भक्तपुर । नेपालमा रहेका शरणार्थीको कानुनी हैसियत स्पष्ट गर्दै उनीहरूलाई काम गर्ने अधिकारसहित आधारभूत सेवा र सुविधामा सहज पहुँच सुनिश्चित गर्न तत्काल कानुनी तथा प्रशासनिक व्यवस्था गर्नुपर्नेमा भक्तपुरमा आयोजित ‘भक्तपुर संवाद’ का सहभागीहरूले जोड दिएका छन् । चाँगुनारायण नगरपालिकाको सभाहलमा आयोजित संवादमा सहभागी अधिकारकर्मी, विज्ञ तथा सरोकारवालाले विशेषगरी नेपालमा बाँकी रहेका भुटानी शरणार्थीलाई काम गर्ने अधिकार, पहिचानपत्र, बैंकिङ सेवा, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
‘नेपाली विद्वान् तथा मानव अधिकारकर्मीहरूको दृष्टिकोणमा शरणार्थी’ विषयमा आयोजित कार्यक्रममा नेपालमा राष्ट्रिय शरणार्थी कानुनको अभावका कारण शरणार्थीहरू लामो समयदेखि कानुनी अनिश्चितताको अवस्थामा रहनुपरेको वक्ताहरूले बताएका थिए ।
कार्यक्रमका संयोजक डा. राजेन्द्र कोजुले नेपालले दशकौँदेखि भुटानी, तिब्बती, रोहिंग्या लगायतका शरणार्थीलाई मानवीय आधारमा आश्रय दिँदै आए पनि उनीहरूको अधिकार र कानुनी हैसियत स्पष्ट गर्ने राष्ट्रिय कानुन बन्न नसकेको बताउनुभयो ।
नेपाल सन् १९५१ को शरणार्थीसम्बन्धी महासन्धि तथा सन् १९६७ को प्रोटोकलको पक्षराष्ट्र नभएकाले शरणार्थीसम्बन्धी विषय प्रशासनिक निर्णय र नीतिमा निर्भर रहँदै आएको उहाँको भनाइ थियो ।
पिस इनिसिएटिभ भुटान (पिआइबी)की कार्यक्रम व्यवस्थापक तथा (विइक्यान) सस्थांको अध्यक्ष दीपिशा केसीले ‘शरणार्थीका रूपमा बिताएको आफ्नो बाल्यकालको अनुभव सुनाउँदै शिक्षा, स्वास्थ्य र भविष्यको सुनिश्चितताका लागि व्यापक कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो । उहाँले भुटानी शरणार्थीको अधिकारका विषयमा ह्वाइट हाउस, संयुक्त राष्ट्रसंघ र अमेरिकी अधिकारीहरूसँग समेत वकालत गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा बाँकी रहेका भुटानी शरणार्थीलाई काम गर्ने अधिकार दिनुपर्ने विषयले विशेष प्राथमिकता पाएको थियो । स्वास्थ्य तथा वित्त सल्लाहकार आरती चापागाईंले झापा र मोरङका शरणार्थी शिविरमा रहेका युवाले शिक्षा तथा सीप हासिल गरे पनि कानुनी रूपमा काम गर्न नपाउँदा निराशा बढिरहेको बताउनुभयो ।
शरणार्थीको स्वास्थ्य उपचारमा समेत कानुनी अस्पष्टताले समस्या सिर्जना गरेको दाबी गर्दै उहाँले तत्काल प्रशासनिक निर्देशिका वा अन्य उपयुक्त कानुनी माध्यमबाट काम गर्ने अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभयो ।
पिस इनिसिएटिभ भुटानका सहसंस्थापक सुदर्शन प्याकुरेलले शिविरमा रहेका शरणार्थीका लागि खाद्यान्न तथा अन्य सहायता घट्दै गएको बताउँदै काम गर्ने अवसर नहुँदा उनीहरूको जीवन थप कठिन बन्दै गएको दाबी गर्नुभयो । उहाँले बाँकी रहेका भुटानी शरणार्थीका लागि अस्थायी पहिचानपत्र र काम गर्ने अधिकार सुनिश्चित गर्न गृह मन्त्रालयले तत्काल निर्णय गर्नुपर्ने माग गर्नुभयो ।
व्यवसायी तथा सामुदायिक नेता डा. कुमार गुरुङले शरणार्थीलाई मानव अधिकारका आधारमा काम गर्न पाउने र आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
चाँगुनारायण नगरपालिकाका पूर्वमेयर तथा विश्लेषक सोम मिश्रले नेपालमा शरणार्थी व्यवस्थापनसम्बन्धी स्पष्ट राष्ट्रिय कानुन नहुनु दीर्घकालीन समस्या भएको बताउनुभयो । उहाँका अनुसार कानुनी अस्पष्टताका कारण जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटना दर्तामा समेत समस्या देखिएको छ ।
नयाँ कानुनमा शरणार्थीलाई साना व्यवसाय सञ्चालन, बैंक खाता खोल्ने तथा आधारभूत शिक्षा र स्वास्थ्य सेवामा पहुँचको व्यवस्था गरिनुपर्ने उहाँले बताउनुभयो । शरणार्थीको दीर्घकालीन समाधानका लागि स्वदेश फिर्तीलाई प्राथमिकता दिनुपर्ने र त्यो सम्भव नभए तेस्रो देशमा पुनःस्थापना वा नेपालमै कानुनी संरक्षणका विकल्पमा कूटनीतिक पहल आवश्यक रहेको उहाँको भनाइ थियो ।
राजनीतिक सल्लाहकार तथा व्यवसायी शिवहरि खनालले शरणार्थी समस्याको मूल कारण सम्बोधन गर्न नेपालका राजनीतिक दल, सांसद र सरकारले अन्तर्राष्ट्रिय तहमा समेत पहल गर्नुपर्ने बताउनुभयो ।
जेन–जी युवा प्रतिनिधि मदन खत्रीले भुटानी शरणार्थीलाई केवल ‘शरणार्थी’ का रूपमा नभई लामो समयदेखि नेपालसँग सामाजिक र पारिवारिक सम्बन्ध राख्दै आएका मानिसका रूपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले उनीहरूलाई आधारभूत मानवीय सेवामा सहज पहुँच दिनुपर्ने धारणा राख्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वक्याम्पस प्रमुख प्रा. डा. उत्तम कृष्ण कर्माचार्यले नेपालमा रहेका शरणार्थीका लागि स्पष्ट कानुनी पहिचानपत्रको व्यवस्था आवश्यक रहेको बताउनुभयो । उहाँले मानव अधिकार र शरणार्थीसम्बन्धी विषयलाई विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
द्वन्द्व रूपान्तरणविज्ञ तथा अनुसन्धाता पिस इनिसिएटिभ भुटानका सहसंस्थापक डा. सुरज बुढाथोकीले नेपाल शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र नभए पनि मानवीय आधारमा शरणार्थीलाई सहयोग गर्दै आएको बताउनुभयो । स्पष्ट कानुनी व्यवस्था नहुँदा शरणार्थीहरू लामो समयदेखि अनिश्चितताको अवस्थामा रहनुपरेको भन्दै उहाँले आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता कैलाश मिश्रले शरणार्थीसम्बन्धी समग्र कानुनी व्यवस्था नभएको अवस्थामा उनीहरूको संरक्षणका लागि कस्तो कानुनी र सामाजिक संरचना आवश्यक हुन्छ भन्ने प्रश्नलाई छलफलको केन्द्रमा राख्नुभएको थियो । सहभागीहरूले तत्काल प्रशासनिक सहजीकरणमार्फत आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने र दीर्घकालीन रूपमा समग्र राष्ट्रिय शरणार्थी कानुन निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रम विश्व मानव अधिकार संरक्षण संगठन (WHURPON), पिस इनिसिएटिभ भुटान (PIB) र World Education Concern and Action in Nepal (WE CAN) को संयुक्त आयोजनामा भएको हो। WHURPON का अध्यक्ष तथा अवकाशप्राप्त उपरथि मेजर जनरल भारत बाहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, अधिकारकर्मी तथा शरणार्थी मामिलाका सरोकारवालाको सहभागिता थियो ।
अध्यक्ष खड्काले ‘मानव अधिकार विश्वव्यापी हुन्छ । नेपालले दशकौँदेखि भुटानीलगायत शरणार्थीलाई मानवीय आधारमा आश्रय दिँदै आए पनि स्पष्ट राष्ट्रिय कानुनको अभावमा उनीहरू कानुनी अनिश्चिततामा छन् । अहिले उनीहरूको प्राथमिकता गाँस, बास, स्वास्थ्य, शिक्षा र आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार हो । त्यसैले राज्यले तत्काल कानुनी वा कार्यकारी व्यवस्थामार्फत काम गर्ने अधिकार र आधारभूत मानवीय संरक्षण सुनिश्चित गर्नुपर्छ।’ आफ्नो महत्व्य मार्फत सम्बोधन गर्नुभयो ।







बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनामाको पुनर्निर्माण
नयाँ बसपार्कमा अग्रिम टिकट लिन
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया