पार्टी विचार हो, संस्था हो, विश्वास हो र हजारौं कार्यकर्ताले आफ्नो जीवनसँग गाँसेको राजनीतिक यात्रा हो। त्यसैले कुनै पनि पार्टीको वास्तविक शक्ति चुनावी परिणाम, सत्ताको पहुँच वा नेतृत्वको लोकप्रियताबाट मात्र मापन हुँदैन । यसको असली शक्ति नेतृत्व, कार्यकर्ता र जनताबीच कायम विश्वासमा निहित हुन्छ । नेतृत्वमा संस्थाप्रतिको निष्ठा कमजोर हुँदै गयो, कार्यकर्ताप्रतिको इमानदारी हराउँदै गयो र जनताप्रतिको जिम्मेवारी औपचारिकतामा सीमित हुँदै गयो भने पार्टी बाहिरबाट जीवित देखिए पनि भित्रभित्रै क्षय हुनथाल्छ । नाम रहन्छ, झण्डा रहन्छ, चुनाव चिह्न रहन्छ, कार्यालय रहन्छ र संगठनको संरचना पनि रहन्छ तर पार्टीको आत्मा क्रमशः कमजोर हुँदै जान्छ । अन्ततः विचारको संस्था सीमित नेताको स्वार्थ, गुटगत नियन्त्रण र अवसरको बाँडफाँटमा सीमित हुने खतरा पैदा हुन्छ ।
कार्यकर्ताको मन जित्न नसक्ने पार्टी
कुनै पनि राजनीतिक पार्टीको वास्तविक आधार कार्यकर्ता हुन् । उनीहरू निर्वाचनका बेला भिड जम्मा गर्ने साधन होइनन्, विचारका संवाहक, संगठनका आधार र जनतासँग पार्टीलाई जोड्ने स्थायी माध्यम हुन् । कार्यकर्ताको सम्मान, स्वाभिमान र योगदानको कदर नगर्ने पार्टीले आफ्नो जग आफैं कमजोर बनाइरहेको हुन्छ । जब कार्यकर्ताले आफ्नो योगदानको मूल्य छैन, मेहनतको सम्मान हुँदैन र भविष्यका लागि अवसर छैन भन्ने महसुस गर्न थाल्छन् त्यहीँबाट निराशा जन्मिन्छ । निराश कार्यकर्ताको मनमा एक दिन स्वाभाविक प्रश्न उठ्छ, ‘म यो पार्टीमा किन लागेँ ? मेरो भविष्य यहाँ के छ ?’ कुनै पनि राजनीतिक पार्टीका लागि यसभन्दा गम्भीर चेतावनी अर्को हुन सक्दैन ।
अरूलाई तल झारेर माथि पुग्ने राजनीति क्षणिक रूपमा सफल देखिए पनि दीर्घकालीन रूपमा संस्थालाई कमजोर बनाउँछ । नेपाली कांग्रेसको इतिहासले पनि यस विषयमा गम्भीर आत्म समीक्षाको माग गर्छ । पार्टीसँग जोडिएका नेता–कार्यकर्ता अलग हुँदा ‘एउटा मान्छे गयो, केही फरक पर्दैन’ भन्ने सोच राजनीतिक संस्थाका लागि स्वस्थ हुन सक्दैन ।
कार्यकर्ताले पार्टीभित्र आफ्नो भविष्य देख्नुपर्छ । योगदान र क्षमताका आधारमा अवसर पाइन्छ, राजनीतिक सपना अघि बढाउन संस्थाले साथ दिन्छ र नयाँ पुस्ताका लागि बाटो खुला छ भन्ने विश्वास कायम रहनुपर्छ । यदि पार्टीमा लाग्नुभनेको केही नेताको वरिपरि घुमिरहनु, अवसरका लागि गुटको सदस्य बन्नु र योगदानभन्दा पहुँचलाई प्राथमिकता दिनु हो भन्ने सन्देश फैलियो भने संगठनमा ऊर्जा होइन, निराशा पैदा हुन्छ । यसका लागि पार्टीभित्रको प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ । सहकर्मीको प्रगति नै आफ्नो प्रगति हो भन्ने भावना भएको संगठन बलियो हुन्छ तर ‘ऊ अगाडि बढ्यो भने मेरो अवसर घट्छ’ भन्ने मानसिकता हाबी भयो भने प्रतिस्पर्धा ईर्ष्या, अवरोध र षड्यन्त्रमा बदलिन्छ ।
कसैले नयाँ सदस्यता पाउँदा ‘यसले पार्टीलाई योगदान गर्नसक्छ’ भन्नुको सट्टा ‘यसलाई रोक्नुपर्छ’ भन्ने सोच विकसित भयो भने संगठनले प्रतिभा कसरी जोगाउँछ ? कसैले प्रतिनिधि बन्ने अवसर पाउँदा ‘यसले राम्रो प्रतिनिधित्व गर्नसक्छ’ भन्नुको सट्टा ‘यसले अवसर पायो भने मेरो राजनीतिक भविष्य के हुन्छ ?’ भन्ने चिन्ता हाबी भयो भने नयाँ नेतृत्व कसरी जन्मिन्छ ? पार्टीमा अवसर रोक्ने होइन, अवसर सिर्जना गर्ने राजनीति आवश्यक हुन्छ । आफूभन्दा राम्रो काम गर्ने साथीलाई कसरी अगाडि बढाउने, उसको योगदानको कसरी कदर गर्ने र उसलाई अझ सक्षम कसरी बनाउने भन्ने संस्कार स्थापित हुनुपर्छ । आफू पनि अझ मिहिनेत गरेर स्वस्थ प्रतिस्पर्धाबाट अघि बढ्ने संस्कारले व्यक्ति र संगठन दुवैलाई बलियो बनाउँछ ।
अरूलाई तल झारेर माथि पुग्ने राजनीति क्षणिक रूपमा सफल देखिए पनि दीर्घकालीन रूपमा संस्थालाई कमजोर बनाउँछ । नेपाली कांग्रेसको इतिहासले पनि यस विषयमा गम्भीर आत्म समीक्षाको माग गर्छ । पार्टीसँग जोडिएका नेता-कार्यकर्ता अलग हुँदा ‘एउटा मान्छे गयो, केही फरक पर्दैन’ भन्ने सोच राजनीतिक संस्थाका लागि स्वस्थ हुनसक्दैन । राजनीतिमा व्यक्ति केवल एउटा संख्या होइन । ऊ विचार, अनुभव, सम्बन्ध, संगठनात्मक ऊर्जा र नयाँ पुस्तामाथिको प्रभाव लिएर हिँड्छ । एउटा व्यक्तिको अलगावले कहिलेकाहिँ एउटा समूह, एउटा पुस्ता वा एउटा सम्भावित राजनीतिक धारलाई पनि पार्टीबाट टाढा लैजानसक्छ । त्यसैले हरेक अलगावलाई हल्का रूपमा लिनु हुँदैन । असन्तुष्टिलाई व्यक्तिगत कमजोरी भनेर पन्छाउनु, प्रश्न उठाउनेलाई विरोधी ठान्नु र असहमतिको आवाजलाई अनुशासनको नाममा दबाउनु कुनै पनि लोकतान्त्रिक पार्टीका लागि स्वस्थ बाटो होइन ।
लोकतान्त्रिक पार्टीमा असहमति समस्या होइन, असहमतिको सम्मान गर्न नसक्नु समस्या हो । प्रतिस्पर्धा समस्या होइन, प्रतिस्पर्धालाई व्यक्तिगत वैरभावमा बदल्नु समस्या हो । नेतृत्व परिवर्तन समस्या होइन, नेतृत्व चयनलाई अवसर नियन्त्रण र समूहगत स्वार्थको साधन बनाउनु समस्या हो । अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया होइन, त्यो पार्टीको संगठनात्मक स्वास्थ्य परीक्षण गर्ने अवसर हो । प्रतिनिधि चयनमा योगदान, क्षमता, निष्ठा, जनसम्बन्ध, नयाँ पुस्ताको सहभागिता, महिला तथा विविध समूहको प्रतिनिधित्व र आन्तरिक लोकतन्त्रलाई उचित स्थान दिइनुपर्छ । यदि अधिवेशन गुटगत शक्ति प्रदर्शन, प्रतिनिधि व्यवस्थापन र पद बाँडफाँटको अभ्यासमा सीमित भयो भने त्यसले पार्टीको लोकतान्त्रिक चरित्रलाई बलियो बनाउँदैन, बरू अविश्वासलाई संस्थागत गर्ने जोखिम बढाउँछ ।
कांग्रेसमा नेतृत्वको संस्कार बदल्नुपर्छ
कांग्रेसको समस्या कुनै एक व्यक्ति, एक समूह वा एक तहलाई दोष दिएरमात्र समाधान हुँदैन । कमजोरी विभिन्न तहमा हुन सक्छ तर संगठनको संस्कार निर्माणमा नेतृत्वको दृष्टिकोण निर्णायक हुन्छ । नेतृत्वले संगठनलाई आफ्नो समूह विस्तार गर्ने माध्यम ठान्छ कि सबै सम्भावनालाई विकसित गर्ने साझा संस्था, यही प्रश्नले पार्टीको भविष्यको दिशा प्रभावित गर्छ । कांग्रेसलाई पुनर्जीवन दिन केवल अनुहार परिवर्तन पर्याप्त हुँदैन । सोच परिवर्तन गर्नुपर्छ । राजनीतिक संस्कार परिवर्तन गर्नुपर्छ । अवसर वितरणको प्रणालीमा सुधार गर्नुपर्छ । योगदान, क्षमता, निष्ठा र जनसम्बन्धका आधारमा कार्यकर्ताको मूल्यांगन गर्ने पारदर्शी व्यवस्था निर्माण गर्नुपर्छ ।
नेतृत्व चयनमा पहुँच, गुट र आर्थिक प्रभावभन्दा संगठनप्रतिको योगदान र जनविश्वासलाई महत्त्व दिने संस्कार बलियो बनाउनुपर्छ । पार्टीभित्र यस्तो वातावरण निर्माण हुनुपर्छ जहाँ सहकर्मीको सफलता आफ्नो असफलता होइन, पार्टीको सफलता मानियोस्, अर्को व्यक्ति अगाडि बढ्दा डर होइन, गर्व पैदा होस् र नेतृत्वले आफूभन्दा सक्षम कार्यकर्ता तयार पार्नुलाई आफ्नो उपलब्धि ठानोस् । आफूभन्दा अगाडि जाने पुस्ता तयार पार्न नसक्ने नेतृत्व अन्ततः आफ्नै सीमाभित्र कैद हुन्छ ।
कांग्रेसलाई बचाउने उपाय अरूलाई कमजोर बनाउनु होइन, सबैलाई बलियो बनाउनु हो । इर्ष्याको प्रतिस्पर्धाले पार्टीलाई टुक्य्राउँछ, स्वस्थ प्रतिस्पर्धाले पार्टीलाई उठाउँछ । स्वार्थले व्यक्तिलाई अघि ल्याउन सक्छ, सहकार्यले संस्थालाई अघि बढाउँछ । गुटले केही व्यक्तिलाई तत्काल शक्ति दिनसक्छ तर संस्थागत लोकतन्त्रले पार्टीलाई दीर्घकालीन शक्ति दिन्छ ।
राजनीतिक संस्थाको दीर्घायु नेतृत्व कति लामो समय पदमा बस्यो भन्ने कुराले मात्र निर्धारण गर्दैन, उसले कति सक्षम नेतृत्व तयार गर्यो भन्ने कुराले पनि निर्धारण गर्छ । नेतृत्वको एउटा महत्त्वपूर्ण दायित्व उत्तराधिकारी खोज्नुमात्र होइन, सम्भावनायुक्त पुस्तालाई अवसर दिएर नेतृत्वका लागि तयार पार्नु हो । कांग्रेसको कमजोरी कुनै एक निर्वाचनको परिणामबाट मात्र सुरु हुँदैन । निर्वाचनमा पराजय त्यसको बाहिरी परिणाम हुनसक्छ । वास्तविक क्षय त्यतिबेला सुरु हुन्छ, जब कार्यकर्ताको मनमा पार्टीप्रतिको विश्वास कमजोर हुन्छ, जब उसले पार्टीभित्र सम्मान, अवसर र भविष्य देख्न छोड्छ, जब जनतासँगको सम्बन्ध संगठनात्मक जीवनभन्दा केवल निर्वाचनको समयमा सम्झिने सम्बन्धमा सीमित हुन्छ ।
त्यसैले पार्टी पुनर्निर्माणको पहिलो काम संगठनको मनोबल पुनर्निर्माण हो । कार्यकर्तालाई केवल कार्यक्रममा बोलाउने होइन, निर्णय प्रक्रियामा सहभागी गराउने, जिम्मेवारी दिने, मूल्यांकन गर्ने, गल्ती गर्दा सुधार्ने अवसर दिने, राम्रो काम गर्दा सार्वजनिक रूपमा सम्मान गर्ने र नयाँ पुस्तालाई नेतृत्वमा प्रवेश गर्ने वास्तविक बाटो खोल्ने व्यवस्था आवश्यक छ । कांग्रेसले आफ्नो संगठनलाई ‘केही नेताको पार्टी’ होइन, ‘सबै कार्यकर्ताको साझा राजनीतिक संस्था’का रूपमा अनुभूति गराउन सक्नुपर्छ । पार्टीमा कुनै व्यक्तिको पहुँचभन्दा संस्थाको प्रक्रिया ठूलो हुनुपर्छ । नेतृत्वको निकटता अवसरको मुख्य आधार होइन, योगदान र क्षमताले अवसर निर्धारण गर्ने संस्कार विकास हुनुपर्छ ।
यसका लागि कांग्रेसभित्र प्रश्न गर्ने संस्कार आवश्यक छ । आलोचना गर्ने व्यक्तिलाई विरोधी ठान्ने होइन, उसको प्रश्नमा पार्टी सुधारको सम्भावना खोज्नुपर्छ । असहमति सुन्नसक्ने क्षमता लोकतान्त्रिक संस्थाको कमजोरी होइन, शक्ति हो । फरक मतलाई व्यवस्थापन गर्नसक्ने संगठनले नै व्यापक समाजलाई पनि प्रतिनिधित्व गर्नसक्छ । कांग्रेसलाई बचाउने उपाय अरूलाई कमजोर बनाउनु होइन, सबैलाई बलियो बनाउनु हो । इर्ष्याको प्रतिस्पर्धाले पार्टीलाई टुक्र्याउँछ, स्वस्थ प्रतिस्पर्धाले पार्टीलाई उठाउँछ । स्वार्थले व्यक्तिलाई अघि ल्याउनसक्छ, सहकार्यले संस्थालाई अघि बढाउँछ । गुटले केही व्यक्तिलाई तत्काल शक्ति दिनसक्छ तर संस्थागत लोकतन्त्रले पार्टीलाई दीर्घकालीन शक्ति दिन्छ ।
अन्ततः कांग्रेसको प्रश्न केवल ‘कसले नेतृत्व गर्छ ?’ भन्ने होइन । मूल प्रश्न हो, ‘कस्तो राजनीतिक संस्कार निर्माण हुन्छ ?’ पार्टीको भविष्य नेतृत्वको कुर्सीमा मात्र हुँदैन, त्यो प्रत्येक कार्यकर्ताको मनमा हुन्छ । कार्यकर्ताको मनमा आशा जीवित रहेसम्म संगठन जीवित रहन्छ । आशा मरेपछि संगठनको आकार जति ठूलो भए पनि त्यसको राजनीतिक जीवन कमजोर हुँदै जान्छ । त्यसैले कांग्रेसले आफूलाई आजै एउटा गम्भीर प्रश्न सोध्नुपर्छ, हामी कार्यकर्तालाई आफ्नो भविष्य देखाइरहेका छौं कि उनीहरूको भविष्य बन्द गरिरहेका छौं ? यस प्रश्नको उत्तर केवल नेतृत्वले होइन, सम्पूर्ण संगठनले दिनुपर्छ किनकि कांग्रेसको भविष्य कुनै एक नेताको भविष्य होइन, यो विचार, संस्था, कार्यकर्ता र जनताबीचको विश्वासको भविष्य हो ।
कांग्रेस कमजोर हुने प्रक्रिया निर्वाचनको मतगणनाबाट सुरु हुँदैन, त्यो कार्यकर्ताको मनबाट सुरु हुन्छ । जब योगदानभन्दा पहुँच ठूलो हुन्छ, क्षमताभन्दा गुट बलियो हुन्छ, असहमतिभन्दा मौनतालाई प्राथमिकता दिइन्छ र नयाँ पुस्ताका लागि ढोका साँघुरिँदै जान्छ तब संगठनको बाहिरी संरचना जोगिए पनि भित्री शक्ति क्षीण हुँदै जान्छ तर यही अवस्थाबाट पुनर्जागरणको सुरुवात पनि सम्भव छ । सम्मान, अवसर, सहभागिता, स्वस्थ प्रतिस्पर्धा, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणलाई संस्थागत गर्न सकियो भने पार्टीले आफ्नो संगठनात्मक ऊर्जा पुनः प्राप्त गर्नसक्छ । कांग्रेसको पुनर्निर्माण अरूलाई हराएर होइन, आफ्ना सबै सम्भावनालाई जोडेर हुनेछ ।
नेतृत्वको वास्तविक सफलता आफ्नो वरिपरि समर्थकको भिड बढाउनु होइन, आफूभन्दा सक्षम, इमानदार र प्रतिबद्ध पुस्ता निर्माण गर्नु हो । अन्ततः पार्टीको शक्ति झण्डामा होइन, झण्डा बोक्ने मानिसको विश्वासमा हुन्छ । त्यो विश्वास जोगाउन सकियो भने संगठन बलियो हुन्छ, त्यो विश्वास गुम्यो भने ठूलोभन्दा ठूलो संगठन पनि क्रमशः कमजोर हुन्छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा