नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गतको मतदान प्रक्रिया तोकिएकै समयमा सम्पन्न भएमा शायद आज सकिन्छ । नयाँ सिर्जना गरिएको पद वरिष्ठ उपसभापति र महिला उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् भने मतदान मिति सारिएन भने अन्य पदका लागि मतदान गर्ने कार्य आज दिनभर हुनेछ । सभापति पदमा समेत गगन थापा निर्विरोध निर्वाचित हुने अनुमान धेरैले गरेका थिए तर नेपाली कांग्रेसको लोकतान्त्रिक आचरण बमोजिम नै किशोरसिंह राठौर र श्याम खड्गीले सभापतिमा उम्मेदवारी दिएबाट गगन सभापति हुनका लागि केही समय पर्खिनुपर्ने भएको छ ।
यो महाधिवेशन नेपाली कांग्रेसको जीवनमरणको प्रश्नका रूपमा उभिएको महाधिवेशन हो । नेपाली कांग्रेसका सदस्यहरूका लागि मात्रै चासोका महाधिवेशन यो होइन । अझ भनौं, विशेष महाधिवेशन गरेर आएका र त्यसलाई समर्थन गर्दै एकबद्ध भएका कांग्रेसीहरूका लागि मात्रै यो महाधिवेशन होइन । यो महाधिवेशन त समग्र लोकतन्त्रवादीहरूको अस्तित्व कायम गर्नसक्ने कि नसक्ने भन्ने प्रश्नको जवाफ बोकेर सम्पन्न हुनुपर्ने महाधिवेशन हो । एक थान सभापति, एक थान वरिष्ठ, तीन थान उपसभापति र तीन थान महामन्त्री सहितका पदाधिकारी तथा सदस्यहरू निर्वाचित गर्नुमात्रै यो महाधिवेशनको लक्ष्य हुनसक्दैन । कस्ता पदाधिकारी र कस्ता सदस्यहरू निर्वाचित गरेर महाधिवेशन सकियो भन्ने कुराले नै महाधिवेशनको सफलता र असफलतालाई उजागर गर्दछ ।
पन्ध्रौं महाधिवेशनबाट निर्वाचित भएकाहरूले पछिल्ला दशकका पुरानै नेताहरूले जस्तै आफूलाई राजा र सर्वसाधारण तथा कांग्रेसका सदस्यहरूलाई रैती मान्ने प्रचलनलाई निरन्तरता दिए भने यो महाधिवेशन हुनुको कुनै अर्थ रहँदैन । कांग्रेसका पदाधिकारी तथा सदस्यहरू ठूलाठूला होटल र महँगा रेष्टुरेण्टहरूमा मात्रै भेटिने तर गाउँघरतिर कहिल्यै नदेखिने भए भने पनि प्रचण्डले भनेजस्तै गरिएको यो क्रमभंगताको कुनै माने छैन ।
महाधिवेशनको लक्ष्य पदाधिकारी तथा सदस्यहरू निर्वाचित गर्नुमात्रै पनि होइन । ठूलो संकटपश्चात् लोकतन्त्रवादी तथा कांग्रेसीहरूलाई त्राण दिएको विशेष महाधिवेशन पछिको महाधिवेशनले सारा संकटलाई सम्बोधन गर्नसक्ने नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न हुनु अनिवार्य छ । पार्टीको आगामी वैचारिक दिशा र केही कार्यक्रमका बारेमा त बन्दसत्रहरूमा कुरा उठेको र छलफल गरिएको समाचार आए तर आशा गरिए अनुरूपका बहसहरू हुनसकेको भने पाइएन । नीतिबहसमा भन्दा निर्वाचन कार्यक्रममा बढी केन्द्रित हुने पुरानै बानीलाई नयाँ स्वरूप धारण गर्न खोजेको कांग्रेसले बदल्न सकेको देखिएन ।
यद्यपि पदाधिकारी तथा सदस्यहरूको चुनाव हुँदैछ र यसले सार्थक परिणाम दिनसके आमसमर्थकहरूमा आशा जगाउन सक्दछ । पुराना पदाधिकारी र सदस्यहरूको आनीबानी, रहनसहन, बोली-व्यवहार र राजनीतिक चरित्रलाई नै अँगाल्ने पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएको देखियो भने अब केही हुन्छ भनेर आशावादी बनेकाहरूको विश्वासमा तुषारापात हुन्छ । त्यसभन्दा बिल्कुल भिन्न नतिजा देखियो र देश, नागरिक र पार्टीको दशा र दिशामा चिन्तित हुँदै इमानदारितापूर्ण राजनीतिमार्फत लोकप्रियताको सिँढी चढ्न उद्यत्हरूको विजय हुनपुगे कांग्रेस सच्चिएको र सुध्रिएको सन्देश प्रवाह हुनसक्दछ । कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई कुन दिशा प्रदान गरे भन्ने अबका केही दिनमा स्पष्ट हुने नै छ ।
पन्ध्रौं महाधिवेशनबाट निर्वाचित भएकाहरूले पछिल्ला दशकका पुरानै नेताहरूले जस्तै आफूलाई राजा र सर्वसाधारण तथा कांग्रेसका सदस्यहरूलाई रैती मान्ने प्रचलनलाई निरन्तरता दिए भने यो महाधिवेशन हुनुको कुनै अर्थ रहँदैन । कांग्रेसका पदाधिकारी तथा सदस्य ठूलाठूला होटल र महँगा रेष्टुरेण्टहरूमा मात्रै भेटिने तर गाउँघरतिर कहिल्यै नदेखिने भए भने पनि प्रचण्डले भनेजस्तै गरिएको यो क्रमभंगताको कुनै माने छैन । ठूला भनिएका नेताहरू ठेकेदार, बिचौलिया र व्यापारील र भ्रष्ट भनेर कहलिएकाहरूका माझमा मात्रै देखिने र पार्टीका लागि जीवन समर्पण गरेका इमानदार सदस्यहरूका लागि विगतमा नेतृत्वमा रहेका नेताहरू जस्तै दुरुह रहे भने पनि कांग्रेसको यो महाधिवेशन हुनु र नहुनुका बीचमा कुनै फरक हुँदैन ।
यद्यपि यो महाधिवेशनले कांग्रेसको लोकतान्त्रिक चरित्रलाई प्रदर्शन गरेको छ । गगन र विश्वप्रकाशहरूकै नेतृत्वमा आगामी चार वर्ष कांग्रेस अघि बढ्छ भन्ने निश्चितप्रायः जस्तै देखिए पनि सभापति र वरिष्ठ उपसभापति, महामन्त्री आदि पदमा उम्मेदवारी दिन कसैलाई निषेध गरिएन । किशोर राठौरले उम्मेदवारी फिर्ता नलिएकै भए पनि श्याम खड्गीले सभापतिमै उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेलाई भोलिका दिनमा पार्टीमा कुनै ठाउँ नदिने जस्ता घोषणा गरिएको त छैन नै बरू यस्ता प्रक्रियाले लोकतन्त्रलाई मजबुत बनाउने बताइएको छ । युवा, महिला, योद्धा परिवार आदिका लागि सिट सुरक्षण गरेर पार्टीलाई सुन्दर समावेशी बनाउने प्रयत्न पनि प्रशंसनीय छ ।
किशोर राठौरले उम्मेदवारी दिएकै भए पनि दिनुलाई कसैले पनि गगनको विरोधका रूपमा सम्झिनु हुँदैन । राठौरको उम्मेदवारीलाई विशेष महाधिवेशनदेखिका प्रक्रियाहरूमा उनको असहमति रहेको थियो भन्ने ठान्नु पनि हुँदैन । खड्गीको उम्मेदवारीमा के कस्ता मनसाय रहेका छन् भन्ने उनैले जानेका होलान् वा उनलाई उम्मेदवारी प्रस्तुत गर्न लगाउनेहरूलाई थाहा होला तर नेपाली कांग्रेसमा लामो जीवन व्यतीत गरेका र कांग्रेसको सहमहामन्त्रीसम्मको जिम्मेवारीमा रही कार्य गरिसकेका राठौरको उम्मेदवारी अन्त्यसम्म कायम रहन सकेन । यो उनले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई सबल बनाउन खेलेको भूमिका भनी सबैले सम्झनुपर्दछ ।
अहिले सम्पन्न भइरहेको आधिकारिक कांग्रेसको महाधिवेशन नयाँ जोस्, नयाँ उत्साह र पार्टी नवनिर्माण गर्ने उद्घोष सहित सभापति र उपसभापति भएका गगन, विश्वहरू जस्ता नेताहरूको नेतृत्वमा सम्पन्न हुनलागेको महाधिवेशन हो । नेपाली कांग्रेसका पछाडि २.० थपेर वर्तमान आधुनिकीकरणका एआई देखि सम्पूर्ण चुनौतीहरूको सामना गर्दै कांग्रेसलाई मुलुकका राजनीतिक दलहरूमध्ये सबैभन्दा अब्बल सिद्ध गर्ने अठोटका साथ आरम्भ गरिएको महाधिवेशन हो । कांग्रेस अप टु डेट पार्टीका रूपमा देखिने आशा गरिएको थियो तर महाधिवेशनमा देखिएका कमजोरीहरूले भने लोकतन्त्रवादीलाई भने खल्लो बनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सधैं पुराना राजनीतिक दलहरूलाई समयअनुसार चल्न नसकेको आरोप लगाउने गर्दथ्यो । पदलोलुप, आधुनिक विश्व परिवेशसंग अपरिचित र अव्यवस्थित नेताहरूले सञ्चानल गरेका भनी टिप्पणी हुने गर्दथे तर रास्वपाकै महाधिवेशन अस्तव्यस्त भएपछि यो पार्टी पनि यस्ता सवालहरूमा मौन छ । तीन दिनका लागि भनिएको महाधिवेशन हप्ता दिनमा पनि सम्पन्न गर्न रास्वपालाई हम्मेहम्मे परेको थियो । पार्टीको नीति, विचार र सिद्धान्तमा छलफल गर्ने र एउटा ठोस निर्णयमा पुग्ने भन्ने कुरा त निकै परको रह्यो । अहिले नेपाली कांग्रेसको महाधिवेशन पनि ठ्याक्कै त्यस्तै अवस्थामा पुग्ने लक्षण देखिँदा नेपालका सबै नेताहरू व्यवस्थापनका पक्षमा कमजोर रहेछन् भन्ने प्रमाणित हुनथालेको छ ।
उम्मेदवारी दर्ता नै अस्तव्यस्त हुनु त्यति सुहाउने कुरा होइन । धेरै क्लस्टर भएका कारण समयमै उम्मेदवारको नाम प्रकाशन गर्न सकिएन भन्न हुन्थेन । क्लस्टर अनुसार सोझै कम्प्युटर प्रणालीमा दर्ता गर्ने र दर्ता गरिएका नामहरू केन्द्रीय सर्भरमा जाने व्यवस्था मिलाएको भए जति ठाउँबाट दर्ता गरे पनि समस्या हुन्थेन । जे भयो त्यसबाट पाठ सिकेर मतदान प्रक्रियालाई व्यवस्थित बनाउन सक्नैपर्दछ । नीतिका बारेमा केही छलफल भए पनि पछिल्ला बन्दसत्रहरूमा कम उपस्थिति हुनुमा खाना खाने र निर्वाचन प्रक्रिया अगाडि बढाउने स्थान अलग अलग हुनु एक कारण देखियो । यस्ता कुराहरूमा अब ख्याल पक्कै गरिनेछ ।
मनोनित गर्ने कुरामा भावी सभापतिले ध्यान दिनैपर्दछ । आफूसँग प्रतिस्पर्धा गरेकाले तीस चालीस प्रतिशत मत पाएको छ भने सबैलाई समेटेको प्रत्याभूति दिन पनि त्यस्ता उम्मेदवारलाई मनोनित गर्नु उपयुक्त हुन्छ । सय दुई सयदेखि दश बाह्र मत ल्याएकालाई पनि मनोनित गर्ने हो भने त्यसले योग्यता न स्योग्यता उम्मेदवारी दिने यस्तै विकृतिहरूलाई बढावा दिन्छ र भोलिका दिनमा थेगीनसक्नुहुन्छ ।
सबैभन्दा रोचक पक्ष त के देखिएको छ भने कांग्रेसको सदस्यता आजैमात्रै लिएकालाई आजै क्षेत्रीय प्रतिनिधि चाहियो र आजै महाधिवेशन प्रतिनिधि उसैलाई नभई नहुने चरित्रहरू व्यापक पाइए । महाधिवेशन प्रतिनिधि हुनेबित्तिकै केन्द्रमा उसैले प्रतिनिधित्व दाबी गरेका अनुहारहरू त थुप्रै नै देखिए । गगन र विश्वमा नेतृत्व आएको देखेर आफैंले पाइहाल्छु कि भन्दै महामन्त्री, उपसभापति जस्ता वरिष्ठ पदहरूमा होम्मिने नयाँ अनुहारहरू पनि हेर्न लायककै देखिन्छ । वडा तहको सदस्यमा उपयुक्त पात्रहरू केन्द्रमा उम्मेदवारी दिन कस्सिएको देख्दा अचम्म मान्नेहरू थुप्रै भेटिएका छन् । ३५ मुनिका युवाहरूलाई आरक्षण गरिएको सिटको कुरा भने बेग्लै हो ।
यसमा एउटा कारणले भूमिका खेलेको हुनसक्दछ । विगतमा सभापति, उपसभापति र महामन्त्री आदि वरिष्ठ पदहरूमा प्रतिस्पर्धा गरेका तर पराजित भएका सबैलाई सभापतिले सबैभन्दा पहिले मनोनित गरी केन्द्रमा ल्याउने परिपाटी थियो । उसले कति भोट पाएको थियो मतलब नगर्ने तर आफूप्रति असहमत भएकालाई मनोनित गरेको देखाएर आफ्नो उदारता प्रकट गरेको भान दिन सभापतिहरू यसो गर्दथे । त्यही प्रक्रिया अबका सभापतिले पनि गर्नेछन् भन्ने आशामा ठूला पदमा उम्मेदवारी दिने होड चलेको अनुमान गर्न सकिन्छ । यसैकारण उम्मेदवारहरूको लर्को टुँडिखेलदेखि सानेपासम्म पुगेको छ ।
मनोनित गर्ने कुरामा भावी सभापतिले ध्यान दिनैपर्दछ । आफूसँग प्रतिस्पर्धा गरेकाले तीस चालीस प्रतिशत मत पाएको छ भने सबैलाई समेटेको प्रत्याभूति दिन पनि त्यस्ता उम्मेदवारलाई मनोनित गर्नु उपयुक्त हुन्छ । सय दुई सयदेखि दश-बाह्र मत ल्याएकालाई पनि मनोनित गर्ने हो भने त्यसले योग्यता न स्योग्यता उम्मेदवारी दिने यस्तै विकृतिहरूलाई बढावा दिन्छ र भोलिका दिनमा थेगीनसक्नु हुन्छ । उम्मेदवारी दिएर पराजित भएपछि अर्को महाधिवेशनसम्म पर्खन सक्नुपर्दछ र नेतृत्वले पनि त्यसैमा जोड दिन आवश्यक हुन्छ । महाधिवेशनमा पराजित भई पुनः मनोनित हुन प्रयास गर्नु र मनोनित भई पदमा जानुभनेको आमनिर्वाचनमा पराजित भएपछि राष्ट्रिय सभामा जाने वरिष्ठ भनिएकाहरूको जस्तै लज्जास्पद कार्य हो भन्ने बुझ्नु पर्दछ । तीस प्रतिशत ल्याएकालाई मनोनित गरेर पार्टीका सबै अंगमा तीस प्रतिशतकै स्थायी भागबण्डा गर्ने पुरानो प्रचलनलाई नयाँ नेतृत्वले पनि अंगीकार गर्यो भने त्यो झन् प्रत्युत्पादक हुन्छ ।
जे होस्, मंसिरसम्म महाधिवेशन पर सार्ने सुविधा भए पनि कार्यकाल लम्ब्याउने नाममा महाधिवेशनको मिति सार्ने काम भएन । यसले पुरानो नेतृत्वभन्दा केही फरक देखाएको छ । महाधिवेशनमा कसैलाई गाली गरिएन र अवाञ्छित गतिविधि पनि भएनन् । चाहे जस्तो छिटो छरितो नभए पनि अनावश्यक लामो र पट्यार लाग्दो पनि भएको छैन । केन्द्रीय समिति १६८ बाट बढाएर २९७ पुर्याउनुलाई भने सबैले पचाउन सकेका छैनन् भन्ने कुरा गगन विश्वहरूले मनन् गर्नै पर्दछ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं