काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक भएको बताउनुभएको छ ।
महाधिवेशनअन्तर्गत बन्द सत्रको समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले यसपटक पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे गम्भीर छलफल भएकाले आफूलाई महाधिवेशन नौलो लागेको बताउनुभयो ।
“मैले देखेका विगतका बन्द सत्रमा नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएको देखेको थिइनँ । त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,” उहाँले भन्नुभयो, “यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु ।”
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिताले नेपाली कांग्रेसले मुलुकको राजनीतिमा दिशानिर्देश गर्ने भूमिका देखाएको उहाँको भनाइ थियो ।
“उद्घाटन सत्रमा जुन राजनीतिक पार्टीहरू उपस्थित भए, त्यसले कांग्रेसले नै मुलुकको राजनीतिलाई मूल दिशानिर्देश गर्छ भन्ने प्रमाण हो,” उहाँले भन्नुभयो ।
आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको दाबी पनि गर्नुभयो । विगतमा कांग्रेसलाई ‘बूढाहरूको पार्टी’ भन्ने गरिए पनि अहिले १८ वर्षका युवायुवतीदेखि सबै उमेर समूहका मानिस पार्टीसँग जोडिएको उहाँले बताउनुभयो ।
उहाँले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै बहुमतको नाममा ‘अल्गोरिदम’ बाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजान खोजेको आरोपसमेत लगाउनुभयो ।
“आज देशमा बहुमतको नाममा अल्गोरिदमले सत्तामा आएकाहरूले युक्रेन बनाउने दिशामा लगिरहेका छन्,” उहाँले भन्नुभयो, “अब यही हलले यही नेतृत्वप्रति भरोसा गरेर जानुपर्छ । देश यहीँबाट बन्ने छ ।”
महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले कांग्रेसलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।






लुम्बिनीका ७ प्रतिशतभन्दा बढी बालबालिका
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन निर्णय
साढे ५ घण्टा ढिलो कांग्रेस
भोजपुरमा २४४ किलोभन्दा बढी गाँजासहित
मलंगवामा एक लाख घुससहित इन्जिनियर
कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक