काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष अध्ययन गरिने बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको पोशाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियासम्बन्धी उजुरी सार्वजनिक लेखा समितिमा परेकाले त्यसबारे अध्ययन गर्नु समितिको जिम्मेवारी भएको बताउनुभयो । बेनामी उजुरीसमेत पर्न सक्ने भएकाले प्रत्येक उजुरीलाई तथ्य र प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।
ओलीले उपसमितिको काम कसैलाई दोषी ठहर गर्ने वा कारबाही गर्ने नभई उपलब्ध कागजात र तथ्यका आधारमा अध्ययन गरी प्रतिवेदन तथा आवश्यक सिफारिस पेश गर्नु रहेको स्पष्ट पार्नुभयो ।
“उपसमितिको काम छानबिन वा कारबाही गर्ने होइन, तथ्य र कागजातका आधारमा अध्ययन गरी प्रतिवेदन र आवश्यक सिफारिस पेश गर्ने हो,” उहाँले भन्नुभयो, “सार्वजनिक खरिद ऐन तथा प्रचलित कानूनअनुसार खरिद प्रक्रिया भए–नभएको अध्ययन गरिनेछ ।”
उहाँले उजुरी पर्दैमा सम्बन्धित व्यक्ति वा निकाय दोषी नहुने बताउँदै राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गरिने स्पष्ट पार्नुभयो ।
“उजुरी पर्नु नै कसैलाई दोषी ठहर गर्नु होइन । प्रत्येक उजुरीलाई तथ्य, प्रमाण र कानूनी प्रक्रियाका आधारमा अध्ययन गर्नुपर्छ,” ओलीले भन्नुभयो ।
उहाँले उपसमितिमा फरक–फरक धारणा आउन सक्ने भए पनि सबै सदस्यका विचारलाई सम्मानपूर्वक राखेर निर्णय प्रक्रियाबाट निष्कर्षमा पुगिने बताउनुभयो ।
कागजात तथा तथ्यको अध्ययनपछि जे देखिन्छ, त्यही आधारमा प्रतिवेदन र सिफारिस गरिने उल्लेख गर्दै ओलीले विधिको शासन, कानूनको पालना र निष्पक्ष अध्ययनलाई प्राथमिकतामा राखिने बताउनुभयो ।






भोजपुरमा २४४ किलोभन्दा बढी गाँजासहित
मलंगवामा एक लाख घुससहित इन्जिनियर
कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक
‘अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन
मन्त्रिपरिषद्को बैठक सुरु
भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा संसदीय