कालीकोट । दलित बालबालिका तथा युवाको शैक्षिक अवस्था सुधार गर्दै शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले कालीकोटको खाँडाचक्र नगरपालिका–६ मा लवि तथा पैरवीसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रीय कार्यालय र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रमअन्तर्गत स्थानीय शैक्षिक सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । खाँडाचक्र नगरपालिका–६ को सभाहलमा बुधबार सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती तथा सुधारका उपायबारे गहन छलफल गरिएको थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालीकोटकी जिल्ला अध्यक्ष अप्सरा कमालको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष दिनेश शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धल्पुरा महादेव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पशुपति भट्टराई विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा स्थानीय तहको शिक्षा नीति, छात्रवृत्ति नीति, दलित बालबालिकाको शैक्षिक अवसर तथा पहुँच विस्तार, छात्रवृत्ति वितरणमा पारदर्शिता र प्रभावकारिता, अभिभावक तथा शिक्षकको भूमिका, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरोकारवालाको जिम्मेवारीलगायत विषयमा छलफल गरिएको थियो ।
त्यस्तै बालबालिकाको चौतर्फी विकासका लागि घर तथा विद्यालयमा उपयुक्त वातावरण निर्माण, व्यक्तिगत अनुशासन, सरसफाइ, विद्यालयमा नियमित उपस्थिति तथा पढाइमा निरन्तरतालगायतका विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नं. ६ का वडाध्यक्ष दिनेश शाहीले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रमले विपन्न, गरिब तथा सम्भावना बोकेका दलित बालबालिकाको शिक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो ।
उहाँले आफू पनि स्थानीय समुदायको प्रतिनिधिका रूपमा लामो समयदेखि संघसँग समन्वय र सहकार्य गर्दै आएको उल्लेख गर्दै दलित तथा विपन्न बालबालिकाको शैक्षिक सुधारका लागि स्थानीय सरकारले आफ्नो दायित्व र जिम्मेवारीलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“दलित तथा विपन्न बालबालिकाको शिक्षामा सुधार ल्याउन स्थानीय सरकार, विद्यालय र सामाजिक संस्थाबीचको सहकार्य आवश्यक छ,” शाहीले भन्नुभयो, “नेपाल राष्ट्रिय दलित समाज कल्याण संघसँग विगतदेखि हुँदै आएको सहकार्यलाई आगामी दिनमा अझ बलियो बनाउँदै लैजान्छौँ।”
विशेष अतिथि तथा धल्पुरा महादेव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पशुपति भट्टराईले विपन्न तथा दलित बालबालिकाको शैक्षिक विकासका लागि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
उहाँले संघले विद्यालयसँग समन्वय र सहकार्य गर्दै सञ्चालन गरेका शैक्षिक गतिविधिले बालबालिकामा पढाइप्रतिको रुचि र आत्मविश्वास बढाउन सहयोग पुगेको बताउँदै विद्यालयका हरेक गतिविधिमा दलित बालबालिकालाई प्राथमिकतामा राखेर उनीहरूको क्षमता विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय परिवार जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
अन्तरक्रियामा सहभागी शैक्षिक सरोकारवालाले पनि आफूहरूले दैनिक रूपमा भोगिरहेका समस्या, चुनौती र त्यसका समाधानका उपायबारे धारणा राखेका थिए । दलित बालबालिकालाई विद्यालयमा टिकाइराख्न अभिभावकको सचेतना, शिक्षकको जिम्मेवारी, विद्यालयको अनुकूल वातावरण तथा स्थानीय सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाको राय, सुझाव र प्रतिबद्धताका आधारमा आगामी दिनमा शिक्षा क्षेत्रमा सुधारका लागि संयुक्त कार्ययोजनासमेत तयार गरिएको छ ।
छलफलका क्रममा दलित बालबालिकाको समग्र शैक्षिक अवस्था सुधारसँगै अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार तथा अन्य शैक्षिक सरोकारवालाले निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीबारे साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।
त्यसैगरी स्थानीय तहको शिक्षा नीति तथा छात्रवृत्ति नीतिबारे जानकारी विस्तार गर्ने, छात्रवृत्ति वितरण प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउने तथा सरकारी र गैरसरकारी निकायबाट उपलब्ध हुने शैक्षिक अवसरमा दलित तथा विपन्न बालबालिकाको पहुँच विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।
सरोकारवालाहरूले छात्रवृत्ति कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा बालबालिकाको शैक्षिक निरन्तरताका लागि आफूहरूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालीकोटका जिल्ला कार्यक्रम अधिकृत गोरख नेपालीले नेपाल छात्रवृत्ति कार्यक्रमको उद्देश्य, कार्यक्षेत्र तथा हालसम्मका गतिविधिबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
उहाँले दलित, विपन्न तथा गरिब परिवारका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक, शिक्षक तथा सम्पूर्ण शैक्षिक सरोकारवालाको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन गर्दै आएको नेपाल छात्रवृत्ति कार्यक्रमले कालीकोटमा दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन योगदान पुर्याउँदै आएको छ ।
कार्यक्रममा स्थानीय शैक्षिक सरोकारवालाको अर्थपूर्ण सहभागिता रहेको भन्दै कार्यक्रम अधिकृत नेपालीले आवश्यक विषयमा गहन छलफल भएकाले आगामी दिनमा दलित बालबालिकाको शैक्षिक अवस्थामा थप सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
अन्तरक्रियाले छात्रवृत्ति उपलब्ध गराउने मात्र नभई दलित बालबालिकाको शिक्षामा पहुँच, निरन्तरता, गुणस्तर र अवसर सुनिश्चित गर्न स्थानीय सरकारदेखि विद्यालय र परिवारसम्म सबै पक्षको साझा जिम्मेवारी रहेको सन्देश दिएको छ ।
सम्बन्धित तस्बिर :
१) खाँडाचक्र नगरपालिका–६ मा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला ।
तस्बिर मानबहादुर/हिटा







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं