धनुषा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेश गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ।
बुधबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रका समस्या अध्ययन तथा अनुसन्धानमार्फत पहिचान गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको हो।
उहाँले विश्वविद्यालयहरू पढ्ने र पढाउने कार्यमा मात्र सीमित हुन नहुने बताउँदै सम्बन्धित क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि खोज तथा अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
मन्त्री पोखरेलले मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो। नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया समेत अघि बढिसकेको जानकारी दिँदै उपलब्ध स्रोत, साधन र क्षमताअनुसार सबै पक्षले काम गर्नुपर्ने उहाँको भनाइ छ।
उहाँले मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्नुपर्ने बताउनुभयो।
“मधेस प्रदेशमा शिक्षा क्षेत्रमा रहेका समस्याको खोज र अध्ययनमार्फत पहिचान गरी मन्त्रालयमा पेश गर्न म राजर्षी जनक विश्वविद्यालयलाई अनुरोध गर्न चाहन्छु,” मन्त्री पोखरेलले भन्नुभयो।
उहाँले मधेसमा शिक्षाको गुणस्तर अपेक्षाअनुसार हुन नसक्नुका कारण र सुधारका सम्भावनाबारे समेत अध्ययन गर्नुपर्ने बताउनुभयो।
मधेसका धेरै विद्यार्थी अहिले पनि इन्जिनियरिङलगायत उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले प्रदेशमै गुणस्तरीय उच्च शिक्षाको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री पोखरेलले राजर्षी जनक विश्वविद्यालय अझै अन्य विश्वविद्यालयको स्तरमा पुग्न बाँकी रहेको बताउँदै विश्वविद्यालयले थप मेहनत र अनुसन्धानमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
“राजर्षी जनक विश्वविद्यालय अरू विश्वविद्यालयको स्तरमा कतिपय कुरामा पुग्न नसकेको कारण अझै धेरै मेहनत गर्नुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो।







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ