काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि बिहीबार दिउँसो १ बजेदेखि मतदान हुँदैछ ।
काठमाडौंमा गत आइतबारदेखि जारी महाधिवेशनमा देशभर तथा प्रवासबाट सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्न लाग्नुभएको हो ।
केन्द्रीय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।
मतदान दिउँसो १ बजेदेखि सुरु हुने भएकाले अनावश्यक भीडभाड र असुविधाबाट बच्न बिहानैदेखि मतदानस्थलमा लाइनमा नबस्न निर्वाचन समितिले प्रतिनिधिहरूलाई अनुरोध गरेको छ ।
मतदान प्रक्रियालाई व्यवस्थित, छिटो र सहज बनाउन निर्वाचन समितिले प्रदेश तथा प्रतिनिधित्व समूहका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरेको छ ।
संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभा गृहस्थित मतदान केन्द्र ‘क’ तोकिएको छ । यस्तै, खुलामञ्चमा मतदान केन्द्र ‘ख’ स्थापना गरिएको छ ।
खुलामञ्चभित्र विभिन्न प्रदेश तथा समूहका आधारमा छुट्टाछुट्टै हलको व्यवस्था गरिएको छ । जसअनुसार कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिहरूले खुलामञ्चमा तोकिएको केन्द्रबाट मतदान गर्नुहुनेछ ।
गण्डकी प्रदेशका प्रतिनिधिहरूका लागि ‘हिमाल हल’ तथा मधेस प्रदेशका प्रतिनिधिहरूका लागि ‘तराई–मधेस हल’ निर्धारण गरिएको छ ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरू, नेपाली जनसम्पर्क समिति (प्रवास) तथा विभिन्न भ्रातृ संस्थाका प्रतिनिधिहरूले खुलामञ्चस्थित ‘पहाड हल’ बाट मतदान गर्नुहुने निर्वाचन समितिले जनाएको छ ।
मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदानका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्रीको समेत व्यवस्था गरिसकिएको समितिले जनाएको छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेताहरूबीच प्रतिस्पर्धा हुँदैछ । मतदानपछि मतगणना सुरु गरिनेछ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका