काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् । कांग्रेस सभापति पदमा श्यामकृष्ण खड्गी र गगनकुमार थापाको उम्मेदवारी छ । सभापतिमै उम्मेदवारी दिएका अर्का उम्मेदवार किशोरसिंह राठौरले भने फिर्ता लिइसक्नु भएको छ ।
खड्गीले पनि उम्मेदवारी फिर्ताको सहमति गरेको भन्दै चर्चा भएको थियो । यसै विषयमा सोध्दा उहाँले भन्नुभयो, ‘मलाई वार्तामा बसौँ भनेर प्रस्ताव आएको हो । तर, मैले मानिनँ । मेरो उम्मेदवारी कायमै छ, कायमै रहन्छ ।’
महाधिवेशनमा सहभागी प्रभावशाली मानिने अधिकांश नेताले उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिएका छन् । १४औँ महाधिवेशनमा उपसभापति निर्वाचित धनराज गुरुङ, उपसभापतिका प्रत्यासी डा चन्द्र भण्डारी, महामन्त्रीका प्रत्यासी डा मीनेन्द्र रिजाल उपसभापतिको उम्मेदवार बन्नुभयो । यस्तै, पूर्वसहमहामन्त्री फरमुल्लाह मन्सुर, जीवन परियार, केन्द्रीय सदस्यहरू विनोद चौधरी, दीपक गिरी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, मधु आचार्य, सीता गुरुङ, देवराज चालिसे, रञ्जित कर्ण, डा चन्द्रमोहन यादवले उपसभापतिमा उम्मेदवारी दिनुभएको छ ।
सभापति पदमा गगन थापा नै निर्वाचित हुने निश्चित हुँदा यसपछिको शक्तिशाली पद महामन्त्रीमा भने कडा प्रतिस्पर्धा हुने देखिएको छ । महामन्त्री पदमा खुलातर्फ दुई स्थानका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । यीमध्ये पाँच जनाबीच महाभिडन्त नै हुने देखिएको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । जसमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, नैनसिंह महर र सुनिल शर्माबीच कडा भिडन्त हुने देखिएको हो । गत पुसमा भएको विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे दोहोरिने दाउमा हुनुहुन्छ भने सहमहामन्त्री उदयशमशेर राणा पनि बढुवा हुने योजनामा हुनुहुन्छ ।
यसैगरी, केही वर्षअघि नै महामन्त्री पदमा उठ्ने घोषणा गर्दै देशका विभिन्न ठाउँ पुगेका नैनसिंह महर अर्का बलिया दाबेदार हुनुहुन्छ । नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै माउ पार्टी कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०७८ मा भएको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । यसैगरी, लामो समय भूगोलको राजनीति गरेका अमरसिंह पुनले पनि महामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ । यस्तै, शंकर तिवारी, अस्पताल सञ्चालक सुनिल शर्मा र सन्तोष उपाध्याय लगायतले पनि महामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिका अनुसार यसपटक महामन्त्री पदको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्ने छ । निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान १० बजेबाट सुरु हुनेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
कांग्रेसमा सबै गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेल लगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गर्नुभयो । ‘विशेष नविशेष, कोइराला-पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट’, थापाले भन्नुभयो ।
उहाँले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गर्नुभयो । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
थापाले यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गर्ने बताउनुभयो । उहाँले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताउनुभएको छ । सभापति थाफाले महाधिवेशन सकिएलगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने पनि बताउनुभयो ।
थापाले पार्टीमा लामो समय योगदान गरेका नेताहरू महाधिवेशनमा सहभागी नहुँदा आफूलाई नमीठो लागेको पनि बताउनुभएको छ । थापाले पूर्वसभापति शेरबहादुर देउवासहित महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टीको एकताका लागि फर्किन आग्रह गर्नुभयो । ‘नआउनुभएका नेतालाई आग्रह गर्छु । अझै दुई हात जोडेर आग्रह गर्छु । हामी सबैले मिलाएर बनाएको पार्टी हो । श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवाले पार्टी निर्माणमा योगदान गर्नुभएको छ । अरू नेताको पनि योगदान छ । उहाँहरू यहाँ नआउँदा नमीठो लागेको छ’, थापाले भन्नुभयो ।







पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र