काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
महाधिवेशन प्रचारप्रसार समितिले बुधबार साँझ काठमाडौंको खुलामञ्चमा आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ४० रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर, उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र आफूले समेत उम्मेदवारी फिर्ता लिनुभएको छ। यस्तै, विभिन्न क्लस्टरतर्फ १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिने प्रक्रिया सकिएपछि केही समयमै अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी भइरहेको चालिसेले बताउनुभयो।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान ९ बजेदेखि मतदान हुने उहाँले जानकारी दिनुभयो। महाधिवेशनमा सहभागी ७ हजारभन्दा बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि उनीहरूको प्रतिनिधित्व र क्षेत्रका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको चालिसेले बताउनुभयो।
उहाँका अनुसार राष्ट्रिय सभा गृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान हुनेछ। प्रदेश, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिका लागि पनि छुट्टाछुट्टै व्यवस्था गरिएको छ।
चालिसेले यसपटकको महाधिवेशनमा ठूलो संख्यामा युवा पुस्ता उम्मेदवारीमा सहभागी भएको भन्दै कांग्रेसको जिम्मेवारी सम्हाल्न नयाँ पुस्ता तयार रहेको सन्देश दिएको बताउनुभयो।
“हजारौँको संख्यामा युवाहरू प्रतिस्पर्धामा आउनुभएको छ। पार्टीको जिम्मेवारीको बोझ आफ्नो काँधमा बोक्न युवा पुस्ता तयार भइसकेको सन्देश यसपटकको सहभागिताले स्पष्ट गरेको छ,” उहाँले भन्नुभयो।
यसअघि महाधिवेशनको बन्दसत्रबाट सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रस्तुत गरेका प्रस्ताव पारित भएको पनि उहाँले जानकारी दिनुभयो। ती प्रतिवेदनले आगामी चार वर्ष पार्टी अघि बढ्ने राजनीतिक तथा सांगठनिक दिशासमेत तय गरेको उहाँको भनाइ छ।
निर्वाचन समितिले मतदानसम्बन्धी कार्यतालिका सार्वजनिक गरिसकेको र अब कांग्रेस महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेको चालिसेले बताउनुभयो।






काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई
भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई
कानून निर्माणमा संसद कमजोर देखियो
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान
भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक