काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूसँग जोडिएको आर्थिक अनियमितता वा गैरकानुनी कामको प्रमाण भए पक्राउ गरेर देखाउन नेपाल प्रहरीलाई चुनौती दिनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले आफूमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न चुनौती दिनुभएको हो ।
उहाँले आफूसँग जोडिएका कुनै गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण भए छानबिन गरी सार्वजनिक गर्न आग्रह गर्नुभयो । आफू छानबिनबाट नभाग्ने र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको उहाँले बताउनुभयो ।
“मेरो चुनौती सीआईबीलाई पनि छ । यदि मसँग जोडिएका विषयमा कुनै गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण छ भने निष्पक्ष रूपमा छानबिन गरेर सार्वजनिक गरियोस्,” उहाँले भन्नुभयो ।
अनुसन्धानका नाममा व्यक्तिलाई धम्क्याउने, निजी नम्बरबाट फोन गरेर बोलाउने वा दबाब दिने काम भएको भए त्यसबारे पनि छानबिन हुनुपर्ने उहाँको भनाइ थियो ।
सुनारले प्रहरी अनुसन्धान निष्पक्ष, पारदर्शी र कानूनसम्मत हुनुपर्ने बताउँदै प्रमाण भए कारबाही गर्न र प्रमाण नभए आरोप तथा दबाबको राजनीति बन्द गर्न आग्रह गर्नुभयो ।
“म छानबिनबाट भाग्ने होइन, कानुनी प्रक्रियाको सामना गर्न तयार छु । प्रमाण छ भने कारबाही गरियोस्, प्रमाण छैन भने आरोप र दबाबको राजनीति बन्द गरियोस्,” उहाँले भन्नुभयो ।
प्रहरी संगठनभित्रैबाट गैरकानुनी काम भएको प्रमाण भेटिए त्यसमा पनि निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने बताउँदै सुनारले राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु सबैको जिम्मेवारी भएको बताउनुभयो ।





सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?