एजेन्सी । भारतीय महिला क्रिकेट टोलीकी प्रमुख ब्याटर स्मृति मन्धना तीनवटै फर्म्याटको नयाँ कप्तान नियुक्त हुनुभएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई)ले लामो समय टोलीको नेतृत्व गर्नुभएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएको दिन नै मन्धनालाई नयाँ कप्तान नियुक्त गरेको हो ।
लामो समयदेखि भारतीय टोलीको उपकप्तान रहँदै आउनुभएकी मन्धनाले यसअघि चार ओडिआई र १८ टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी गरिसक्नुभएको छ । उहाँले घरेलु क्रिकेटमा महाराष्ट्र तथा महिला प्रिमियर लिग (डब्लुपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तानी गर्दै आउनुभएको छ ।
नयाँ कप्तानका रूपमा मन्धनाको पहिलो जिम्मेवारी जिम्बाब्बेविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला हुनेछ । शृंखला अक्टोबर १६ देखि रायपुरमा सुरु हुनेछ । अमिता शर्माको अध्यक्षतामा मंगलबार बसेको छनोट समितिको बैठकमा सहभागी हुँदै मन्धनाले जिम्बाब्बे भ्रमणका लागि भारतीय टोली छनोटमा समेत भूमिका निर्वाह गर्नुभएको छ । कप्तानीको जिम्मेवारी पाउनु आफ्ना लागि ‘विशेष सम्मान’ भएको बताउँदै मन्धनाले पूर्वकप्तान हरमनप्रीत कौरको योगदानको प्रशंसा गर्नुभएको छ ।
बिसिसिआईमार्फत् जारी वक्तव्यमा मन्धनाले हरमनप्रीतले वर्षौँसम्म कप्तानका रूपमा गरेको योगदानप्रति आभार व्यक्त गर्दै टोलीको यात्रामा उहाँको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले नयाँ जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै टोलीसँग मिलेर काम गर्ने र धेरै कुरा सिक्दै भारतीय क्रिकेटलाई अघि बढाउन सक्दो योगदान दिने प्रतिबद्धता जनाउनुभएको छ ।
आगामी वर्षको फेब्रुअरीमा हुने पहिलो महिला च्याम्पियन्स ट्रफी, टी-२० विश्वकप तथा सन् २०२८ को लस एन्जलस ओलम्पिकलाई लक्षित गर्दै सोमबार गुवाहाटीमा समीक्षा बैठक बसेको थियो । बिसिसिआई सचिव देवजित साइकियाको अध्यक्षतामा बसेको बैठकमा मन्धना, हरमनप्रीत र मुख्य प्रशिक्षक अमोल मुजुमदार सहभागी हुनुहुन्थ्यो । सोही बैठकका निर्णयका आधारमा मन्धनालाई तीनवटै फर्म्याटको कप्तानी जिम्मेवारी दिइएको हो ।
मन्धनाको कप्तानीमा रोयल च्यालेन्जर्स बैंगलुरुले यसै वर्ष डब्लुपिएलको दोस्रो उपाधि जितेको थियो । उक्त फाइनलमा मन्धना सर्वाधिक रन बनाउने खेलाडीसमेत बन्नुभएको थियो । गत सेप्टेम्बरमा मन्धनाले मिथाली राजलाई पछि पार्दै महिला अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याटरको कीर्तिमानसमेत बनाउनुभएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा १८ शतक प्रहार गरिसक्नुभएकी मन्धना महिला क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी हुनुहुन्छ । उहाँ तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने पहिलो भारतीय महिला क्रिकेटरसमेत हुनुहुन्छ ।







हराउन थाले दसैँका परम्परागत पिङ
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता