काठमाडौं । भारतीय सिनेमाका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित निवासमा असहज भएपछि अस्पताल बिहीबार बिहान अस्पताल लगिएका उहाँको उपचारका क्रममा निधन भएको हो । प्रारम्भिक विवरण अनुसार उहाँको मृत्यु कार्डियाक अरेस्टका कारण भएको जनाइएको छ ।
विश्वनाथ पाटेकर नामले जन्मिनुभएएका नाना सन् १९७८ को ‘गमन’बाट चलचित्र यात्रामा आउनुभएको थियो । पाँच दशकभन्दा लामो अभिनय यात्रामा उहाँले हिन्दी र मराठी सिनेमामा फरक शैलीको अभिनय स्थापित गर्नुभएको थियो । कठोर सैनिकदेखि विद्रोही, खलनायक र हास्य पात्रसम्म विविध भूमिकामा उहाँले प्रभावशाली अभिनय गर्नुएको छ ।
‘अंकुश’, ‘सलाम बम्बे’, ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘राजनीति’, ‘नटसम्राट’, ‘वेलकम’ जस्ता उहाँका चर्चित चलचित्र छन् । ‘वेलकम’मा निभाएको ‘उदय शेट्टी’को हास्य भूमिकाले उहाँलाई नयाँ पुस्तामाझ समेत लोकप्रिय बनाएको थियो ।
नाना तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार विजेता हुनुहुन्छ । ‘परिन्दा’ र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेता तथा ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको पुरस्कार उहाँले पाउनुभएको थियो । सन् २०१३ मा भारत सरकारले उहाँलाई पद्मश्रीबाट सम्मानित गरेको थियो । अभिनयसँगै निर्देशनमा समेत सक्रिय नानाले सन् १९९१को ‘प्रहार’ निर्देशन गर्नुभएको थियो । सैनिक पात्रलाई विश्वसनीय बनाउन उहाँले सैन्य तालिमसमेत लिनुभएको थियो ।
सामाजिक क्षेत्रमा पनि सक्रिय उहाँले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर सन् २०१५ मा ‘नाम फाउण्डेशन’ स्थापना गर्नुएको थियो । महाराष्ट्रका किसान तथा ग्रामीण समुदायका लागि पानी संरक्षण, गाउँ विकास र किसान सहयोगका क्षेत्रमा फाउण्डेशनले काम गर्दै आएको छ ।
नानाको निधनसँगै भारतीय सिनेमाले बहुआयामिक अभिनय क्षमताका एक विशिष्ट कलाकार गुमाएको छ । उहाँको संवाद बोल्ने शैली, प्रभावशाली आवाज र पात्रलाई जीवन्त बनाउने क्षमता लामो समयसम्म दर्शकको स्मृतिमा रहनेछ । उहाँको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर बलिउडका दिगज कलाकारहरूले श्रद्धाञ्जलि दिएका छन् । उहाँको निधनले सिंगो बलिउड स्तब्ध भएको छ । नानालाई बलिउडदेखि नेपाली कलाकारहरूले समेत सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिएका छन् । नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि एक पोष्ट गर्दै नानाको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउनुभएको छ । ‘यस महान् अभिनेता तथा अभिनय क्षेत्रका एक सच्चा हस्तीको निधनले अत्यन्त दुःखी बनाएको छ । सिनेमा क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान र आफ्नो कलाप्रतिको समर्पण सधैं स्मरणीय रहनेछ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु । ॐ शान्ति,’ मनिषाले लेख्नुभएको छ ।
मनीषाले नाना पाटेकरसँग ‘खामोसीः द म्युजिकल’, ‘अग्नि साक्षी’ र ‘युग पुरुष’जस्ता बलिउड चलचित्रमा अभिनय गर्नुभएको थियो । जुन चलचित्रमा उहाँहरूको केमेस्ट्रीलाई दर्शकले निकै मन पराएका थिए ।






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी