एजेन्सी । सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी कागन र जापानका केन्सो सोआईलाई संयुक्त रूपमा प्रदान गरिएको छ । दुवै वैज्ञानिकले रसायन विज्ञान क्षेत्रको करिब १०० वर्ष पुरानो जटिल गुत्थी सुल्झाउनुभएको हो ।
कागन र सोआईले ऐनाको प्रतिविम्ब (मिरर इमेज) जस्तै देखिने दुई अणुहरूमध्ये आवश्यक परेको एउटामात्र अणु कसरी बनाउन सकिन्छ भन्ने कुरा स्पष्ट पार्नुभएको छ । यो खोज खासगरी प्रभावकारी औषधि निर्माण गर्न अति उपयोगी हुने बताइएको छ । विजेताहरूलाई आगामी डिसेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजित कार्यक्रममा मेडल, डिप्लोमा र पुरस्कार राशिसहित सम्मानित गरिनेछ ।
हाम्रा दुवै हातहरू लगभग उस्तै देखिए पनि देब्रे हातले दाहिने हातको ठाउँ लिन नसकेजस्तै केही अणुहरू पनि यस्तै प्रकृतिका हुन्छन् । ती अणुहरूका दुई रूप हुने र दुवै एकअर्काका प्रतिविम्ब जस्तै देखिने गर्छन् ।
वैज्ञानिकहरूले त्यस्ता अणु बनाउँदा दुवै रूप एकैसाथ बन्ने समस्या रहँदै आएको थियो । औषधि निर्माणमा दुवै रूपको आवश्यकता पर्दैन र एउटा रूपले रोग निकोपार्न काम गरिरहँदा अर्को रूप निष्प्रभावी हुने वा असर पुर्याउने खतरा रहन्छ । त्यसैले वैज्ञानिकहरू जुन अणुको आवश्यकता छ, त्यहीमात्र बनोस् भन्ने चाहन्थे ।
यो समस्या केवल औषधिमा मात्र नभई मानव शरीरभित्र पनि देखिन्छ । अमिनो एसिडका दुईवटा प्रतिबिम्ब रूप हुनसक्ने भए पनि शरीरले प्रोटिन निर्माणका लागि तीमध्ये एउटा रूपमात्र प्रयोग गर्छ । प्रकृतिले यो प्रक्रिया कसरी नियन्त्रण गर्छ भन्ने विषयमा वैज्ञानिक लामो समयदेखि अनुसन्धानरत थिए ।
यसै क्रममा हेनरी बी कागनले सन् १९८६ मा एक यस्तो रासायनिक प्रक्रिया पत्ता लगाउनुभयो, जसबाट दुवै रूपबराबर नबनी एउटा रूप अर्कोभन्दा धेरै बन्ने भयो । उहाँले रासायनिक प्रक्रियालाई नियन्त्रण गरेर मनचाहा अणु धेरै बनाउन सकिने तथ्य प्रमाणित गर्नुभयो । त्यसपछि केन्सो सोआईले यस अध्ययनलाई अझ अघि बढाउँदै सुरुमा थोरैमात्र बनेको अणुले पछि आफ्नै जस्ता अरू अणु उत्पादन गर्न मद्दत गर्ने प्रक्रिया विकसित गर्नुभयो ।
यसवर्षको नोबेल पुरस्कार घोषणामार्फत सोमबार चिकित्साशास्त्र र मंगलबार भौतिकशास्त्रतर्फको पुरस्कार घोषणा भइसकेको छ । अब बिहीबार साहित्य, शुक्रबार शान्ति र सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुने कार्यतालिका छ । गतवर्ष (सन् २०२५) को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ठूलो मात्रामा ग्यास भण्डारण गर्नसक्ने नयाँ आणविक संरचना विकास गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिएको थियो ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं