काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले कार्यविधि तथा कार्यअवधि सर्वसम्मतिले पारित गर्दै सबै सदस्यले हस्ताक्षर गरेका हुन् ।
उपसमितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले समय सीमित भएकाले विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।
उहाँका अनुसार उपसमितिको कार्यअवधि दुई महिना अर्थात् मंसिर २० गतेसम्म रहेको छ । उपसमितिको अर्को बैठक दशैँपछि बस्ने निर्णय भएको छ ।
झाले विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाण अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको जानकारी दिनुभयो । प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिने उहाँले बताउनुभयो ।
उहाँले अध्ययनका क्रममा कुनै पनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने स्पष्ट पार्नुभयो ।
“उपसमितिको आज पहिलो बैठक बसेको हो । बैठकले १९ बुँदे कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गरी सबै सदस्यले हस्ताक्षर गरेका छन्,” झाले भन्नुभयो, “प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिनेछ । कुनै पनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न पाइनेछैन ।”
चाडपर्वका कारण हुने लामो बिदा र सदस्यहरूको जिल्ला भ्रमणका कारण समय व्यवस्थापन मुख्य चुनौती रहेको झाले बताउनुभयो । सीमित समयमा प्राप्त कागजातको प्रभावकारी अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ छ ।







अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी