वलिउडलाई एक नयाँ उचाईंमा पुर्याउने मध्यका एक चर्चित कलाकार नाना पाटेकर, तिमीलाई मैले कहिल्यै भेटेको छैन । तिमीसँग कुनै व्यक्तिगत सम्बन्ध पनि छैन । तर पनि आज तिमी छैनौ भन्ने खबरले मन किन यति भारी भयो, आफैँलाई थाहा छैन ।
सायद कलाकारसँग हाम्रो सम्बन्ध यस्तै हुँदो रहेछ । हामी उसलाई व्यक्तिगत रूपमा चिन्दैनौँ, तर उसका पात्रहरूलाई चिन्छौँ । उसको आवाज चिन्छौँ । उसको अभिनयमा आफ्ना भावना भेट्छौँ । उसको चलचित्रसँग हाँस्छौँ, रुन्छौँ र कहिलेकाहीँ आफ्नै जीवनका केही क्षणहरू पनि सम्झिन्छौँ ।
तिमी पनि मेरा लागि त्यस्तै एउटा कलाकार थियौ । तिमी पर्दामा आउँदा म तिमीलाई ‘नाना पाटेकर’ भनेर मात्र हेर्दैनथेँ । कहिले तिमीभित्र एउटा बुबा देखिन्थ्यो, कहिले एउटा संघर्ष गरिरहेको मान्छे, कहिले आक्रोशित पात्र, कहिले हासो बाँड्ने कलाकार । तिमीले जुन पात्र निभायौ, केही समयका लागि त्यही पात्र नै तिमी हौ जस्तो लाग्थ्यो । सायद त्यही नै कलाकारको शक्ति रहेछ ।
आज तिमीलाई सम्झँदा तिमीसँग बिताएका व्यक्तिगत क्षणहरू छैनन्, तर तिम्रा चलचित्रसँग बिताएका अनगिन्ती क्षणहरू ताजा भएका छन् । सायद अब टेलिभिजनमा अचानक तिम्रो कुनै पुरानो चलचित्र आउँदा रोकिएर हेर्ने छौँ र तिमिलाई संझिने छौँ । तिम्रो संवाद सुन्दा मनमनै दोहोर्याएका क्षणहरू संझिने छौँ । तिम्रो अभिनय देखेर ‘कति राम्रो कलाकार!’ भनेर मनमनै प्रशंसा गरेका क्षणहरू संझिरहने छौँ ।
सायद फ्यान हुनु भनेको यही हो । कलाकारसँग आफ्नो कुनै व्यक्तिगत सम्बन्ध हुँदैन, तर उसको कला हाम्रो जीवनको कुनै कुनामा चुपचाप बसिरहेको हुन्छ ।
नाना, तिमीलाई हामीले नजिकबाट चिनेका थिएनौँ मात्र पर्दाबाट चिनेका थियौँ । तिम्रो आवाजबाट चिनेका थियौँ । तिम्रो अभिनयबाट चिनेका थियौँ । अब तिमी नयाँ चलचित्रमा देखिने छैनौ भन्ने सोच्दा एउटा युग नै रोकिएजस्तो लागेको छ ।
हामी फेरि तिम्रा पुराना चलचित्र हेर्नेछौँ । फेरि तिम्रा संवाद सुन्नेछौँ । फेरि तिमी पर्दामा देखिँदा केही बेरका लागि तिमीलाई जीवितै देखेजस्तो महसुस गर्नेछौँ । सायद यही नै कलाकारको अमरता हो । मान्छे एक दिन जान्छ, तर उसले सिर्जना गरेको कला मानिसहरूको सम्झनामा बाँकी रहन्छ ।
तिमी पनि अब हाम्रो वर्तमानमा छैनौ, तर हाम्रो स्मृतिमा तिमी सधैँ रहनेछौ । कुनै साँझ टेलिभिजनमा तिम्रो पुरानो चलचित्र बज्दा, कुनै सामाजिक सञ्जालमा तिम्रो पुरानो संवाद देख्दा फेरि तिमी सम्झिनेछौ र मनले भन्नेछ ‘नाना पाटेकर जस्तो कलाकार फेरि विरलै पाइन्छन !’
एउटा कलाकारका रूपमा तिमी हाम्रो सम्झनाको हिस्सा बनिसकेका थियौ । त्यसैले तिम्रो बिदाइमा आँखामा आएको आँसु सम्बन्धको कारण होइन, तिमीले वर्षौँदेखि दिएको कलाप्रतिको सम्मान र मायाको कारण हो । हामी तिमीलाई तिम्रा चलचित्रहरूमा भेटिरहनेछौँ । तिम्रा संवादमा सुन्नेछौँ । तिम्रा पात्रहरूमा खोजिरहनेछौँ ।
तिमी पर्दाबाट बिदा भयौ, तर हाम्रो स्मृतिबाट कहिल्यै बिदा हुने छैनौ । एक दर्शकको तर्फबाट तिमीलाई अन्तिम श्रद्धाञ्जली र तिम्रो कलाप्रति सधैँ सम्मान ।







आईजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौती–
दुई सहसचिव सचिव र एक
कांग्रेस महाधिवेशनमा बिहीबार मतदान, चिट
बेपत्ता भएका नागरिकलाई मृत घोषणा
लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने
कालीगण्डकीको बाढीले मालढुंगा पुल क्षतिग्रस्त,