काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका कारण निजी क्षेत्र, उद्योग-व्यवसाय र समग्र अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको बताउनुभएको छ । संघीय संसद्को संसदीय विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा नेपालको वर्तमान परिस्थिति, विकासका चुनौती, हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा जलवायु न्यायका विषयमा छलफल गर्दै उहाँलेे जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि निजी क्षेत्रलाई पनि नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा प्रभावकारी रूपमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण उद्योग, व्यवसाय, पूर्वाधार तथा आपूर्ति प्रणालीमा ठूलो जोखिम बढेको भन्दै सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल तथा कानुनमन्त्री सोविता गौतमको उपस्थिति रहेको बैठकमा हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम, जलवायु न्यायको अवधारणा तथा भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती तथा पूर्वाधारमा पर्न सक्ने विपद्को जोखिमबारे छलफल भएको थियो ।
सो अवसरमा पूर्वाधार विकासमन्त्री लम्सालले सरकारले पूर्वाधार निर्माणमा नयाँ सोच र ढाँचामा काम गर्ने गरी तयारी गरिरहेको तथा खरिद प्रक्रिया थप सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नेपाल चीन सीमा नाका सञ्चालनका लागि चिनियाँ पक्षसँग निरन्तर संवाद र सहकार्य भइरहेको समेत बताउनुभयो । त्यस्तै सरकारले औद्योगिक पार्क, सेटेलाइट सिटी निर्माण तथा ट्रेडिङ हब सञ्चालन गर्न गृहकार्य गरिरहेको उहाँको भनाइ थियो । बैठकमा कानुनमन्त्री सोविता गौतमले विपद्सम्बन्धी विभिन्न कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले विपद्लाई केन्द्रमा राखेर आवश्यक कानुन निर्माण तथा कार्यान्वयन प्राथमिकतासाथ तत्काल अघि बढाउनुपर्ने बताउनुभयो । संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर र जलवायु न्यायका मुद्दा पूर्वाधार विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले जोखिमयुक्त क्षेत्रमा निर्माण हुने पूर्वाधारलाई जलवायु अनुकूल तथा दिगो बनाउनुपर्ने र नदी किनारका संवेदनशील बस्ती तथा समुदायको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
महासंघ अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तन र विपद्का कारण निजी क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले पनि जलवायु अनुकूल व्यावसायिक अभ्यास, हरित प्रविधि तथा दिगो उत्पादन प्रणालीमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो ।
बैठकमा नेपालको जलवायु जोखिमका विषय अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी ढंगले उठाउनुपर्ने धारणा व्यक्त भएको थियो । त्यस्तै भोटेकोशी-त्रिशूली करिडोरमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्को जोखिम बढिरहेको अवस्थामा अग्रिम सूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा नदीको प्राकृतिक बहावमा प्रतिकूल असर नपर्ने गरी जलविद्युत् तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्ने, प्राकृतिक स्रोतको अत्यधिक दोहन रोक्दै दिगो स्रोत व्यवस्थापनको नीति अवलम्बन गर्नुपर्ने तथा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइएको थियो ।
बैठकले जलवायु परिवर्तन, जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास र निजी क्षेत्रको भूमिकालाई एकीकृत रूपमा अघि बढाउनुपर्ने निष्कर्ष निकाल्दै जलवायु परिवर्तनबाट सिर्जित जोखिमलाई विकासको मूलधारमा समेट्दै सुरक्षित, दिगो र जलवायु अनुकूल पूर्वाधार निर्माण तथा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने विषय आगामी नीति तथा कार्यक्रमको महत्त्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिइएको छ ।







कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म