित्तीय संस्थाहरू सबै बगे र राष्ट्रको खर्बौंको सम्पत्ति क्षति भयो । अब घटनाको चालीसौं दिन बितिसकेको हुँदा खोज र उद्धार कार्यमा जे जति सफलता प्राप्त भयो त्यसलाई स्थगित गर्दै अब भने पुनर्निर्माणका लागि अगाडि बढ्ने निर्णय उक्त बैठकबाट भएको हो । जीवित भेटिएका, बाढी आउँदाआउँदै भाग्न सफल भएका तर धनसम्पत्ति घरबार सम्पूर्ण गुमाएका व्यक्तिहरू अलपत्र अवस्थामा रहेका छन् । घटनाको केही दिनसम्म सरकार, विभिन्न संघसंस्था, उदारमना दाताहरू, दातृ संगठनहरूले त्यस्ता व्यक्तिहरूलाई खानबस्नको व्यवस्था मिलाए तर त्यस्तो व्यवस्था स्थायी थिएन त्यो केही दिनका लागि मात्र थियो ।
बिस्तारै त्यस्ता निकाय र व्यक्तिसमेतले त्यसलाई निरन्तरता दिन छोडे । अब भने प्रभावित व्यक्तिहरूले आफ्नो अगाडिको बाटो आफैं तय गर्नुपर्ने अवस्था आएको छ । सरकारले पुनर्वासको व्यवस्था गर्ने त भनेको छ तर त्यो समयमा हुनसकेन भने ती व्यक्तिहरू अलपत्रै परिरहनेछन् । यस्ता कार्यहरूमा उदासीनता अपनाउँदा परिणाम फरक आइसकेको हुन्छ । २०७२ सालको भूकम्पबाट विभिन्न संरचनाहरूमा भएको क्षतिको अहिलेसम्म पनि पुनर्निर्माण हुनसकिरहेको छैन । कतिको पुनर्निर्माण र जीर्णोद्धार भयो तर सबैको त्यसो हुनसकेको छैन । त्यसबेलाभन्दा बढ्ता क्षति हालको भोटेकोशी बाढीमा भएको छ । जसले गर्दा सिंगासिंगा गाउँ र त्यहाँ भएका अनगिन्ती घर, विद्यालय, सरकारी भवन, गैरसरकारी कार्यालयहरूका साथै वित्तीय संस्थाहरूको पुनर्निर्माण सहजै हुने अवस्था छैन ।
तत्कालका लागि बाढीमा प्रभावित भएर जीवितै उद्धार भएका व्यक्तिहरूको पुनर्वासको व्यवस्था गर्नुपर्ने हुन्छ । कति सगल्ती भेटिएका छन् भने कति अन्ध अपांग पनि भएका छन् । बाढीभन्दा पूर्वअर्बपति व्यक्तिहरू र त्यसपछि सुकुम्बासी बनेका केही उदाहरणहरू त्यहाँ फेला परेका छन् । कति व्यक्तिहरूले दिएका प्रतिक्रियाबाट त्यसको जानकारी हुनआएको छ । हिजोका दिनमा जो जस्तो अवस्थामा भए पनि अबको अवस्था फेरिएको छ । हिजो मेरो यति धन थियो भनेर आजका दिनमा भन्न अब तिनले पाउँदैनन् । आज उनीहरूसँग जे प्राप्त छ त्यसबाट जीवन धान्नुपर्ने अवस्था छ । पूर्णरूपमा सुकुम्बासीमा परिणत भएका त्यस्ता व्यक्तिहरूलाई अबको पुनर्वास सरकारले गर्नुपर्छ र त्यसको व्यवस्था तुरुन्तै मिलाइहाल्नुपर्ने हुन्छ । सरकारले नीतिगत रूपमा बैठकबाट त्यस्तो निर्णय त गरेको छ तर त्यसको कार्यान्वयन पक्ष भने सहज छैन ।
जता हेर्यो त्यतै चौतर्फी रूपमा भग्नावशेष मात्र देखिन्छ । अब तिनलाई त्यहीँ जस्ताको त्यस्तै जीर्णोद्धार गर्नु बुद्धिमत्तापूर्ण हुँदैन किनभने अन्ततः यसपटकको उक्त बाढीले नदी किनाराका बस्तीहरू सधैंभरि जोखिममा हुन्छन् भन्ने कुरा प्रमाणित गरेको छ । वर्षायाममा पानी परेर यो बाढी आएको होइन । यो बाढी हिमपहिरो र हिमताल फुटेर आएको हो । त्यसकारण यस्तो बाढी हिउँद महिनामा पनि आउन सक्छ । जुनसुकै बेला आउनसक्ने भएकाले यसतर्फ सचेत भएर सरकारले नदीकिनारमा पुनर्वासको व्यवस्था मिलाउनु उपयुक्त हुँदैन । सुरक्षित ठाउँ हेरेर खोलापहिराले नलाने ठाउँमा त्यस्ता बस्तीहरू विकास गर्न उपयुक्त हुन्छ । कहिल्यै पनि औपचारिक नहुने प्रधानमन्त्रीबाट आफैंले अध्यक्षता गरी यो कार्यक्रम औपचारिक रूपमा सञ्चालन गरी सम्बन्धित सरोकारवाला निकायलाई निर्देशनसमेत दिएको हुँदा अब पुनर्निर्माणका काम तदारुकताका साथ होलान् भन्ने विश्वास गरिन्छ ।
प्रधानमन्त्री राहत कोषमा लगभग १५ अर्बमात्र जम्मा भएको र त्यस बराबरको रकम उद्धारमा गएका हेलिकप्टरको भाडा तिर्नुपरेको भन्ने चर्चा बाहिर भइरहेको छ तर उता पुनर्निर्माणमा भने पाँच-सात खर्बको लागत लाग्ने आँकलन हुँदैछ । यो पैसा कहाँबाट जुटाउने भन्ने पनि सरकारले सोच्नुपर्ने हुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा औद्योगिक राष्ट्रहरूसँग क्षतिपूर्तिको माग त गर्नुभएको छ तर त्यसमा ती राष्ट्रहरू सहमत भएको र क्षतिपूर्ति प्राप्त हुन थालेको भन्ने कुनै समाचारहरू आएका छैनन् । जसले गर्दा दुःख, चोट र पीडा जसलाई पर्यो त्यसैले ब्यहोर्नुपर्ने सिद्धान्तका आधारमा पुनर्निर्माणमा लाग्ने खर्चको व्यवस्था पनि हामी आफैंले गर्नुपर्ने देखिन आएको छ । यसतर्फ पनि सरकारले सोच्नुपर्ने हुन्छ ।






संविधानप्रदत्त अधिकार नपाउँदा कार्यसम्पादन प्रभावितः
एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय
बहसमा बेनी बजार : सदरमुकाम
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता,