काठमाडौं । सरकारले विद्युत् उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी मात्रै विद्युत् खरिद सम्झौता (पीपीए) अघि बढाउने संकेत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले खपत सुनिश्चित नगरी जथाभावी पीपीए गर्दै गए त्यसले देशको अर्थतन्त्रमा गम्भीर संकट निम्त्याउन सक्ने बताउनुभएको छ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले विद्युत् उत्पादनका लागि सम्झौता गर्दै जाने तर त्यसको खपतका लागि आवश्यक पूर्वाधार र बजार सुनिश्चित नगर्ने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने बताउनुभएको हो।
उहाँका अनुसार उत्पादन भएको विद्युत् खपत हुन नसके त्यसको आर्थिक भार निजी ऊर्जा प्रवद्र्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्न सक्छ। जलविद्युत् आयोजनामा सर्वसाधारणको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा जनताको लगानीसमेत जोखिममा पर्न सक्ने उहाँले बताउनुभयो।
‘कुन आयोजनालाई पीपीए दिने वा नदिने’ भन्दा पनि किन दिने, कसरी दिने र राष्ट्रिय आवश्यकता के हो भन्ने आधारमा सरकारले पीपीएको प्रणाली विकास गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा पीपीए अघि बढाउने तयारी भइरहेको उहाँको भनाइ छ।
उहाँले पीपीएका लागि सरकारको प्रारम्भिक तयारी पूरा भइसकेको र आरसीओडी (व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने मिति) सम्बन्धी निर्णय चाँडै हुने सम्भावना रहेको जानकारी दिनुभयो।
मन्त्री श्रेष्ठले भन्नुभयो, “राम्रो प्रणाली र प्रक्षेपण नगरी पीपीए मात्र गर्दै जाने हो भने फेरि देश धराशायी हुन्छ । देशको अर्थतन्त्र नै संकटमा पर्छ । खपतका पूर्वाधार छैनन्, अनि पीपीए गर्दै जाने, पैसा दिने र राज्यको ढुकुटी सकाउने भन्ने हुँदैन।”
उहाँले यसपटक राष्ट्रिय लक्ष्य र प्राथमिकतालाई केन्द्रमा राखेर पीपीए अघि बढाइने बताउनुभयो। उत्पादन, पीपीए र खपतबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्रले पनि यस विषयलाई संवेदनशील रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
निजी क्षेत्रलाई पीपीए प्रक्रियामा समेट्ने तयारी
मन्त्री श्रेष्ठका अनुसार सरकारले पीपीए प्रक्रियामा निजी क्षेत्रलाई समेत थप व्यवस्थित रूपमा सहभागी गराउने तयारी गरेको छ। यस विषयमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग र विद्युत् विकास विभागसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँले विद्युत् क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण र विद्युत् व्यापारसम्म निजी क्षेत्र तथा सर्वसाधारणको सहभागिता विस्तार गर्ने सरकारको नीति रहेको बताउनुभयो।
प्रसारण लाइनमा निजी लगानी भित्र्याउने तयारी
सरकारले प्रसारण पूर्वाधारमा निजी क्षेत्रको सहभागिता बढाउने प्रक्रिया अघि बढाएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो।
प्रसारण लाइन सुधारका लागि सरकारले यस वर्ष ठूलो बजेट छुट्याए पनि हरेक वर्ष राज्यले मात्रै लगानी गर्न सम्भव नहुने भएकाले निजी लगानी भित्र्याउन खोजिएको उहाँको भनाइ छ।
प्रसारण लाइन निर्माणमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल सुरु भइसकेको र ‘ह्विलिङ चार्ज’को व्यवस्थाले त्यस्ता आयोजनालाई बैंकयोग्य बनाउन सहयोग गर्ने उहाँले बताउनुभयो।
‘बुट’ प्रणालीअन्तर्गत प्रसारण आयोजना २५ वर्षसम्म सञ्चालन हुने भएकाले निजी क्षेत्र तथा सर्वसाधारणका लागि दीर्घकालीन लगानीको अवसर सिर्जना हुने मन्त्री श्रेष्ठको भनाइ छ।
सरकारले राष्ट्रिय प्रसारण लाइन मास्टर प्लानसमेत तयार गरिरहेको उहाँले जानकारी दिनुभयो। मास्टर प्लानअनुसार प्रसारण आयोजना पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट अघि बढाइने तथा निजी क्षेत्रले समेत सहभागी हुन पाउने उहाँले बताउनुभयो।
लाइसेन्सिङ प्रणालीमा पुनर्विचारको संकेत
मन्त्री श्रेष्ठले विगतमा आवेदन दिने क्रममै आयोजनालाई लाइसेन्स वितरण गर्दा नदी तथा खोलाहरूमा अत्यधिक आयोजना केन्द्रित भएको समस्या देखिएको बताउनुभयो।
उहाँका अनुसार अहिले धेरै नदी बेसिन ‘प्याक’ भइसकेका छन्। त्यसैले लाइसेन्सिङ प्रणालीमा समेत पुनर्विचार आवश्यक देखिएको उहाँको भनाइ छ।
“पहिले जसले आएर आवेदन दिए पनि खोल्साको समेत लाइसेन्स दिने खालको अवस्था रहेछ। त्यसले गर्दा नदीहरू धेरै प्याक भएका छन्। अहिले कुनै पनि नदी बाँकी नरहेको अवस्था छ,” उहाँले भन्नुभयो।
विद्युत् व्यापार विस्तार गर्ने सरकारको योजना
मन्त्री श्रेष्ठले विद्युत् व्यापारलाई समेत निजी क्षेत्र र सर्वसाधारणको लगानी विस्तार गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउने सरकारको तयारी रहेको बताउनुभयो।
विद्युत् व्यापारका लागि आवश्यक कानुनी प्रावधान पूरा गरी व्यापार सुरु गर्न सकिए उत्पादन, प्रसारण र खपतबीच सन्तुलन कायम गर्दै पीपीए अघि बढाउन सहज हुने उहाँको भनाइ छ।
उहाँले आगामी दिनमा प्रसारण, वितरण र विद्युत् व्यापार तीनवटै क्षेत्रमा निजी क्षेत्र तथा सर्वसाधारणको सहभागिता विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो।
यसबाट विद्युत् क्षेत्रमा लगानीको दायरा विस्तार हुनुका साथै दीर्घकालीन र सुरक्षित लगानीका नयाँ अवसर सिर्जना हुने उहाँको विश्वास छ।







सरकार सैद्धान्तिक विचलनमा फस्यो :
प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा
म्युचुअल फण्डमा नयाँ लगानीका ढोका
साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा
मिथिलाको सांस्कृतिक धरोहर झिझिया, तान्त्रिक
चुम नुब्री, धार्चे, आरुघाट, त्रिपुरासुन्दरी,