काठमाडौं । सर्वोच्च अदालतमा गठन गरिने संवैधानिक इजलासमा पुनः विवाद चर्किएको छ । यसअघि इजलास गठनमा लामो समयदेखि विवाद हुँदै आएकोमा बुधबार संवैधानिक इजलास गठन भएर पनि बस्न नसकेपछि विवाद पुनः सतहमा आएको हो । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले गठन गर्नुभएको इजलास गठनको विषयलाई लिएर इजलासका अन्य सदस्यले बैठक बस्न नमानेपछि विवाद चर्किएको हो ।
बुधबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको थियो । इजलासमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश हरिप्रसाद फुँयाल, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान तोकिएका थिए । तर, इजलास भने बस्न सकेन । सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीका अनुसार इजलास गठन प्रक्रिया पूरा भए पनि प्राविधिक कारणले गर्दा बेञ्च बस्न नसकेको हो ।
यसअघि फुल कोर्ट बैठकमा पनि वरिष्ठतम् न्यायाधीशहरूले संवैधानिक इजलास गठन हुने गरेको विषयमा प्रधानन्यायाधीशसँग प्रश्न उठाएका थिए । सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँल मध्ये कुनै दुई जनालाई राख्ने र बाँकी दुई जनालाई आफ्नो अनुकूलको न्यायाधीशलाई बहुमत पुर्याउने उद्देश्यले इजलास गठन गर्दै आएको भन्दै प्रधानन्यायाधीश शर्मासँग न्यायाधीशहरूले प्रश्न गरेका थिए ।
इजलास गठनमा मनोमानी गरेको न्यायाधीशहरूको आरोप
बुधबार तोकिएको संवैधानिक इजलास बस्दै नबसी स्थगित भएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले ‘पिक एण्ड चुज’ शैलीमा संवैधानिक इजलास गठन गरेको भन्दै न्यायाधीशहरूले विरोध जनाएपछि संवैधानिक इजलास नबसी स्थगित भएको हो । सर्वोच्च अदालतका अरू इजलासका लागि गोलाप्रथाद्वारा पेसी तोक्ने व्यवस्था भए पनि संवैधानिक इजलासमा प्रधानन्यायाधीशले तोक्ने गरिएको छ । विगतमा शर्माले फुँयालबाहेकको इजलास गठन गर्नुभएको थियो । तर, एक्कासि आफूलाई बेञ्च तोकेपछि हरि फुँयालले प्रश्न उठाएको सर्वोच्चका एक न्यायाधीशले जानकारी दिए ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले यसअघि संवैधानिक इजलासमा न्यायाधीश फुँयाललाई राख्नुभएको थिएन । तर, बुधबारको इजलासमा उहाँलाई राख्ने भएपछि न्यायाधीश फुँयालले प्रधानन्यायाधीशलाई भेटेर बस्न अस्वीकार गर्नुभएको हो । ‘विगतमा किन राखिएन र आज मेरो के आवश्यकता पर्यो भन्दै’, न्यायाधीश फुँयालले प्रधानन्यायाधीशलाई प्रश्न गर्नुभएको थियो । न्यायाधीश फुँयाल बस्न नमानेपछि अन्य न्यायाधीशहरू पनि बस्न तयार भएनन् । त्यसैले बुधबारको संवैधानिक इजलास बस्न सकेन ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश हुन्छन् । इजलास गठनमा वरिष्ठताक्रम वा गोला प्रथाको वैज्ञानिक विधि हुनुपर्ने उहाँको अडान छ । प्रधानन्यायाधीशको मनखुसी रूपमा संवैधानिक इजलास गठन गर्न नहुने उहाँको धारणा छ । सर्वोच्च अदालतभित्र न्यायाधीशहरूको इजलास गठन र जिम्मेवारी बाँडफाँडलाई लिएर पछिल्लो समय असन्तुष्टि देखिँदै आएको छ । यसअघि पनि संवैधानिक इजलासमा न्यायाधीशहरूको राय बाझिएका घटना सार्वजनिक भएका छन् ।
यसअघि पनि सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्टको बैठकमा पनि प्रधानन्यायाधीश शर्माविरुद्ध सर्वोच्चका न्यायाधीशले संवैधानिक इजलास गठनको विषयलाई लिएर विभिन्न आरोप लगाएका थिए । उक्त बैठकमा प्रधानन्यायाधीश शर्माले अब आफू सच्चिने कुरा बताए पनि बुधबार गठन गरिएको इजलासले लिएर न्यायाधीशहरूले नै असहमति जनाएका हुन् ।
वरिष्ठता वा गोलाप्रथा लागू नभए आन्दोलन गर्ने बारको चेतावनी
सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको विषयलाई लिएर उत्पन्न विवादप्रति नेपाल बार एसोसिएसनले ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको छ । बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा प्रधानन्यायाधीशको व्यक्तिगत तजविजका आधारमा इजलास गठन गरिएको आरोप लगाउँदै यसलाई तत्काल बन्द गर्न माग गरिएको छ ।
नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठन गर्दा वरिष्ठताका आधारमा गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था भए गोलाप्रथा प्रणाली अवलम्बन गर्नुपर्ने आफ्नो संस्थागत माग रहेको दोहोर्याएको छ । तर, प्रधानन्यायाधीशले यस संस्थागत आवाजलाई बेवास्ता गर्दै संवैधानिक इजलासलाई ‘व्यक्तिगत रोजाइ’ र ‘स्वेच्छाचारी छनोट’को विषय बनाएको बारको आरोप छ । ‘संवैधानिक इजलास कसैको निजी रोजाइको सूची होइन, न त न्यायाधीश छनोट गर्ने व्यक्तिगत विशेषाधिकारको क्षेत्र हो’, बारले विज्ञप्तिमार्फत भनेको छ, ‘कुनै स्पष्ट, वस्तुगत र पूर्वनिर्धारित मापदण्डबिना गरिने स्वेच्छिक छनोटले न्यायिक निष्पक्षतामाथि मात्र होइन, न्यायपालिकाको संस्थागत विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा गर्दछ ।’
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा इजलास गठन र न्यायिक प्रशासनमा आफूखुसी, अपारदर्शी र मनोगत प्रवृत्ति देखिएको र त्यसपछि समाधान गरिएको भन्दै बारले ‘आज फेरि त्यही प्रकृतिको अभ्यास दोहोरिएको’ भनी टिप्पणी गरेको हो । बारले भनेको छ, ‘त्यही स्वेच्छाचारिताको मृत अवशेषले फेरि टाउको उठाउन खोजेको आभाष भएको छ ।’
प्रधानन्यायाधीश शर्माले ‘संवैधानिक इजलास गठनलाई आफ्नो व्यक्तिगत तजबिजको विषय बनाइराखेको’ भन्दै बारले व्यक्तिको रोजाइबाट संवैधानिक इजलास गठन गरेर न्यायपालिकाको गरिमा र जनविश्वास जोगिन नसक्ने निष्कर्ष निकालेको हो । बारले भनेको छ, ‘न्यायापालिका व्यक्तिको इच्छा, सुविधा, स्वेच्छा वा तजबिजले होइन, स्पष्ट नियम, निष्पक्ष पद्धति र संस्थागत मर्यादाले चल्नुपर्छ ।’
बारले मनोगत र मापदण्डविहीन संवैधानिक इजलास गठन रोक्न र त्यसको साटो वरिष्ठता वा गोला प्रक्रिया अपनाउन प्रधानन्यायाधीश शर्मालाई सुझाव दिएको हो । उसले आफ्नो सुझावको बेवास्ता गरे विगतको शैलीमा न्यायिक स्वेच्छातारिताविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो ।
मंगलबार परिषद् बैठकमा पनि उब्जिएको थियो विवाद
त्यसो त यसअघि नै सर्वोच्च अदालतमा न्यायाधीश सिफारिसको विषयलाई लिएर विवाद उब्जिएको थियो । वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानले सिफारिस गरिएका न्यायाधीशको योग्यतालाई लिएर प्रश्न उब्जिएको थियो । वरिष्ठतम् न्यायाधीश प्रधानले आफ्नो लिखित असहमति नै पेस गर्नुभएको थियो । अहिलेको नियुक्ति सिफारिसमा वकिल समूहबाट कोही नपरेको हुँदा सो नियुक्तिलाई लिएर नेपाल बार एसोसिएसनले समेत असहमति जनाएको थियो । उक्त असहमतिको जनाएकै अवस्थामा बारले प्रधानन्यायाधीश शर्माविरुद्ध बुधबार इजलास गठनको विषयलाई लिएर चेतावनी दिएको हो ।
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
सम्पत्ति शुद्धीकरण विभागले पूर्व-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उहाँ निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको छ । विभाग एवं प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, पूर्व-प्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको छ । स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ ।
जबराका भाइ प्रभु शमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको हो । जबराका निकटस्थ व्यक्तिका घरमा छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ । ‘उनको ग्याङदेखि घरका सहयोगीसमेत अब अनुसन्धानको दायरामा आउँछन् । अहिले जबराको घर, उनका आफन्तको घरमा पनि अनुसन्धान टोली पुगेको छ । प्रमाणहरू बरामद गर्ने काम हुन्छ’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘जबराको सम्पत्ति र बैंक खाता रोक्काका लागि पनि तत्काल पत्राचार हुन्छ ।’
भदौ १० गते राति जबरालाई पक्राउ गरेर प्रहरी कार्यालय लगिएको थियो । १२ घण्टा प्रहरी कार्यालयमा राखेर उहाँलाई रिहा गरिएको थियो । तर, त्यो बीचमा उहाँको मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएर १२ घण्टापछि फिर्ता गरेको थियो ।
झापाका इनम सापकोटा अहिले पनि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीमार्फत व्यवसायी दीपक भट्टलाई छुटाउनसमेत उनले चलखेल गरेको प्रमाण फेलापरेको सुरक्षा स्रोतको दाबी छ । सोही कारण दीपक भट्टलाई ललितपुरको नक्खु कारागारबाट सरुवा गरेर सिन्धुपाल्चोक पुर्याइएको छ । यता, जबरामाथिको अनुसन्धान भने अगाडि बढेको हो ।
जबरालाई पक्राउ नगरे पनि उहाँसँग कनेक्सन देखिएका सबैमाथि अनुसन्धान अगाडि बढाउने प्रधानमन्त्री कार्यालयले विभागलाई निर्देशन दिएको छ । जबरा र उहाँसँग जोडिएका बिचौलिया सापकोटासम्म कनेक्सन देखिएको भन्दै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशी दाहाललाई सोमबार निलम्बन गरिएको छ । दाहालमाथि जाँचबुझ गरेर बिहीबारसम्ममा प्रतिवेदन बुझाउन भनिएको छ ।
यता, सरकारले भने पूर्व-प्रधानन्यायाधीश राणाको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापालाई नियमित काम भनेको छ । सरकारी निकायले गर्ने नियमित काममा सरकारको हस्तक्षेप नहुने प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो । ‘उहाँको घरमा भएका गतिविधिबारे सम्पत्ति शुद्धीकरण विभागले नै जवाफ दिनेछ । यो सरकारी निकायले गर्ने नियमित काम हो । यसमा सरकारको कुनै हस्तक्षेप हुँदैन’, उहाँले भन्नुभयो ।






चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना