विषय प्रवेश
विशेष महाधिवेशनको म्यान्डेट अनुरूपको १५औं महाधिवेशन हालै चालु अवस्थामा छ । म्याग्दी कांग्रेसका तर्फबाट योग्यतम ठानिएका प्रतिनिधि साथीहरू हाल काठमाडौंमै हुनुहुन्छ । सोही प्रयोजनका लागि म्याग्दी कांग्रेसले केही दिनअघि सम्पन्न गरेको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया, प्रदेशक्षेत्र, पालिका तथा वडा अधिवेशनले थुप्रै नयाँ तरंग छरेको छ ।
अचम्मैसँग टीकाटालो गरियो रे, पुराना सिध्याउने खेल :
कांग्रेसको सबैभन्दा राम्रो पक्ष यो प्रजातान्त्रिक पार्टी हो । यहाँ सद्नियतका साथ विरोधका आवाज उठाउन पाइन्छ । विरोधका आवाजले नेतृत्व वा सरोकारवालालाई खराब बाटोमा जानबाट बचाउने र अझै राम्रो मार्गमा अग्रसर हुन प्रेरित गर्दछ । तसर्थ असल नियतले उठाइएका सामान्य असहमति वा आलोचनालाई लिएर सामान्य शिष्टाचार नाघेर मर्यादाहिन गाली गलौजमा उत्रनु कांग्रेसको परम्पराविपरीत हुन्छ । पार्टीलाई गलत दिशातर्फ लैजाने काम नहोस् । यसको निष्ठा, आस्था र पहिचानमा कुनै पनि खालको हिलो नछ्यापियोस् भन्दै गर्दा भ्रम सिर्जना गर्ने, सामान्य शिष्टाचार र मर्यादा नाघेर गाली गलौजमा उत्रने कामहरू पक्कै हुनेछन् ।
पुरानालाई सिध्याउने खेल
जिल्लाको अवस्था नियालेर हेर्दा पञ्चारयतकालदेखि माओवादी आतंगसम्म विभिन्न हण्डर र यातना खाएर बसेको परिवारका सदस्य मुक्तमान केसीलाई मंगलामा जरै काटेर पल्टाउने काम गरियो । कांग्रेसको पुरानो विरासत बोकेका डेकबहादुर बानियाँका छोरा गोपाल बानियाँलाई दरखास्त झिक्न लाएर अर्का कुनै आयातितलाई खस आर्यतर्फको महाधिवेशन प्रतिनिधि बनाइएछ । कांग्रेसको न्यूनतम सैद्धान्तिक बहस गर्नसक्ने अजयमिलन श्रेष्ठ, ध्रुवराज कार्की, दुर्गाराम सुवेदीहरूलाई घोक्रेठ्याक लगाइयो । पुराना कांग्रेसहरू खिम पुर्जा, जितेन्द्र पुन, प्रताप पुनको नामोनिशाना मेटाइयो । पञ्चवीर गर्बुजा, भोकबहादुर पुन र स्वर्गीय जगतमोहन पुनका सन्ततिमाथि अपमान गरियो । रातदिन पार्टी अफिस धाएर क्लर्कको काम धानीदिने क्या.मीनबहादुर कार्कीजस्तै कामकाजीहरूलाई देख्नै सकिएन र अझै सञ्जालमा अपमानित गरिँदैछ । जोसँग सोच, शैली, विचार वा कार्यविधि नै छैन, छ भने घृणा, अविश्वास, आशंका वा संकोच भएकालाई नेतृत्व दिने र प्रतिनिधि चयन गरियो । केही अग्रजहरू फड्के किनाराको साक्षी बसिदिएर ल्याप्चेसमेत ठोकिदिने काम भयो । प्रतिस्पर्धात्मक प्रजातान्त्रिक प्रणालीमाथि ठाडै चुनौती दिइयो ।
पुराना नेता सूर्यप्रसाद राजातिर लागौं या बीपीतिर भन्नेमा अल्मलिइरहेका थिए । यसै प्रसंगमा वीरेन्द्रभक्त श्रेष्ठले सूर्यप्रसादलाई, ‘तपाईं यता जाऊँ कि उता जाऊँ भनेर अल्मलिइरहनुभयो भने कुनै सुन्दरी युवतीले राम्रो पोइ खोज्दा ड्राइभर फेला परेजस्तो होला, भन्दै सचेत तुल्याएका थिए । अहिले पनि निष्ठावान् कार्यकर्ता सूर्यप्रसाद जसरी नै अल्मलिइरहेका छन् ।
अधिवेशनको अवस्था हेर्दा
वडा तहदेखि जिल्ला तहसम्मको गतिविधि हेर्दा केही समयअघि कांग्रेस बनेका वा बनाइएका महानुभावको खटनपटन वा फूर्तिफार्ती अचाक्ली नै देख्न पाइयो । पुरानाहरूले तिनैका अघिल्तिर आफ्नो निरीहता प्रदर्शन गरेको देखियो । तिनै मौसमी कांग्रेसी महानुभावको खटनपटन र निर्देशानुसार पदाधिकारी वा सदस्य छानिए । विभिन्न समूहसमेतबाट छनौट हुने महाधिवेशन प्रतिनिधिहरूले उनैको इशारा अनुसारको पदमा आशिर्वाद प्राप्त गर्नसके । जोजो तिनको नजरमा पर्न सकेनन् तीती व्यक्तिहरू अँध्यारो अनुहार र अमिलो मन लिएर अधिवेशन स्थलबाट बाहिरिन पुगे । लाग्छ यस्तो संगीन घडीमा इतिहासमा कांग्रेसको धिपधिपे दियो कुरेर बस्नेहरूमाथिको अत्यन्त ठूलो अपमान थियो ।
टीकामात्रै लगाइयो वा खरिदबिक्री पनि गरियो भन्नेमा द्विविधा
म्याग्दी जिल्लामा वर्षौंदेखि नटेकेका, काठमाडौंमै विभिन्न खाले धन्दा चलाएर बसेका अराजनीतिक व्यक्तित्वको निकै ठूलो संख्यालाई यसपालि म्याग्दीमा देख्न पाइयो । विभिन्न धन्दामा संलग्न रहेका तर नेपाली कांग्रेसलाई विश्रामस्थल वा मपाइँत्व बेच्ने आधार बनाउन चाहनेहरूको अभिष्ट यसपालि राम्रैसँग पूरा भएको देखियो । निष्ठा र आस्थाविहीनले पुरानालाई निस्तेज तुल्याइदिए । कांग्रेसको बारेमा सामान्य विचारसम्म ओकल्न नसक्नेहरूले जिल्लाको प्रतिनिधित्व गरेर काठमाडौंमा राम्रै आधार प्राप्त गर्न सके ।
सबैभन्दा ठूलो योग्यता
केही दशकयतादेखि म्याग्दी कांग्रेसको डाडुपुन्यु सञ्चालन गर्न तिनैले पाएका छन् । जसले आफ्नो योग्यताको बलमा विद्वान् भनाउँदाहरूलाई किनारा लगाइदिन्छ वा खल्तीमा हालेर डुलाउनसक्ने क्षमता राख्दछ, कुनै निष्ठा, आदर्श, चेत वा चिन्तनबिनाकालाई म्याग्दी कांग्रेसको नेतृत्वका लागि उचित र उपयुक्त ठानियो । मर्यादाहीन शब्द जसले बोल्न सक्दैन ऊ नेतृत्वका लागि योग्य हुनसक्दैन । तल्लोस्तरको गालीगलौज वा खप्की खाएरै भए पनि निष्ठावान कांग्रेसहरू कांग्रेसमा रहिरहन बाध्य वा विवश छन् । यस्तो नेतृत्वसँग वैचारिक मुकाबिला वा सैद्धान्तिक प्रशिक्षण वा विवेकको गुञ्जाय यस हुँदैन । कांग्रेस रूपान्तरणको कुनै प्रयास विगतमा भएन ।
गोरु कुट्ने तर छाडा साँढे पुज्ने प्रवृत्ति
खेतीबाली उब्जाउन, धर्ती चिर्न प्रयोग हुने पौरखी गोरुहरूलाई हामी कुट्छांँ र पुच्छर निमोठ्छौं । त्यही गोरु कुट्ने संस्कारबाट हुर्किएका हामी म्याग्देलीहरूले कुनै मठ वा शिवालयमा डामेर छाडिएको साँढेलाई भने शिवजीकै बहानको नाममा पूजा गर्दछौं । काठमाडौंमा बसेर अनेकौं धन्दा चलाउनेहरूलाई महाधिवेशन प्रतिनिधिको जलप लगाइदिएर शुद्ध पार्ने काम गरेका छौं । यिनले निष्ठावान कांग्रेस कार्यकर्ताहरूले जेनतेन जोगाइराखेको बालीनाली ध्वस्त तुल्याउने कामबाहेक कुनै संरक्षण दिने छैनन् ।
राम्रो खोज्दा ड्राइभर फेला पर्यो
सूर्यप्रसाद उपाध्याय कांग्रेसभित्रका बौद्धिक पात्र मानिन्थे । उनलाई महामानव बीपी नजिकबाट रुचाउँथे तर तिनै सूर्यप्रसाद उपाध्याय सन्त नेता कृष्णप्रसाद भट्टराईबाट अत्यन्त तिरष्कृत थिए । यो मानिस बेइमानी छ यसले ऐन मौकामा घात गर्नसक्छ । तसर्थ यसलाई कांग्रेसमा स्थान दिइनु हुँदैन भन्नेमा किशुनजीको एकोहोरो अड्डी रह्यो । २०३६ सालको जनमतसंग्रहपछि बीपीले सूर्यप्रसादलाई महत्त्वपूर्ण जिम्मेवारी लिन आग्रह गरे तर सूर्यप्रसाद राजातिर लागौं या बीपीतिर भन्नेमा अल्मलिइरहेका थिए । यसै प्रसंगमा वीरेन्द्रभक्त श्रेष्ठले सूर्यप्रसादलाई, ‘तपाईं यता जाऊँ कि उता जाऊँ भनेर अल्मलिइरहनुभयो भने कुनै सुन्दरी युवतीले राम्रो पोइँ खोज्दा ड्राइभर फेला परेजस्तो होला’, भन्दै सचेत तुल्याएका थिए । अहिले पनि निष्ठावान् कार्यकर्ता सूर्यप्रसाद जसरी अल्मलिइरहेका छन् ।
मौका पर्दा उपियाँ बन्नेले पाठ सिकाउने ?
केही मौसमी कांग्रेसहरूले म्याग्दी कांग्रेस कब्जा गरेको सबैलाई थाहा छ । हाल कांग्रेस कब्जा गर्नेहरूले अरूलाई सिकाउने, तौलने, विभिन्न आधार वा निराधार घटनासँग जोडेर चोक वा चौतारी वा चिया पसलमा फलाक्ने गरेको परिघटनाले प्रश्रय पाउँदै गरेको छ । यसले गर्दा कांग्रेसभित्रको सिस्टम नै विकृत भइसकेको छ । राजधानीमा बस्ने र पैसा कमाउने नेताहरूको हाम्रो जिल्लामा तँछाडमछाड चल्दैआएको छ ।
तल्लोस्तरबाट हुने यिनै घटनाहरूले केन्द्रमा प्रभाव छाड्ने गरेको छ । ताकि कवि वा कलाकार वा राइफलधारीलाई नेता बनाउने, मेनपावर मालिकलाई राजदूत बनाउने, मेडिकल डाक्टरलाई पुलिसको आइजी बनाउने अभ्यास नै बसिसकेको छ । म्याग्दीमा आयातितहरूले पनि यस्तै सपना देखेको हुनुपर्छ । उक्त प्रवृत्तिलाई बेलैमा चिन्न वा ठेगान लगाउन नसक्ने हो भने भावी पुस्ताले हामीलाई के भन्ला ?
हामी कुनै न कुनै निष्ठा, आदर्श र सिद्धान्त बोकेरै यदि कांग्रेस भएका हौं भने सयौं मुर्खहरूको बथान वा भिडमा घुस्रेर तिनैको महिमागान वा जयजयकार गर्ने प्रवृत्तिबाट अलग्गिन सिक्नुपर्दछ । बौद्धिकता वा अध्ययनशीलताको लेससम्म नभएका केबल आफूभन्दा जडहरूको बथान जम्मा गरेर वैचारिक मन्थन गर्नेलाई धम्क्याएर, आवाजविहीन तुल्याएर निल्नु न ओकेल्नुको अवस्थामा पुर्याइएको कांग्रेसले प्रगति गर्न सक्नेछैन ।
स्तरहीन बोलीले दिने पीडा
राजनीतिकर्मीसँग वादविवाद, क्षमता, विरोध वा समर्थन सबैखाले व्यवहारलाई आत्मसात गर्नसक्ने योग्यता अवश्य रहन्छ । राजनीति पारस्परिक सम्वादमा आधारित हुन्छ । वादविवाद, सम्वाद वा विरोधले राजनीतिज्ञमा कुनै खालको दुःख वा दिग्दारी हुँदैन तर जुनबेला अराजक वा स्तरहीनसँग राजनीतिमा सहयात्रा र मुकाबिला गर्नुपर्ने हुन्छ त्यसभन्दा ठूलो पीडा अर्को हुँदैन । सन् १९८४ मा भारतीय कांग्रेस पार्टीको तर्फबाट उत्तर प्रदेशअन्तर्गतको प्रयागराज निर्वाचन क्षेत्रबाट फिल्म अभिनेता अमिताभ बच्चनलाई लोकसभा सदस्य पदमा निर्वाचन लडाइयो ।
उनका प्रतद्वन्द्वी त्यहाँका पूर्वमुख्यमन्त्री एवं अनुभवी राजनीतिज्ञ हेमवती नन्दन बहुगुणा थिए । लाखौं मतान्तरले अमिताभले चुनाव जिते । राजनीतिक दर्शनबाट विल्कुलै बाहिर रहेका अभिनेतासँग चुनावमा पराजित हुनुपर्दा बहुगुणाले अराजनीतिक मानिससँगको प्रतिस्पर्धा र हारको पीडालाई जीवनमा बिर्सन नसकिने सबैभन्दा ठूलो पीडा भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । यस्तो स्थितिबाट कांग्रेसलाई तत्काल मुक्त नगर्ने हो भने कांग्रेस एकादेशको कथा सावित हुनेछ ।
अब पनि तिनैलाई नेतृत्व
हामी अब निदाएर बस्ने हो भने म्याग्दी कांग्रेसको नेतृत्व तिनैमा जाने सुनिश्चित भइसकेको छ । यसमध्ये को नेता र को उपनेता भन्नेमात्रै फरक हो । यो माहौललाई तत्काल रोक्न हाम्रो हड्डीमा मासी र पित्तमा पानी कति छ भनेर परिस्थितिले मूल्यांकन गरिरहेको छ । यस्तैलाई नेता बनाएर तिनको रजाइँ कहिलेसम्म चल्ने हो ?
अन्त्यमा
कुनै समारोह न कुनै सैद्धान्तिक, नीतिगत छलफल न प्रतिवेदन न त अनुमोदन यस्तो स्थितिमा गरिएको वडा, पालिका अधिवेशन वा जिल्लास्तरीय भेलाले केही थान व्यक्तिलाई आत्मरतिमा रमाउने बाटो अवश्य खोलिदिएको छ । महामुर्खको आदेशानुसार बेनी बजारमा छिरोलेर राखिएका त्यस्ता व्यक्तिलाई मासुभात र वियरको रौनकले मनोरञ्जन दिएकै छ तर यसले कहिल्यै संगठनलाई बलियो बनाउने छैन । तिनको आदेश तामेलीमा खटिएकाहरूको व्यावसायिक मुनाफा र स्वार्थको चेतमा गरिएको अधिवेशनले पार्टीको संगठनलाई थप भग्नावशेषमा रूपान्तरण गरिदिनेछ ।
(लेखक भगवती पौडेल नेपाली कांग्रेस म्याग्दीको क्रियाशील सदस्य हुनुहुन्छ ।)







मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र