काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य तथा नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर्स किङ्सका मार्की खेलाडी एवं कप्तान हिमाल सुनारी मगरलाई स्पोर्ट्स एम्बासडर नियुक्त गरेको छ । बिहीबार आयोजित कार्यक्रममा पोखरा एभेन्जर्सले नेपाली भलिबलका चर्चित खेलाडी हिमाललाई स्पोर्ट्स एम्बासडरका रूपमा अनुबन्ध गरेको हो । पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनी र हिमालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
मिडल ब्लकर हिमालले एनभिएलको पहिलो संस्करणमा अन्नपूर्ण स्पाइकर्स किङ्सको नेतृत्व गर्दै टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । कप्तानीसँगै कोर्टमा प्रभावशाली प्रदर्शन गर्नुभएका हिमाल घरेलु भलिबलमा पछिल्लो समय उदाएका चर्चित खेलाडी हुनुहुन्छ । पोखरा एभेन्जर्सले ‘टु टिम, वान ड्रिम’ अवधारणाअन्तर्गत गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट र भलिबलका दुई फ्रेन्चाइज टोलीलाई जोड्ने उद्देश्यले हिमालसँग सहकार्य गरेको जनाएको छ ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले एउटै शहर र प्रदेशको प्रतिनिधित्व गर्ने दुई फरक खेलका फ्रेन्चाइज टोलीबीच सहकार्य र सहअस्तित्वको भावना विकास गर्ने उद्देश्यले हिमाललाई स्पोर्ट्स एम्बासडर बनाइएको बताउनुभयो । ‘पोखरा एभेन्जर्स र भलिबलको अन्नपूर्ण स्पाइकर्स किङ्स फरक खेलका टोली भए पनि हाम्रो आधार र भावना एउटै हो । गण्डकी प्रदेश र पोखराको खेलकुदलाई अझ बलियो बनाउने उद्देश्यले हिमालसँग सहकार्य गरेका हौं’, लोहनीले भन्नुभयो ।
हिमालले केही समयअघि पाकिस्तानमा सम्पन्न काभा पुरुष भलिबल च्याम्पियनसिपमार्फत् नेपाली राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । घरेलु प्रतियोगितामा गण्डकी प्रदेशबाट खेल्दै आउनुभएका हिमाल छोटो समयमै राष्ट्रिय टोलीको महत्त्वपूर्ण सदस्यका रूपमा स्थापित हुँदै आउनुभएको छ । स्पोर्ट्स एम्बासडरका रूपमा हिमालले पोखरा एभेन्जर्सको ब्राण्ड प्रवर्द्धन, समर्थकसँगको सम्बन्ध विस्तार तथा क्रिकेट र भलिबलबीचको सहकार्यलाई थप मजबुत बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यसैबीच, एनपिएलको तेस्रो संस्करणको तयारीमा रहेको पोखरा एभेन्जर्सले प्रशिक्षण पनि सुरु गरिसकेको छ । टोलीले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको थियो । अक्सनमार्फत् पोखराले अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बिके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा आबद्ध गरेको छ ।
विदेशी खेलाडीका रूपमा पोखराले बंगलादेशका चर्चित अलराउण्डर शकिब अल हसनलाई अनुबन्ध गरिसकेको छ भने श्रीलंकन अलराउण्डर धनञ्जय लक्षणलाई लगातार दोस्रो सिजन टोलीमा निरन्तरता दिएको छ । टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे अजन्ता विन्स्लो मेन्डिस नियुक्त हुनुभएको छ । मेन्डिस नेपाल आइसक्नुभएको छ र टोलीको प्रशिक्षणसमेत सुरु गरिसक्नुभएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं