काठमाडौं । रचनाकार, संगीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ । नेपाली तथा नेपालभाषाको गीत-संगीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याउनुभएका बेहोसीको बुधबार ९१ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली तथा नेपालभाषा (नेवारी) गीत–संगीत क्षेत्रमा छ दशकभन्दा बढी समय योगदान पुर्याउनुभएका बेहोसी गायन, संगीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँलाई नेपाली र नेपालभाषाको संगीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिन्छ ।
विसं २०१३ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी त्यही दिन प्रत्यक्ष प्रसारणमा गीत गाउने सौभाग्य प्राप्त गर्ने अग्रणी गायकमध्ये उहाँ एक हुनुहुन्थ्यो । कुल १७ जना प्रतिस्पर्धीमध्ये एकल गायकका रूपमा छनोट हुनुभएका उहाँको यो यात्रा नेपाली रेडियो संगीतको प्रारम्भिक इतिहाससँग जोडिएको महत्त्वपूर्ण अध्यायका रूपमा रहेको छ ।
उहाँका चर्चित गीतहरूमध्ये भारती उपाध्यायसँग गाएको ‘मलाई मेरो देशको सिन्दूर लाउन मन छ’ र तीर्थकुमारी थापासँग गाएको नेपालभाषाको चर्चित गीत ‘सु मदुगु ताक स्वया वा’ निकै लोकप्रिय छन् ।
पाटनको भिन्छबहालमा हुर्किएर हाल भोलढोका बस्दै आउनुभएका बेहोसीका दुई छोराहरू आनन्द र चेतन बज्राचार्य तथा छोरी मुनु बज्राचार्य हुनुहुन्छ । स्वर्गीय बज्राचार्यको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि त्यागलस्थित नेपाल भाषा मंका खलःमा राखिएको थियो ।







नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल