काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा गृहमा सभापति पदका लागि मनोनयन दर्ता गराउँदै राठौरले पार्टीलाई एकताबद्ध बनाउनु आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो । उहाँले आफू सभापति निर्वाचित भए पार्टीलाई मर्यादित र अनुशासित ढंगले अघि बढाउने दाबी गर्नुभयो ।
राठौरले कांग्रेस अहिले पनि सही ढंगले अघि बढ्न नसकेको टिप्पणी गर्दै नेतृत्व नयाँ हुँदैमा मात्रै पार्टीको अवस्था नसुध्रिने बताउनुभयो । उहाँका अनुसार पार्टीको नेतृत्वको कार्यशैलीमा सुधार आवश्यक छ ।
राजनीतिमा कुनै पनि नेतृत्व निर्विकल्प नहुने उल्लेख गर्दै उहाँले संस्थापक नेता गणेशमान सिंहले समेत चुनाव हारेको र पूर्वसभापति कृष्णप्रसाद भट्टराई लामो समय सभापति भए पनि निर्विकल्प नरहेको उदाहरण दिनुभयो ।
उहाँले भन्नुभयो, “सभापति भएपछि पार्टी एक गर्छु । पार्टीलाई मर्यादित र अनुशासित बनाएर लिएर जान्छु । राजनीतिमा नेतृत्व भन्ने कुरा निर्विकल्प हुँदैन । चुनाव जित्दैमा कोही मान्छे निर्विकल्प हुँदैन । गणेशमानजी पनि चुनाव हार्नुभएको हो । किसुनजी त्यत्रो समय सभापति हुनुभयो, निर्विकल्प त हुनुहुन्थेन नि । त्यसकारण राजनीतिमा जित र हार हुन्छ ।”
राठौरले आफू विशेष महाधिवेशनको पक्षधर नभएको पनि स्पष्ट पार्नुभयो । पार्टीमा आफूले चाहेजस्तो अवस्था निर्माण गर्न सभापतिमा निर्वाचित गराउनुपर्ने भन्दै उहाँले पार्टीलाई मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले कांग्रेसको वर्तमान नेतृत्वले आफ्नो गृह जिल्लामा महाधिवेशन हुन नदिएको आरोपसमेत लगाउनुभयो ।







यसपाली बागलुङ कालिकामा छैन चहलपहल
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस
पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले