काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र पारिएको छ । प्रतियोगिता सुरु हुन करिब तीन सातामात्र बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण, संरचना सुधार तथा दर्शक व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले विगतका दुई संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी कमजोरीलाई सुधार गर्दै यसपटक प्रतियोगितालाई थप व्यवस्थित बनाउने तयारी गरेको छ । विशेषगरी दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनाका लागि आवश्यक सुविधा र सहज वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको क्यानले जनाएको छ ।
एनपिएलको लोकप्रियता हरेक संस्करणसँगै बढ्दै गएकाले यसपटक मैदानमा पुग्ने दर्शकको अनुभवलाई विशेष प्राथमिकता दिइएको छ । क्यानले दशैँसम्म मैदानमा गर्नुपर्ने अधिकांश काम सम्पन्न गरी प्रतियोगिता सञ्चालनका लागि पूर्ण रूपमा तयार पार्ने लक्ष्य लिएको छ ।
दर्शक क्षमता बढाउने तयारी
एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने तयारी गरिएको छ । टिकट काटेर मैदान पुग्ने दर्शकलाई प्रवेशद्वारदेखि खेल अवलोकन गरेर बाहिरिने बेलासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनका काम अघि बढाइएको हो ।
गत संस्करणमा दर्शकले मैदानमा पर्याप्त शौचालय सुविधा नहुँदा समस्या भोग्नुपरेको थियो । त्यस्तै, मैदान आसपासको आवतजावतमा धुलोका कारण पनि दर्शकले असहजता बेहोर्नुपरेको थियो । यसपटक यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको क्यानले जनाएको छ ।
दर्शकको आवागमनलाई सहज बनाउन प्रवेश तथा बाहिरिने क्षेत्रको व्यवस्थापन, आवश्यक पूर्वाधार थप गर्ने तथा मैदान परिसरलाई व्यवस्थित बनाउने काम भइरहेको छ । त्यसैगरी, दर्शकका लागि आवश्यक आधारभूत सुविधा विस्तारसँगै मैदानमा केही नयाँ संरचना थप्ने तयारी पनि गरिएको छ ।
क्यानका अनुसार प्रतियोगिताको हरेक संस्करणलाई अघिल्लोभन्दा व्यवस्थित र स्तरीय बनाउने उद्देश्यअनुसार यसपटक मैदान व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरिएकाले उनीहरूको सुरक्षा र सुविधालाई पनि प्राथमिकतामा राखिएको छ ।
दशैँ-तिहारको बीचमा एनपिएल
यस वर्षको एनपिएल दशैँ र तिहारको बीचमा आयोजना हुँदैछ । चाडपर्वको समयमै प्रतियोगिता सञ्चालन हुन लागेकाले दर्शकको उपस्थितिमा केही प्रभाव पर्न सक्ने आँकलन गरिएको छ । तर, नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षण र बलियो समर्थकका कारण मैदानमा दर्शकको उत्साहमा कमी नआउने आयोजकको अपेक्षा छ । प्रतियोगिताको मिति निर्धारण गर्दा अन्तर्राष्ट्रिय क्रिकेटको तालिका, विश्वभर सञ्चालन हुने अन्य फ्रेन्चाइज लिग तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको क्यानले जनाएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता र फ्रेन्चाइज लिगको व्यस्त तालिकाबीच विदेशी खेलाडीको सहभागिता सुनिश्चित गर्न उपयुक्त समय छनोट गरिएको क्यानको भनाइ छ ।
दशैँ-तिहारको बीचमा प्रतियोगिता आयोजना हुँदा चाडपर्व मनाउन घर जाने दर्शक तथा समर्थकको संख्या केही प्रभावित हुन सक्ने भए पनि लामो बिदाका कारण परिवारसहित क्रिकेट हेर्न मैदान पुग्ने दर्शकको संख्या उल्लेख्य हुने अपेक्षा पनि गरिएको छ ।
चर्चित विदेशी खेलाडीको आकर्षण
एनपिएलको तेस्रो संस्करणका लागि सहभागी टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रमलाई तीव्रता दिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा परिचित तथा चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको स्तरसँगै दर्शकको आकर्षणसमेत बढाउने अपेक्षा गरिएको छ । टेलिभिजन तथा डिजिटल माध्यमबाट खेल हेर्दै आएका चर्चित अन्तर्राष्ट्रिय खेलाडीलाई कीर्तिपुरस्थित मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले नेपाली क्रिकेट समर्थकमा थप उत्साह पैदा गर्ने आयोजकको विश्वास छ ।
विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीले अन्तर्राष्ट्रियस्तरका खेलाडीसँगै खेल्ने र उनीहरूबाट अनुभव हासिल गर्ने अवसरसमेत पाउनेछन् । यसले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर उकास्न तथा युवा खेलाडीलाई अन्तर्राष्ट्रिय वातावरणसँग अभ्यस्त गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनपिएललाई केवल घरेलु फ्रेन्चाइज प्रतियोगिताका रूपमा नभई नेपाली क्रिकेटको व्यावसायिक र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने माध्यमका रूपमा समेत हेरिएको छ । विदेशी खेलाडी, प्रशिक्षक तथा प्राविधिक जनशक्तिको सहभागिताले प्रतियोगिताको दायरा थप फराकिलो बनाउने विश्वास गरिएको छ ।
मैदानमै बढ्दो क्रिकेट क्रेज
पछिल्ला वर्षमा नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण उल्लेख्य रूपमा बढेको छ । राष्ट्रिय टोलीका खेलदेखि घरेलु प्रतियोगितासम्म कीर्तिपुर मैदानमा दर्शकको बाक्लो उपस्थिति देखिँदै आएको छ । यही बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर एनपिएलका खेलमा दर्शक व्यवस्थापनलाई चुनौतीका रूपमा लिइएको छ ।
एनपिएलका अघिल्ला संस्करणमा टिकट बिक्रीदेखि प्रवेश, बसाइ, खानेपानी, शौचालय तथा खेल सकिएपछि बाहिरिने क्रममा समेत दर्शकले विभिन्न समस्या भोगेका थिए । यसपटक ती समस्याबाट पाठ सिक्दै व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको क्यानको भनाइ छ ।
दर्शकका लागि सहज वातावरण निर्माण गर्न सकिएमा मैदानमा उपस्थित हुने दर्शकको अनुभव सकारात्मक बन्ने मात्र नभई एनपिएलको समग्र ब्राण्ड मूल्यसमेत बढ्ने अपेक्षा गरिएको छ । त्यसैले यसपटक खेलको गुणस्तरसँगै मैदानभित्र र बाहिरको व्यवस्थापनलाई पनि प्रतियोगिताको महत्त्वपूर्ण पक्षका रूपमा लिइएको छ ।
एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगिताका लागि सहभागी टोलीहरूले खेलाडी छनोट तथा अनुबन्ध प्रक्रिया अघि बढाइरहेका छन् भने क्यानले प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारीलाई अन्तिम रूप दिइरहेको छ ।







उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब