गत फागुनमा भएको आमनिर्वाचनमा झण्डै दुई तिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भएको छ । आमनागरिकको अपेक्षा विपरीत बालेन्द्र शाह नेतृत्वको सरकारले यो ६ महिनाको अवधिमा उल्लेख्य काम गर्न सकिरहेको छैन । मुख्य गरी सरकारको कार्यशैलीप्रति नागरिकमा गुनासो बढ्नेक्रममा छ । सरकारलाई सही बाटोमा डोहोर्याउन खबरदारीको अभाव भएको टिप्पणी हुन थालेको छ । सरकार निकै शक्तिशाली हुँदा सदन र सडकमा विपक्षी मोर्चा अनपेक्षित कमजोर रहेको टिकाटिप्पणी भइरहेका बेला नेपाली राजनीतिका दिग्गज् व्यक्तिहरू पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्लाको अगुवाइमा नयाँ नागरिक अभियानको घोषणा भएको छ । अभियानमा पूर्वमुख्य-सचिव विमल कोइराला, अधिवक्ता रामनारायण बिडारी, रास्वपाका संस्थापक डा. मुकुल ढकाल, विश्लेषक अरुण सुवेदीलगायत पनि सहभागी हुनुहुन्छ । अभियानको संयोजकको जिम्मेवारी नेकपा एमालेका नेतासमेत रहनुभएका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई दिइएको छ । गैरराजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइने भनिएको अभियानमा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको छ । अभियानमा चिकित्सक, इञ्जिनियर, प्राध्यापक, पूर्वसचिव, पूर्वराजदूत तथा पत्रकारलगायत छन् । अभियानको उद्देश्य सरकार र राजनीतिक दललाई सार्वजनिक विषयमा खबरदारी गर्नु र नागरिकका सरोकारलाई तटस्थ रूपमा राख्नु रहेको बताइएको छ । पछिल्लो समय समाज पुराना र नयाँ राजनीतिक दलको बीचको मनोविज्ञानमा सीमित हुँदै गएको भन्दै तटस्थ र निष्पक्ष रूपमा नागरिकका विषयमा धारणा राख्ने स्वतन्त्र नागरिक संस्थाको आवश्यकता देखिएको तर्क गरिएको छ । राजनीतिक क्षेत्रका केही व्यक्तिले सुरु गरेको यो अभियानको उद्देश्यका सन्दर्भमा अभियानका अगुवामध्येका एक पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लासँग हिमालय टाइम्सका लागि अनिल क्षेत्रीले गर्नुभएको संवादः-
नागरिक अभियानको मुख्य उद्देश्य के हो ?
अहिलेको परिस्थिति र जनताको सोच हेर्दा, फागुन २१ को चुनावपछि देशबाट अन्योलता र अनिश्चितता समाप्त हुन्छ भन्ने अपेक्षा थियो । तर, दुर्भाग्यवश त्यो हुन सकेन । भोलि के हुन्छ भन्ने अनिश्चित छ । अहिलेको व्यवस्था, सरकार तथा प्रणाली कति दिगो रहन्छ भन्ने कुरामा अधिकांश जनता आश्वस्त छैनन् । विगतमा राष्ट्रपतिको अडानले प्रणाली जान नपाए पनि एकचोटि प्रणाली हराएजस्तो भएको थियो । यसको मूल कारण भनेको जनता र सरकारबीचको दूरी हो । जनता सरकारलाई सुन्न चाहन्छन् तर सरकारको प्रमुख व्यक्ति जनतासँग बोल्दैनन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् कति प्रतिशत ग्रामीण जनताको कुरा थाहा पाउनुहुन्छ भन्ने स्पष्ट छैन । त्यसैले सरकारको राम्रो कामको समर्थन गर्दै, जनतालाई सुसूचित गर्ने, सरकारलाई सोध्ने र सरकार तथा जनताबीचको खाडल घटाउने हाम्रो मुख्य उद्देश्य हो । संसद्मार्फत् नै जनताले सरकारलाई सुन्ने हो तर त्यहाँबाट पनि सही रूपमा जवाफ नआएकाले यो अभियान आवश्यक परेको हो ।
खबरदारी गर्नु आफैंमा राजनीतिलाई सुधार्नु हो । खबरदारी भनेको वर्तमान राजनीतिको कोर्स सच्याउन र गल्ती भए ब्याकअप बन्नका लागि गरिने प्रयास हो । हामी सरकारको वा कसैको आलोचनामात्रै गर्ने वा गल्तीमात्रै औंल्याउने गर्दैनौं, दुवै पक्षलाई हेरेर कमीकमजोरी उजागर गर्छौं ।
भर्खरै सम्पन्न चुनावबाट ताजा जनादेश आएर सरकार बनेको छ । फरक परिस्थितिमा आएको सरकारले जनताको अपेक्षा पूरा गर्ला नि ! अहिले नै नागरिक अभियान चलाउनुपर्ने कुरा त हतार भएन र ?
आफूहरू करिब दुई महिनादेखि विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल र सम्पर्कमा रहेको र त्यसैको परिणाम स्वरूप नागरिक अभियान घोषणा गरिएको हो । अभियानले सरकार तथा राजनीतिक दललाई विभिन्न सार्वजनिक विषयमा खबरदारी गर्ने र नागरिकका सरोकारलाई तटस्थ रूपमा उठाउने उद्देश्य राखेको छ । राजनीतिक चेतना बढे पनि सामाजिक, आर्थिक विवेकीय चेतना बढ्न सकेको छैन् । आर्थिक स्वतन्त्रताको मुद्दालाई प्राथमिकता नदिए राष्ट्र दुर्घटनामा जाने खतरा छ । अहिलेको राजनीति नयाँ र पुरानो भनेर ध्रुवीकृत भएको छ । नागरिकका एजेण्डा दबिँदै गएका छन् । सरकारलाई खबरदारी गर्न जरुरी छ । तर, वर्तमान सरकार हटाउने यो अभियान होइन, बरु सरकारलाई सुझाव, सल्लाह दिने र खबरदारी गर्ने अभियान हो । सरकार गलत बाटोमा नजाओस् र गल्ती भएमा समयमै सच्याउन सकियोस् भनेर पहिलो दिन (डे वान) देखि नै यस्तो खबरदारी जरुरी हुन्छ । विगतमा पनि सरकारले गरेका त्रुटिहरू समयमै नोटिसमा आएर सच्चिएका उदाहरण छन्, जस्तैः पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको घटना पछि सच्चिएको थियो । सरकारले राम्रो गरोस् भन्ने चाहना राख्ने मानिसहरूले सरकारलाई नोक्सान गर्दैनन्, तर बिग्रियो भनेर औंल्याइदिने टिम वा संस्था भएन भने समस्या हुन्छ । त्यसैले खबरदारी गर्न, सचेत गराउन र सतर्क गराउन यो अभियान आवश्यक भएको हो ।
नागरिक अभियानको अग्रपंक्तिमा लामो समयदेखि नेपालको राजनीतिमा प्रभाव राखेका व्यक्तिहरू नै देखिनुहुन्छ नि ?
त्यस्ता व्यक्तिहरू पनि हुनुहुन्छ, तर उहाँहरूमात्रै हुनुहुन्न । विगतमा राजनीतिमा रहेर पनि बेदाग बसेका धेरै मान्छेहरू यसमा संलग्न हुनुहुन्छ । नयाँ र पुरानो सबै मिलेर नलागीकन यो देश बन्नेवाला छैन भन्ने कुरा पछिल्लो ६ महिनामै देखिसकिएको छ । विगतमा पुराना नेताहरूले अहंकारको कारणले गल्ती गरेका थिए भने अहिले इमान्दारिताका साथ देश बनाउन लागौं भन्नेहरू पनि छन् । मान्छेबाट त्रुटि हुन्छ नै, तर हाम्रो प्रयास भनेको त्रुटिलाई न्यून गर्ने, सरकारको बाटो सजिलो बनाउने र जनतालाई सहज गरी लोकतन्त्रलाई बलियो पार्ने हो ।
दिग्गज राजनीतिक व्यक्तित्वहरू संलग्न भएको यो अभियान खाली नागरिक चेतना र सरकारका गलत कामप्रति खबरदारीमात्र हो कि मुलुकको राजनीतिमा केही अर्थ राख्छ ?
खबरदारी गर्नु आफैंमा राजनीतिलाई सुधार्नु हो । खबरदारी भनेको वर्तमान राजनीतिको कोर्स सच्याउन र गल्ती भए ब्याकअप बन्नका लागि गरिने प्रयास हो । हामी सरकारको वा कसैको आलोचना मात्रै गर्ने वा गल्ती मात्रै औंल्याउने गर्दैनौं, दुवै पक्षलाई हेरेर कमीकमजोरी उजागर गर्छौँ ।
‘जेन-जी’ विद्रोहपछि कांग्रेस, एमाले, माओवादीलगायत सम्पूर्ण राजनीतिक दलहरूमा उथलपुथल छ । त्यो अहिले पनि जारी छ । तपाईँको विचारमा यो देशका राजनीतिक दलहरूको भविष्य र राजनीति कतातिर जाँदैछ ?
राजनीति कता जाँदैछ भन्नेमै मुख्य अन्योल छ । २५ वटा भ्रष्टाचारका केसहरूको नामकरण गरिएको थियो र भ्रष्टाचारको उन्मूलन भई दोषीलाई सजाय हुने कुरामा जनताको विश्वास थियो, तर त्यसो हुन सकेन । सरकारले समिति बनाएर उन्मुक्ति दिने प्रयास गरेको पनि देखियो । दण्डहीनताका कारणले समाजलाई कति फाइदा वा नोक्सान पुग्यो भन्ने विश्लेषण हुन बाँकी नै छ । विगतमा माओवादी आन्दोलन पनि दण्डहीनताकै कारणले निरन्तरता पाएको थियो । अहिले पनि त्यही दिशातिर अवस्था गइरहेको देखिन्छ । यस्तो अवस्थामा सडकको अराजकता नभईकन देशमा परिवर्तन हुँदैन भन्ने भाष्य निर्माण हुन सक्छ । त्यसैले हामीले प्रणाली र लोकतन्त्रलाई बलियो पार्न तथा आफ्नै संयन्त्रबाट गल्ती सच्याउने काम गरोस् भनेर यो अभियान थालेका हौं ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ६ महिना पूरा गरेको छ । यो अवधिमा सरकारका कामकारबाहीहरूलाई कसरी हेर्नुभएको छ ?
सरकारका केही कामहरू एकदम राम्रा छन् । जसलाई हामीले तारिफ गर्नैपर्छ । जस्तोः मितव्ययिताको विषय । मन्त्रालय घटाउने, अनावश्यक सरकारी निकाय कटौती गर्नेलगायतका विषय । प्रशासनिक क्षेत्रमा केही सुधार गर्ने प्रयास भएका छन् । तर, खासगरी लोकतन्त्रलाई बलियो पार्ने कुरामा यो सरकार कमजोर देखिएको छ । विधिको शासनमा सरकार केही कमजोर देखिएको छ । राज्यले कुनै पनि निर्णय गर्दा, काम गर्दा विधि, प्रक्रियालाई प्राथमिकता दिनुपर्छ । देशमा लामो समय निरंकुशता चलेको हुनाले लोकतन्त्रलाई अझ संस्थागत गर्न जरुरी छ । जुन ठाउँबाट लोकतन्त्रमाथि प्रहार भइरहेको छ, त्यसलाई रोक्न सरकारका केही अंगहरूले सहयोग गरिरहेका छन् । तर, रोक्न सकिरहेका छैनन् । यो किन भइरहेको छ ? यसको कारण खोज्नु आवश्यक छ । खोज्नुपर्छ । केही सुधारका प्रयास देखिए पनि सरकारका कामकारबाहीमा प्रशस्तै कमीकमजोरी पनि देखिएका छन् । हामीले कमीकमजोरीलाई औंल्याएपछि सरकारले त्यसलाई सच्याउँछ र ध्यान दिन्छ भन्ने हाम्रो अपेक्षा छ ।
लामो समय राजनीति गर्नुभएका व्यक्तित्वहरू यो अभियानमा जोडिनुभएको छ । तपाईंहरूले पूर्ववत् पार्टीहरू त्यागेर जोडिनुभएको हो कि पार्टी र अभियान छुट्टाछुट्टै विषय हुन् ?
पार्टी छुट्टै हो र अभियान छुट्टै हो । मैले त चुनावकै बेला ब्यालेट बक्सको राजनीतिबाट सन्न्यास लिएको घोषणा गरिसकेको थिएँ र म त्यही अनुरूप छु । तर, यो अभियानमा सहयोग गर्न सबैका लागि ढोका खुला छ । कसैले आफ्नो पार्टीमा बसेर पनि यसमा सहयोग गर्न चाहन्छ भने स्वागत छ । जसरी मन्दिर जाँदा जुत्ता बाहिर फुकालिन्छ र फर्किएपछि फेरि लगाइन्छ, त्यसरी नै इमान्दारीका साथ अभियानमा लाग्दा हामीले दलगत कुरालाई बाहिरै राख्नुपर्छ । पार्टीले अन्याय गरिरहेका छन् भने त्यहीँ बसेर पनि आवाज उठाउन सकिन्छ ।
यो अभियानको संरचना के हो ? केन्द्रमा मात्र हुन्छ कि प्रदेश र जिल्लातिर पनि विस्तार हुन्छ ?
यसको संरचनाबारे सबै कुरा उल्लेख गरिएको छ । हामी प्रदेशसम्म युनिट बनाउने र पछि गाउँ-गाउँ र स्थानीय तहसम्म पनि पुग्ने योजनामा छौं । सतर्कताका लागि उपस्थिति चाहिने हुनाले हामी त्यही अनुसारको तयारी गर्छौं । २०४७ सालपछि धेरै राजनीतिक परिवर्तनहरू भए पनि यथेष्ट आर्थिक परिवर्तन हुन सकेन । आर्थिक परिवर्तन नभएसम्म देशमा सम्पन्नता आउन सक्दैन र राजनीतिक परिवर्तनले मात्रै जनता सन्तुष्ट हुँदैनन् । त्यसैले हामी समृद्धिका लागि प्रोफेसर, उद्योगपतिलगायतका व्यक्तिहरूको अनुभवलाई पनि यो अभियानमा जोड्नेछौं । यो अभियानको मुख्य उद्देश्य नै नागरिकका समस्या र समाधानका उपायसहित सरकारलाई झकझक्याउनु हो । लोकतन्त्र, विधि र प्रक्रिया अनुरूप कामकारबाही अगाडि बढाउनु हो । मुख्य कुरा लोकतन्त्र । लोकतन्त्र सबैभन्दा मुख्य कुरा हो । नागरिकको स्वतन्त्रता र लोकतन्त्र एकअर्काका परिपूरक हुन् । मुलुकमा अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिको रक्षा, थप प्राप्ति र मुलुकको समग्र समृद्धिका लागि सरकारलाई खबरदारी गर्नु आवश्यक छ । त्यसकै लागि यो नयाँ नागरिक अभियान सुरु भएको हो । यो अभियानमा समाजका हरेक तह र तप्काका व्यक्तिहरू अटाउनुहुन्छ । अभियानमा सहभागिताका लागि समेत अपिल गर्छु ।







मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा
चाडपर्वको मुखमा महँगीको मार, उपभोक्तालाई
ओलीपथमा एमाले