काठमाडौं । नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन (इयु)ले उड्डयन सुरक्षा कालोसूचीबाट निस्कन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को संरचना नै परिवर्तन गर्नेगरी दुईवटा विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ र ‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३’ दर्ता गरेको हो । विधेयक पारित भए हालको क्यान खारेज हुनेछ । त्यसको ठाउँमा दुईवटा स्वायत्त निकाय बन्नेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमनको काम गर्नेछ ।
नेपाल हवाई सेवा प्राधिकरणले विमानस्थल तथा हवाई सेवा सञ्चालन गर्नेछ । यसले इयुको हवाई सुरक्षा कालो सूचीबाट निस्किन सहयोग पुग्ने सरकारको विश्वास छ । दुवै निकाय अलग भएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सुरक्षा कमजोरी सुधार हुने र इयुको प्रतिबन्ध हटाउने बाटो खुल्ने सरकारको दाबी छ । यद्यपि, क्यान विभाजनको कानुन बनेपछि मात्रै नेपाल इयुको कालोसूचीबाट स्वतः हट्ने भने होइन । कानुन कार्यान्वयन, नियामक निकायको क्षमता, सुरक्षा निगरानी र अन्तर्राष्ट्रिय मापदण्डको पालना पनि प्रभावकारी हुनुपर्ने उड्डयनविज्ञहरू बताउँछन् । विधेयक संसद्बाट पारित भएर प्रमाणीकरण भएपछि तीन महिनामा नयाँ संरचनाले काम थाल्ने प्रस्ताव छ । त्यसपछि नेपालले १३ वर्षदेखि बोकेको इयु प्रतिबन्ध हटाउन फेरि अन्तर्राष्ट्रिय सुरक्षा परीक्षणको सामना गर्नुपर्ने छ ।
नेपाल सन् २०१३ देखि इयुको उड्डयन सुरक्षा सूचीमा छ । यो अवधिमा नेपाली वायुसेवा कम्पनीले युरोपेली आकाशमा उडान गर्न पाएका छैनन् । नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई युरोपेली आकाशमा उडान गर्न प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध हटाउन सरकारले पटक-पटक प्रयास गरे पनि अहिलेसम्म सफलता मिलेको छैन । नेपालको नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदायकको जिम्मेवारी एउटै निकायमा हुँदा स्वार्थको द्वन्द्व हुने भन्दै आइकाओले पनि नेपालको संरचनामाथि प्रश्न उठाएको थियो । यही पृष्ठभूमिमा सन् २०१३ को डिसेम्बरदेखि इयुले नेपाली वायुसेवा कम्पनीमाथि प्रतिबन्ध लगाएको हो ।
इयुको प्रतिबन्धको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनीमा परेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २०७५ सालमा दुईवटा एयरबस ए ३३०-२०० वाइडबडी जहाज ल्याएको थियो । ‘अन्नपूर्ण’ नामको पहिलो जहाज असार १४ गते र ‘मकालु’ नामको दोस्रो जहाज साउन १० गते नेपाल भित्रिएको थियो । निगमले कोरिया, जापान र चीनसहितका गन्तव्यमा सेवा विस्तार गर्ने प्रयास गरेको थियो । तर, आठ वर्ष बितिसक्दा पनि युरोपेली मुलुकमा उडान विस्तार गर्न सकेको छैन ।
निजी क्षेत्रको श्री एयरलाइन्स पनि प्रतिबन्धको मारमा परेको छ । इयुको कालोसूचीका कारण संयुक्त राष्ट्रसंघले श्री एयरलाइन्ससँगको उडान सम्झौता रद्द गरेको थियो । त्यसपछि शान्ति मिसन र विश्व खाद्य कार्यक्रमअन्तर्गत उडान गरिरहेका एमआई–१७ हेलिकप्टर नेपाल फर्काइएका थिए ।
विगतका प्रयास असफल, यसपटक सफल होला ?
कालोसूचीबाट हट्न सरकारले वर्षौंदेखि क्यान विभाजनको प्रयास गर्दै आएको छ । तर, संसद्को कार्यकाल र राजनीतिक घटनाक्रमका कारण ती प्रयास सफल हुन सकेनन् । २०७६ फागुनमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रियसभामा हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुई विधेयक दर्ता गराउनुभएको थियो । ती विधेयक राष्ट्रियसभाबाट पारित भए पनि प्रतिनिधिसभाबाट पारित हुन सकेनन् र निष्क्रिय भए । त्यसपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले २०८१ माघमा फेरि दुवै विधेयक प्रतिनिधिसभामा दर्ता गराए पनि त्यो पनि पारित भएन । हालका पर्यटनमन्त्री खड्कराज पौडेल ‘गनेस’ले फेरि दुवै विधेयक प्रतिनिधिसभामा दर्ता गराउनुभएको हो । यसपटक संसद्मा सरकारको बलियो राजनीतिक अवस्था रहेकाले विधेयक पारित हुने अपेक्षा गरिएको छ ।
दुई स्वायत्त निकायको काम के-के हुन्छ ?
नयाँ ऐन पारित भएमा नेपाल नागरिक उड्डयन प्राधिकरण नियमनकारी निकाय हुनेछ । यसले वायुयान र उड्डयन जनशक्तिको लाइसेन्स जारी गर्नेछ । वायुसेवा सञ्चालन प्रमाणपत्र दिने, वायुयान दर्ता तथा उडान योग्यताको प्रमाणीकरण गर्ने, सुरक्षा मापदण्ड बनाउने र हवाई सुरक्षा सुपरीवेक्षण गर्ने जिम्मेवारी पनि यही निकायको हुनेछ । नियम उल्लंघन गर्ने वायुसेवा वा संस्थामाथि कारबाही गर्ने अधिकार पनि नियामकलाई दिइएको छ । तर, यसले कुनै व्यावसायिक उडान वा विमानस्थल सञ्चालन गर्ने छैन ।
नेपाल हवाई सेवा प्राधिकरण भने सेवा प्रदायक निकाय हुनेछ । यसले देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन र व्यवस्थापन गर्नेछ । एयर ट्राफिक कन्ट्रोल, एयर नेभिगेसन, विमानस्थल सुरक्षा, अग्नि नियन्त्रण तथा खोज तथा उद्धार सेवा पनि यही निकायअन्तर्गत रहनेछ । ल्याण्डिङ, पार्किङ, नेभिगेसन तथा यात्रु सेवा शुल्क उठाउने र विमानस्थलका व्यावसायिक संरचना सञ्चालन गर्ने अधिकार पनि सेवा प्रदायकलाई दिइनेछ ।
कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण
विधेयकले निजी क्षेत्रलाई विमानस्थल सञ्चालन र व्यवस्थापनमा सहभागी गराउने व्यवस्था पनि गरेको छ । नयाँ ऐन जारी भएपछि नेपाल हवाई सेवा प्राधिकरणले आफैँ वा निजी क्षेत्रसँग सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सक्नेछ । यसले विमानस्थल व्यवस्थापनमा निजी क्षेत्रको प्रवेशको बाटो खोल्नेछ । तर, क्यान विभाजनपछि कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएको छ । प्रस्तावित व्यवस्थाअनुसार हालका स्थायी कर्मचारी स्वतः नेपाल हवाई सेवा प्राधिकरणमा पदस्थापन हुनेछन् । नियामक निकायमा जान चाहने कर्मचारीले नेपाल राजपत्रमा सूचना प्रकाशित भएको ६० दिनभित्र मन्त्रालयमा निवेदन दिनुपर्ने छ ।
ज्येष्ठता, योग्यता, कार्यअनुभव र कार्यप्रकृतिका आधारमा कर्मचारीलाई नियामकमा पदस्थापन गरिनेछ । हाल पाइरहेको पारिश्रमिक र सेवाका सर्त नघट्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । नयाँ संरचनामा जान नचाहनेका लागि स्वेच्छिक अवकाशको विकल्प राखिएको छ ।
२० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले अवकाश हुँदा पेन्सन वा उपदान रोज्न पाउनेछन् । साबिकमा पेन्सन पाइरहेकाहरूको हक सुरक्षित रहने र यो ऐन प्रारम्भ भएपछि नयाँ नियुक्त हुने कर्मचारीहरूको हकमा भने योगदानमा आधारित पेन्सन लागू हुने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाका लागि भने सामाजिक सुरक्षा कोषमा जाने व्यवस्था हुनेछ ।
नियम उल्लंघन गर्नेलाई २५ लाखसम्म जरिवाना
विधेयकले हवाई सुरक्षा उल्लंघन गर्नेलाई कडा कारबाहीको व्यवस्था प्रस्ताव गरेको छ । नियामक प्राधिकरणका महानिर्देशकले नियम उल्लंघन गर्ने, बिना अनुमति उडान गर्ने वा हवाई सुरक्षामा गम्भीर सम्झौता गर्ने वायुसेवा वा संस्थालाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् । उडान रोक्ने वा इजाजतपत्र खारेज गर्नेसम्मको अधिकार पनि हुनेछ । विमानस्थलको संवेदनशील क्षेत्रमा अनधिकृत प्रवेश गर्ने वा प्रवेश पास दुरुपयोग गर्नेलाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ । दुवै निकायका प्रमुखले गरेको सजाय तथा जरिवानाउपर चित्त नबुझेमा सम्बन्धित व्यक्ति वा संस्थाले निर्णयको जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न पाउने न्यायिक उपचारको व्यवस्था गरिएको छ ।







भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न