ललितपुर । नेपाली आधुनिक कलाका अग्रणी कलाकार आर.एन.जोशी (रामानन्द जोशी)को कला, जीवन र योगदान संरक्षण तथा सार्वजनिक गर्ने उद्देश्यले स्थापित आर.एन.जोशी आधुनिक कलासंग्रहालयको ललितपुरको पुल्चोकमा औपचारिक उद्घाटन गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संग्रहालय उद्घाटन गर्दै आर.एन.जोशीको कला तथा सांस्कृतिक सम्पदा संरक्षणको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले महानगरपालिकाको संग्रहालयमा आर.एन.जोशीसम्बन्धी छुट्टै कक्ष स्थापना गर्ने सम्भावनाबारे समेत धारणा राख्नुभयो ।
अग्रज कलाकार तथा कला इतिहासकार मदन चित्रकारले आर.एन.जोशीलाई नेपाली आधुनिक कलाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका कलाकारका रूपमा स्मरण गर्दै कला शिक्षा र कला क्षेत्रप्रतिको उनको प्रतिबद्धताको चर्चा गर्नुभयो ।
संग्रहालयको पहिलो प्रदर्शनीका रूपमा ‘इम्ब्रिकेटेड : आर.एन.जोशी एण्ड द मेकिङ अफ नेपाली मोडर्न आर्ट’ आयोजना गरिएको छ । क्युरेटर प्रणव मान सिंहका अनुसार प्रदर्शनीले जोशीका कलाकृतिलाई उहाँको शिक्षा, पारिवारिक पृष्ठभूमि, संस्थागत संलग्नता, कला बजार तथा नेपालको परम्परागत ज्ञान प्रणालीसँगको सम्बन्धमा राखेर नेपाली आधुनिक कलाको विकासक्रम प्रस्तुत गरेको छ ।
कलाकारका सुपुत्र तथा आर.एन.जोशी कला ट्रस्टका अध्यक्ष नवीन जोशीले संग्रहालय स्थापना लामो समयदेखिको कला संरक्षण प्रयासको परिणाम भएको बताउनुभयो । उहाँका अनुसार ट्रष्टले स्थायी सार्वजनिक संग्रहालय सञ्चालनसँगै अभिलेख तथा अनुसन्धान स्रोतको विकास, शैक्षिक तथा सामुदायिक कार्यक्रम र पुरस्कार, छात्रवृत्ति, अनुदानमार्फत कला अनुसन्धान तथा सम्पदा संरक्षणमा सहयोग गर्नेछ ।
सन् १९३८ मा जन्मिनुभएका आर.एन.जोशीको सन् १९८८ मा निधन भएको थियो । कलाकार, शिक्षक तथा कला अभियन्ताका रूपमा उहाँले नेपाली आधुनिक कला र कला शिक्षाको विकासमा योगदान पुर्याउनुभएको थियो । उहाँको पूर्वनिवास तथा स्टुडियोलाई आर.एन.जोशी कला ट्रष्टको पहलमा आधुनिक कला संग्रहालयमा रूपान्तरण गरिएको हो ।
संग्रहालयले नेपाली आधुनिक कलाको इतिहास, कलाकृति तथा अभिलेख संरक्षणसँगै कला शिक्षा र अनुसन्धानका लागि सार्वजनिक थलोका रूपमा काम गर्ने जनाएको छ । संग्रहालयले म्युजियम अफ नेपाली आर्ट, तारागाउँ म्युजियम तथा काठमाडौं विश्वविद्यालयको कला तथा डिजाइन विभागसँग सहकार्य गर्ने योजना पनि अघि सारेको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं