नेपालको न्यायपालिका कहिल्यै विवादको घेराबाट बाहिर आउन सकेन । कुनै न कुनै निहुँमा विवादको घेराभित्र परिनै रहने गरेको न्यायालय पुनः यसैगरी विवादमा परेको छ । यसको विषय भने इजलास गठनमा मनोमानी भयो भन्ने रहेको छ । प्रधानन्यायाधीशले गठन गरेको इजलासमा उहाँको मनोमानी भयो भनेर न्यायाधीशहरूले नै प्रश्न उठाउनुभएपछि यो उहाँहरूको मात्र आरोप नभएर नेपाल बार एसोसिएसनको मैदानमा समेत पुगेको छ । बारले पनि यो विवादका कारण आन्दोलन चर्काउने चेतावनी दिएको छ । वरिष्ठता वा गोलाप्रथा लागू गर्नुपर्ने होइन भने आन्दोलन गर्ने चेतावनी नेपाल बारको रहेको छ ।
न्यायाधीशहरूको नियुक्तिमा रोलक्रम मिचिएको, कहिले न्यायाधीशहरूका क्रियाकलापमाथिका विवादलगायतले न्यायपालिका सधैं वादविवादको केन्द्रमा रहने गरेको छ । राष्ट्रका तीन प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच निरीक्षण र सन्तुलनको व्यवस्था मिलाइएको हुन्छ । हाम्रो संविधानले पनि त्यस्तो व्यवस्था मिलाएको छ तैपनि अन्तरसम्बन्धमा असहज परिस्थिति सिर्जना भएपछि यस्ता विवादहरू सिर्जना हुने गर्छन् । संविधान र कानुनले निरीक्षण र सन्तुलनको सिद्धान्त अपनाएको भए पनि व्यवहारमा हाम्रो देशमा भने कार्यपालिका अरू दुई निकायमाथि हावी हुनेगरेको छ । जसले गर्दा कार्यपालिकाको हैकमभित्र न्यायपालिका र व्यवस्थापिका प्रभावित बनिरहेका हुन्छन् । यसको गलत प्रभाव न्यायाधीश नियुक्ति र महत्त्वपूर्ण फैसलाहरूमा समेत देखिने गरेको छ ।
सरकार बन्नेबित्तिकै सुरुमै न्यायपालिकामा प्रधान न्यायाधीश नियुक्ति गरेको विषय विवादमा पर्यो । विवादमा पर्नुको कारण नेपालको इतिहासमै दोस्रोपटक वरियता मिचेर प्रधानन्यायाधीश नियुक्ति गर्नु थियो । नेपालको व्यवस्थित न्यायपालिकाको सुरुवातसँगै दार्जिलिङबाट हरिप्रसाद प्रधानलाई ल्याएर प्रधानन्यायाधीश बनाएको घटनाको सातदशकपछि चौथो वरियताका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाइएको सन्दर्भले धेरै चर्चा पायो । उक्त नियुक्तिको व्यापक विरोध भयो तर नयाँ बनेको दुईतिहाइको सरकार र उसले गरेका कार्यप्रति पुनर्विचार हुने कुरा थिएन ।
त्यसैले बिस्तारै यो सन्दर्भ सेलाउँदै गयो तर अहिले फेरि यस्तै अर्को सन्दर्भको पुनरावृत्ति भएको छ । सर्वोच्च अदालतका चारजना न्यायाधीश नियुक्ति सन्दर्भ पनि हालै यस्तै विवादमा परेको छ । न्यायपरिषद्ले यसरी न्यायाधीश नियुक्तिको सिफारिश गर्दा नेपाल बार एसोसिएसनसँग परामर्श गर्ने प्रचलन थियो तर अहिले त्यसो गरिएन । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश हुनुभएका चारजना न्यायाधीशहरूमध्ये एकजना भने पोखरा उच्च अदालतका मुख्य न्यायाधीश हुनुहुन्थ्यो । उहाँका सन्दर्भमा कसैले पनि प्रश्न उठाएन तर उहाँबाहेक अरू तीनजना न्यायाधीशहरु विभिन्न उच्च अदालतमा कनिष्ठ न्यायाधीशका हैसियतमा कार्यरत हुनुहुन्थ्यो । बरियता मिचेर एकैपटक पाँचौं, १३औं र सोह्रौं वरियतामा रहनुभएका न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गर्नु उपयुक्त होइन भनेर न्यायपरिषद्का अरू सदस्यहरुले विरोध गर्नुभएको छ ।
यसरी नियुक्तिका लागि सिफारिश गर्ने प्रक्रिया राजनीतिक नियुक्तिका शैलीमा अगाडि बढाइएको देखिएको छ । राजनीतिक नियुक्ति गर्दा सरकारले आफूलाई मन लागेको आफ्नो निकटको र कार्यक्षमता भए पनि नभए पनि आफूले रुचाएको व्यक्तिलाई गरिन्छ । विज्ञहरूको नियुक्तिमा त्यसो गर्नु सर्वथा अनुचित हुन्छ । सर्वोच्च अदालत जस्तो न्यायपालिकाको सबैभन्दा माथिल्लो अदालतमा राम्रो योग्यता पुगेका, क्षमता भएका, सक्षम न्यायाधीशहरू नियुक्ति हुनु आवश्यक हुन्छ । न्यायपरिषद्ले यसपटक न्यायाधीशमा सिफारिश गरेका व्यक्तिहरू कनिष्ठहरू मध्येका हुनुहुन्छ भन्ने सन्दर्भमा विरोध भएको हो । न्यायपरिषद्को सदस्य सपना मल्ल प्रधानले न्यायपरिषद्को उक्त निर्णयमा आफ्नो असहमतिको राय (नोट अफ डिसेन्ट) लेख्नुभएको छ ।
उहाँले अरू वरिष्ठ न्यायाधीशहरू हुँदाहुँदै यसरी कनिष्ठहरू मध्येबाट सिफारिश गर्नु अनुचित हो भन्ने आफ्नो राय पेश गर्नुभएको छ । यसका साथै उहाँले यसरी सिफारिश गरिएका व्यक्तिहरू कनिष्ठमात्र होइन यसमा समावेशिता पनि नअपनाइएको राय मल्लको छ । अहिलेको सिफारिशमा महिला र मधेसीहरूलाई समावेश नगरिएको उहाँको धारणा छ । कुनै पनि नियुक्तिहरूको आधार लिँदा त्यसमा समावेशिता पनि अपनाइनुपर्छ । महिला, दलित, जनजाति, मधेसी, पिछडा वर्गहरूको पनि सकेसम्म प्रतिनिधित्व हुनुपर्छ । अहिले सिफारिश गरिएका चारजना व्यक्तिमध्ये दलित र जनजातिको प्रतिनिधित्व भए पनि महिला र तराईवासीको भने प्रतिनिधित्व भएको छैन । प्रधानले आफ्नो असहमतिको रायमा यही कुरालाई उठाउनुभएको छ ।
यसैगरी असहमतिको राय दिने अर्का न्यायपरिषद् सदस्य महेश नेपालले पनि सर्वोच्च अदालतका न्यायाधीशहरूका लागि गरिएको सिफारिशप्रति लिखित विमति राख्नुभएको छ । उहाँले पनि कानुन व्यवसायीबाट न्यायाधीश सिफारिश नगरिएको र नेपाल बार एसोसिएसनको परामर्श नलिएको विषयमा प्रश्न उठाउनुभएको छ । यसपटकको सिफारिशमा परम्परा र अभ्यास मिचिएको उहाँको धारणा रहेको छ । उहाँले दलित र जनजातिको प्रतिनिधित्व गराइएकोमा प्रश्न नउठाउनु भए पनि अरू दुई खसआर्य वर्गबाट सिफारिश भएका न्यायाधीशहरूका सन्दर्भमा विमतिको राय प्रकट गर्नुभएको हो । यसरी चारजना न्यायाधीश सिफारिश भएको सन्दर्भमा अन्य अनगिन्ती वरिष्ठ र सक्षम न्यायाधीशहरू पछाडि छोडिएको उहाँहरूको धारणा हो ।
योग्यता र क्षमता भएका वरिष्ठ न्यायाधीशहरूलाई बेवास्ता गर्दै आफ्नो निकटकालाई नियुक्ति गर्दै आउने प्रचलन नेपालको लागि नौलो होइन । यस्तो प्रचलन न्यायपालिकामा पहिले थिएन, वरिष्ठहरुले स्थान पाउँथे । हरिप्रसाद प्रधानलाई विश्वेश्वरप्रसाद कोइरालाले भारतको दार्जिलिङबाट ल्याएर प्रधानन्यायाधीश बनाउनुभएको बेला नेपालमा राजनीतिक रूपमा संक्रमणकाल थियो । त्यसयता न्यायपालिका स्थापित रूपमा सञ्चालनमा आउन थालेको थियो । जसले गर्दा त्यहाँ वरिष्ठता क्रम मिचिँदैनथ्यो र नेपालको इतिहासमा ६५ वर्षसम्मको अभ्यासमा पनि वरिष्ठताको रोलक्रम मिचिएन तर जब राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाइ निकटको सरकार बन्यो त्यसयता भने यस्ता परम्परा मिचिएका नियुक्तिहरू पटकपटक दोहोरिएका छन् ।
यसपटक सर्वोच्च अदालतमा गर्न लागिएको न्यायाधीशको नियुक्तिको सिफारिश पनि यही कारणले विवादमा परेको हो । यसरी गरिने नियुक्तिहरूलाई सकेसम्म विवादरहित बनाउनु उचित हुन्छ । यो आवश्यक छ । वरियता मिचिएन भने वरिष्ठताक्रममा रहेका व्यक्तिहरूको मनोबल गिर्न पाउँदैन । उहाँहरूमा आफ्नो कामप्रति उत्साह थपिन्छ । होइन भने योग्यता, क्षमता भएका र वरिष्ठताले खारिएका व्यक्तिहरुको योग्यताको उपयोग हुनबाट राष्ट्र वञ्चित हुनपुग्छ । यसतर्फ सरकार तथा यस्ता आयोग तथा परिषद्हरुले सोच्नु उपयुक्त हुन्छ । बेलाबेलामा सिर्जना भइरहने यस्ता विवादहरूमा सामूहिक छलफल र सहमति तयार गर्न पहल गर्ने र सबैलाई समेट्ने हो भने निश्चय यस्ता विववादहरू यसरी सार्वजनिक बन्ने थिएनन् ।





सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?