काठमाडौं । भदौ १० मा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई ३.७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनर्स्थापना गतिविधिसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा उक्लिने अपेक्षा गरिएको छ ।
विश्व बैंकको प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनर्स्थापना गतिविधिसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आर्थिक वर्ष २०८४/८५ मा भने आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा उक्लिने अपेक्षा गरिएको छ ।
मंगलबार सार्वजनिक गरिएको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढंगले पुनर्निर्माण’(बिल्डिङ ब्याक डिभरेन्टली फर द फ्युचर) ले बाढीबाट भएको व्यापक क्षतिका कारण नेपालको आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने अनुमान गरिएको जनाएको छ । जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्नेछ । सेवा क्षेत्र पनि व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधबाट प्रभावित हुने आँकलन गरिएको छ । कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रमा जनजीविकामा भने उल्लेखनीय असर पर्ने सम्भावना रहेको प्रतिवेदनले औंल्याएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले भन्नुभयो, ‘रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । यो नेपालका लागि आफ्ना पूर्वाधार सडक तथा सञ्चार सञ्जाल, ऊर्जा तथा खानेपानी र सरसफाइ, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवाबारे पुनर्विचार गर्ने एउटा अवसर पनि हो । विशेषगरी जलवायु परिवर्तन र बदलिँदो जोखिमको सन्दर्भमा पूर्वाधार योजना तथा लगानीमा उत्थानशीलता र वैकल्पिक व्यवस्थालाई महत्त्वपूर्ण स्थान दिन आवश्यक छ । नेपाललाई अझ बढी उत्थानशील र दिगो विकासको मार्गमा अघि बढाउन आवश्यक प्रणालीमा लगानी गर्न र सही नीतिहरू कार्यान्वयन गर्न विश्व बैंक नेपाल सरकारलाई सहयोग गर्न तत्पर छ ।’
नेपाल उद्धार तथा राहतबाट पुनर्निर्माणतर्फ अघि बढ्दै गर्दा क्षतिग्रस्त संरचना पुनःस्थापना गर्ने कार्यमा मात्र सीमित नरही बहुविपद् जोखिमको अद्यावधिक मूल्यांकन समावेश गर्न, पूर्वाधारको स्थान र डिजाइनबारे सावधानीपूर्वक विचार गर्न तथा यातायात, ऊर्जा र सञ्चारका महत्त्वपूर्ण सञ्जालमा थप वैकल्पिक व्यवस्था सुनिश्चित गर्न सुझाव दिएको छ । विपद् पूर्वसूचना प्रणाली सुदृढ गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने प्रतिवेदनले जनाएको छ । साथै, संकटासन्न घरपरिवारलाई विपद्पछिको सहायता तीव्र रूपमा उपलब्ध गराउने आधारका रूपमा एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदनको सहायक प्रतिवेदन हो, जुन वर्षमा दुर्ईपटक प्रकाशित हुन्छ र दक्षिण एसिया क्षेत्रका आर्थिक विकास र सम्भावनाको विश्लेषण गर्छ । पछिल्लो दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदन ‘आर्थिक वृद्धिका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग’ले यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आघातप्रति सो क्षेत्रको अर्थतन्त्र उत्थानशील रहने अपेक्षा गरिएको छ । सन् २०२७ मा भने आर्थिक वृद्धिदर ६.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । प्रतिवेदनले एआईको रणनीतिक प्रयोगमार्फत् आर्थिक वृद्धिका नयाँ स्रोतहरू कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयको पनि विश्लेषण गरेको छ । दक्षिण एसियामा एआईको प्रयोग बढिरहेको भए पनि विकसित अर्थतन्त्रको तुलनामा एआई प्रयोग अझै निकै पछाडि रहेको छ । तथापि उक्त अन्तर कायम रहेकै अवस्थामा पनि एआईको प्रयोग तीव्र रूपमा बढिरहेको छ र व्यवसायीहरूले बजारका नयाँ अवसरहरू पहिचान गर्न एआई प्रयोग गरिरहेका छन् । हालैका तथ्यांकको विश्लेषणले एआईको प्रयोगमा अत्यधिक निर्भर रहेका दक्षिण एसियाली आपूर्तिकर्ताहरूका लागि विश्वव्यापी मूल्य शृंखलासँगको सम्बन्धमार्फत् नयाँ अवसरहरू विस्तार भइरहेको देखाएको छ । स्वास्थ्य, शिक्षा र कृषिजस्ता दक्ष जनशक्तिको अभाव रहेका क्षेत्रमा सार्वजनिक सेवा प्रवाहका लागि एआई प्रयोग अर्को महत्त्वपूर्ण सम्भावनाको क्षेत्र भएको विश्व बैंकले जनाएको छ । विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले भन्नुभयो, ‘एआई प्रयोगले श्रम उत्पादकत्व वृद्धि, निर्यातका अवसर विस्तार तथा सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत् दक्षिण एसियाको विकासको दिशा रूपान्तरण गर्ने सम्भावना प्रस्तुत गरेको छ तर यी लाभ हासिल गर्न सरकारले एआई प्रयोगमा अवरोध खडा गर्ने आधारभूत कमीकमजोरी सम्बोधन गर्न आवश्यक छ ।’
प्रतिवेदनले जनशक्तिको सीप सुदृढ गर्न, व्यवसायमैत्री वातावरण निर्माण गर्न तथा भौतिक र डिजिटल पूर्वाधारमा सुधार गर्न नीतिगत उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ । साथै, साना व्यवसायले एआई उपयोगमा सामना गर्ने अवरोध हटाउँदै जाने, स्थानीयस्तरमा एआईसम्बन्धी नवप्रवर्तन प्रोत्साहन गर्ने तथा स्पष्ट नियामक संरचना स्थापना गर्ने उपायहरू अवलम्बन गर्न आवश्यक रहेको बताइएको छ । त्यस्तो नियामक संरचनाले अनिश्चितता घटाउनुका साथै तथ्यांकको सुरक्षा र गोपनीयता सुनिश्चित गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ ।






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी