काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक संस्कृतिमा क्षय हुँदै गएको भन्दै त्यसलाई सुधार्ने मुख्य अभिभारा कांग्रेसको रहेको बताउनुभएको छ।
काठमाडौंको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै उहाँले लोकतान्त्रिक संस्कृतिलाई युगअनुकूल रूपान्तरण गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो।
उपसभापति शर्माले प्रस्तुत गर्नुभएको ‘लोकतान्त्रिक संस्कृतिमा आएको क्षय र युगअनुकूल रूपान्तरण’ सम्बन्धी प्रतिवेदन बन्दसत्रले पारित गरेको छ।
शर्माले कांग्रेसभित्र गुनासो र निराशाभन्दा उत्तरदायित्व, संस्कार, विश्वास र आशाको राजनीतिक संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो।
‘हामी उत्तरदायित्व भएको कांग्रेस बनाउन चाहन्छौँ, गुनासो भएको होइन । हामी संस्कार भएको कांग्रेस बनाउन चाहन्छौँ, आवेग भएको होइन । हामी विश्वास आफूभित्र भएको कांग्रेस बनाउन चाहन्छौँ, निराश कांग्रेस होइन,’ उहाँले भन्नुभयो, ‘निराश मान्छेले देश बनाउँदैन, निराश मान्छेहरूको देश दुनियाँमा कहीँ बनेको छैन।’
महाधिवेशनबाट जुनसुकै व्यक्ति जुनसुकै पदमा निर्वाचित भए पनि विजयीलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउने संस्कार विकास गर्न उहाँले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो।
‘हामी फर्केर जाँदै गर्दा जसले जिते पनि मेरो साथी विजयी भएको छ, उसलाई सहयोग गरिराखेर बलियो कांग्रेस बनाउँछौँ भन्ने सोचको संस्कारले मात्रै कांग्रेस बलियो बन्छ,’ उहाँले भन्नुभयो।
शर्माले आशा, विश्वास र भरोसासहित अघि बढ्ने कांग्रेसले मात्रै पार्टीलाई बलियो बनाउन र देश निर्माणमा योगदान दिन सक्ने बताउनुभयो।
लोकतान्त्रिक संस्कृतिमा आएको क्षयलाई सुधार गर्दै समाजका विभिन्न तहसम्म लोकतान्त्रिक संस्कारको विकास गर्नु कांग्रेसको दायित्व भएको उहाँको भनाइ थियो।
उहाँले पार्टीको आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजान सबै तहका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो।






आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना
प्रश्न उठाएर उदाएका गगन जवाफ
संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,