काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा तीन जनासहित विभिन्न पदाधिकारीमा उम्मेदवारी दर्ता भएको छ । सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्कोतर्फ, नवनिर्मित वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा नेतृ पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ । यी दुवै पदमा एकल उम्मेदवारी परेकाले उहाँहरूको निर्वाचन सुनिश्चित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएका वर्तमान सभापति थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पार्टीको सभापतिमा निर्वाचित हुनुभएको थियो । त्यसअघि १४औँ महाधिवेशनबाट महामन्त्रीमा भारी मतका साथ विजयी हुनुभएका उहाँले पार्टी रूपान्तरण र सुदृढीकरणका बाँकी काम पूरा गर्न पुनः सभापतिमा उम्मेदवारी दिनुभएको हो । उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ राष्ट्रिय सभागृह पुग्नुभएका थापाका समर्थकहरूले नाराबाजी र बाजागाजासहित उत्साह प्रकट गरेका थिए ।
सभापतिका अर्का प्रत्यासी किशोरसिंह राठौर १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको नेता हुनुहुन्छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहनुभएका उहाँ केही दिनअघि मात्रै संस्थापन समूहमा आएर सभापतिमा दाबी प्रस्तुत गर्नुभएको हो । त्यस्तै, सभापतिमा मनोनयन दर्ता गराउनुभएका अर्का युवा नेता श्यामकृष्ण खड्गी बागमती प्रदेश क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति हुनुहुन्छ । पूर्वनेता कृष्णप्रसाद सिटौला पक्षमा क्रियाशील रहनुभएका उहाँ पनि महाधिवेशनको केही समयअघि संस्थापन पक्षमा जोडिनुभएको थियो । उहाँहरूले पार्टीमा नयाँ सोच, ऊर्जा र कार्यकर्ताको भावना समेट्न उम्मेदवारी दिएको बताउनुभएको छ ।
पदाधिकारीमा कडा प्रतिस्पर्धा
पार्टीको संशोधित विधानअनुसार यसपटक पहिलो पटक व्यवस्था गरिएको वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्माको मात्रै मनोनयन परेको छ । १४औँ महाधिवेशनबाट महामन्त्री बन्नुभएका शर्मा गत पुसको विशेष महाधिवेशनबाट उपसभापति चयन हुनुभएको थियो । उहाँ स्वयं उपस्थित हुन नसकेपछि उहाँको तर्फबाट पुष्पराज पौड्यालले वारेसमार्फत मनोनयन दर्ता गराउनुभएको थियो । निर्धारित समय साँझ ७ बजेसम्म अन्य कसैको पनि आवेदन नपरेपछि शर्मा निर्विरोध हुनुभएको हो । त्यसैगरी, महिला उपसभापतिका लागि तोकिएको एकल कोटामा पनि नेतृ पुष्पा भुसालको मात्रै मनोनयन दर्ता भएको छ । उहाँ पनि गत पुसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित हुनुभएको थियो ।
यी दुई पद निर्विरोध भए पनि खुला र समावेशी उपसभापति पदमा भने आकांक्षीहरूको बाक्लो उपस्थिति देखिएको छ । खुला उपसभापति पदका लागि नौ जना नेताहरू मैदानमा उत्रिनुभएको छ । जसमा प्रखर वक्ताका रूपमा परिचित डा. चन्द्र भण्डारी, धनराज गुरुङ, मधु आचार्य, डा. मीनेन्द्र रिजाल, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, दीपक गिरी, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव रहनुभएको छ । त्यसैगरी, समावेशी उपसभापतिका लागि पाँचजना नेताहरूले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा प्रसिद्ध उद्यमी विनोद चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण हुनुहुन्छ ।
महामन्त्री पदमा पनि युवा तथा प्रभावशाली नेताहरूबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । दुई जनाका लागि खुला महामन्त्री पदमा आठ जनाले मनोनयन पत्र बुझाउनुभएको छ । उम्मेदवारी दिनेहरूमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय रहनुभएको छ । त्यसैगरी, विधानबमोजिम महिलाका लागि छुट्याइएको एक महामन्त्री पदमा तीनजना नेतृहरू भिड्ने हुनुभएको छ । जसमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल हुनुहुन्छ । मकवानपुरकी नेतृ खनाल लामो समयदेखि ट्रेड युनियन कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ ।
यस महाधिवेशनमा सहमहामन्त्री पदमा भने सबैभन्दा धेरै उत्साह र आकर्षण देखिएको छ । साबिकमा आठ जना सहमहामन्त्री रहने व्यवस्था रहेकोमा परिमार्जित विधानले १५ जना पुर्याएपछि धेरै नेताहरू केन्द्रीय पदाधिकारीमा जोडिने बाटो खुलेको हो । मंगलबार सहमहामन्त्री पदका लागि ३२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खुला सहमहामन्त्रीतर्फ रामहरि खतिवडा, डिल्लीराम सुवेदी, अजयबाबु सिवाकोटी र रमेश धमलाले मनोनयन गराउनुभएको छ । आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ दिनेश कोइराला र मनोजमणि आचार्य तथा पिछडिएको क्षेत्रबाट मीन भामले उम्मेदवारी दिनुभएको छ । साथै नानु बास्तोला र देवेन्द्रराज कँडेलले पनि सहमहामन्त्रीमै आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
विधान संशोधनपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने भएको छ । मंगलबार काठमाडौं उपत्यकामा दिनभर झरी परिरहे पनि राष्ट्रिय सभागृहमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूको उत्साहमा कुनै कमी आएको थिएन । निरन्तरको वर्षाबीच प्रतिनिधिहरू छाता ओढेर र सभागृह परिसरका ओत लाग्ने ठाउँमा उभिएर आफ्ना प्रिय उम्मेदवारको पक्षमा मत मागिरहेका देखिन्थे । केन्द्रीय सदस्य पदमा पनि देशैभरका स्थानीय जनप्रतिनिधि तथा युवाहरूको ठूलो आकर्षण देखिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ भने कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले पनि मनोनयन गराउनुभएको छ । यसैगरी, बागमती प्रदेशबाट युवा महिला क्लस्टरअन्तर्गत १८ वर्षीया कान्छी प्रतिनिधि अप्सा पौडेलले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएर नयाँ पुस्ताको उपस्थिति दर्शाउनुभएको छ ।
महाधिवेशनको तेस्रो दिन मंगलबार निर्वाचन कार्यक्रमसँगै बन्दसत्रका प्रारम्भिक छलफलहरू पनि सम्पन्न भएका छन् । मंगलबारका लागि तय गरिएका बन्दसत्रका एजेण्डा सकिएकाले बाँकी विषयमा आज ( बुधबार) बिहान पुनः छलफल हुनेछ । बुधबार बिहान बस्ने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन समितिले मंगलबार दर्ता भएका उम्मेदवारीहरूको आवश्यक कागजात, प्रस्तावक, समर्थक, र शुल्क भौचरको छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार आगामी बिहीबार नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । देशभरबाट आएका सात हजार एक सय चौध जना महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागी भएर कांग्रेसको आगामी पाँच वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति छनोट गर्नेछन् ।
उम्मेदवारीबारे पुनर्विचार गर्न थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्त्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउनसक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । मंगलबार सभापति पदमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरूलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभयो ।
थापाले निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्नसक्ने भन्दै उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन केन्द्रीय सदस्यका सबै प्रत्यासीलाई आग्रह गर्नुभयो । सभापति थापाले पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै आगामी दिनमा प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको प्रष्टीकरण दिनुभयो । विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उहाँको भनाइ छ ।







राशिफल २४ असोज, कन्या :
पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको