काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। बिहीवार बसेको विश्वविद्यालय सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रस्तुत गर्नुभएको बजेट स्वीकृत गरेको हो।
प्रस्तावित बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ७७ प्रतिशतले बढी हो। कुल बजेटमध्ये त्रिविले आफ्नै आन्तरिक स्रोतबाट १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ अर्थात् ४९ दशमलव ३८ प्रतिशत र नेपाल सरकारबाट १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ अर्थात् ५० दशमलव ६२ प्रतिशत जुटाउने प्रक्षेपण गरेको छ।
तर सरकारले चालु आर्थिक वर्षका लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ मात्रै अनुदान विनियोजन गरेको छ। गत वर्षको तुलनामा सरकारले करिब ४ अर्ब ८० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको र शिक्षक तथा कर्मचारीको तलब वृद्धि तथा प्रोत्साहन भत्ताबाट थप दायित्व सिर्जना भएकाले त्रिविलाई ८ अर्ब ३१ करोड ८७ लाख ४७ हजार रुपैयाँ अपुग हुने रजिस्ट्रार शिवाकोटीले जानकारी दिनुभयो।
उहाँका अनुसार कुल प्रस्तावित बजेटमध्ये ८६ दशमलव १४ प्रतिशत सञ्चालन खर्च र १३ दशमलव ८६ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याइएको छ।
बजेट अभावका कारण अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत व्यहोर्न कठिन हुने अवस्था रहेको जानकारी विश्वविद्यालयले सरकारलाई पटक–पटक गराइसकेको रजिस्ट्रार शिवाकोटीले बताउनुभयो।
उहाँले अपुग रकमको व्यवस्था मिलाइदिन त्रिविका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र साह र सहकुलपतिसमक्ष अनुरोध गर्नुभएको छ।
त्रिविले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राविधिक, श्रम बजारमुखी तथा ज्ञान उत्पादनमा केन्द्रित कार्यक्रमको सुधार र विस्तारलाई प्राथमिकता दिएको छ। त्यस्तै अनुसन्धान कार्यलाई प्रभावकारी बनाउने र सरकारका प्राथमिकताका क्षेत्रमा अनुसन्धान केन्द्रित गर्ने नीति पनि विश्वविद्यालयले अघि सारेको छ।
बजेटमा स्वायत्ततामा गएका आठवटा क्याम्पसलाई समेत समेटिएको छ। शिक्षक तथा कर्मचारीको तलब वृद्धि र त्यसपछि हुन आउने रकममा प्रोत्साहन भत्तासहितको दायित्वलाई ध्यानमा राखेर बजेट प्रस्ताव गरिएको विश्वविद्यालयले जनाएको छ।






भेट्रान्स फुटबलको विजेतालाई १३ लाख
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका
भारतविरुद्ध वेष्ट इण्डिजको ऐतिहासिक रनचेज
एसियाडमा १३५ खेलाडी जाँदा जम्मा
फिफा विश्वकप छनोटमा एन्फाकै मिलेमतो
रग्बी विकास र खेल पर्यटन