काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू महाधिवेशन प्रतिनिधिसँग मतदानस्थल खुलामञ्च, भृकुटीमण्डप, नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत क्षेत्रमा मत माग्न व्यस्त हुनुहुन्छ ।
महाधिवेशनमा उम्मेदवारी दिएका कांग्रेसका नेताहरूले पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र संगठनात्मक सुधारमार्फत कांग्रेसलाई पुनः जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने एजेण्डा अघि सार्नुभएको छ ।
खुला केन्द्रीय सदस्यका उम्मेदवार बलदेव तिमिल्सिनाले विशेष महाधिवेशनबाट भएको नीतिगत तथा नेतृत्व परिवर्तनलाई संस्थागत गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै कांग्रेसलाई मुलुकको नेतृत्व गर्न सक्ने बलियो राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।
पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया अब व्यवहारमै लागू गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले युवाको हस्तक्षेपकारी भूमिका बढाउनुपर्ने र अग्रज नेताहरूलाई सम्मानजनक भूमिकासहित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्वमा परिवर्तन भएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार एकातिर कांग्रेसको नेतृत्वमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्नुपर्ने आवश्यकता छ भने अर्कोतर्फ समाजमा भइरहेको परिवर्तन र राजनीतिमा युवाको बढ्दो भूमिकालाई पार्टीले आत्मसात् गर्नुपर्छ ।
कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा पार्टीलाई मुलुकको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा पुनः स्थापित गर्नुपर्ने बताउँदै उहाँले मुलुकको समृद्धिका लागि कांग्रेस बलियो हुनुपर्ने धारणा राख्नुभएको छ ।
खुला केन्द्रीय सदस्यका अर्का उम्मेदवार कुमार लुइँटेलले पनि आफ्नो उम्मेदवारी पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको एजेण्डालाई संस्थागत गर्न केन्द्रित रहेको बताउनुभएको छ ।
कांग्रेस अब परम्परागत शैलीबाट अघि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले नयाँ राजनीतिक दलको उदय र कांग्रेसप्रति देखिएको जनअसन्तुष्टिलाई पार्टीले चुनौतीका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो ।
विगतमा कांग्रेसबाट भएका कामको समीक्षा गर्दै कमजोरी स्वीकार गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने उहाँको भनाइ छ । पार्टीभित्र देखिएका मतभेद र ध्रुवीकरणले निर्वाचनमा समेत असर परेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई समेटेर कांग्रेसलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने अभियानमा लाग्ने बताउनुभएको छ ।
सुशासन र समृद्धिलाई आगामी दिनमा कांग्रेसको मुख्य राजनीतिक एजेण्डा बनाउनुपर्ने बताउँदै लुइँटेलले सभापति गगनकुमार थापाको नेतृत्वमा आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्यसहित संगठन निर्माणमा लाग्ने धारणा राख्नुभएको छ । उहाँले पार्टीका वरिष्ठ नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
सुदूरपश्चिमबाट दलित क्लस्टरतर्फ केन्द्रीय सदस्यका उम्मेदवार रमेश ताम्राकारले पछाडि परेका समुदायको आवाज पार्टी नेतृत्वमा प्रभावकारी रूपमा उठाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
कांग्रेसलाई थप सशक्त बनाउन आफूले भूमिका खेल्ने बताउँदै उहाँले संसद्मा कांग्रेस संख्यात्मक रूपमा दोस्रो दल भए पनि जनमतका आधारमा पार्टी कमजोर नरहेको दाबी गर्नुभएको छ ।
पुराना दलप्रति जनतामा देखिएको असन्तुष्टिका कारण नयाँ राजनीतिक शक्तिलाई मत गएको उल्लेख गर्दै उहाँले आगामी स्थानीय निर्वाचनमा कांग्रेसलाई पहिलो संगठनका रूपमा स्थापित गर्ने गरी काम गर्ने बताउनुभयो ।
संगठन र नीति दुवैमा सुधार गर्दै पार्टीलाई पुनः जनताको विश्वासको पार्टी बनाउनुपर्नेमा जोड दिँदै ताम्राकारले कांग्रेसले विगतका कमजोरीको समीक्षा गरी मतदाताबाट टाढिनुको कारण पहिचान गर्नुपर्ने बताउनुभएको छ ।
महिला, दलित, जनजाति, मुस्लिमलगायत पछाडि परेका समुदायलाई अवसर दिने तथा युवाका लागि रोजगारी सिर्जना गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके कांग्रेस पुनः बलियो बन्न सक्ने उहाँको भनाइ छ ।
कांग्रेसका नेताहरूले १५औँ महाधिवेशनलाई नयाँ नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नभई पार्टीको संगठनात्मक पुनर्संरचना, पुस्तान्तरण, नीतिगत रूपान्तरण तथा जनविश्वास पुनःस्थापनाको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।




सांसद खगेन्द्र सुनार अडियो प्रकरण
देउवा समूहको निर्णय : कांग्रेसका
कांग्रेस महाधिवेशन : यी हुन्
एमाले अध्यक्ष ओलीद्वारा नीति अध्ययन
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम
काँग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा