काठमाडौं । निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रसिंह कार्कीले निजी मेडिकल कलेजमा देखिएको ‘खडेबाबा’ अर्थात् घोस्ट फ्याकल्टीको समस्या यही वर्षदेखि अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले मेडिकल कलेजको निरीक्षणका क्रममा मात्रै फ्याकल्टीका रूपमा देखिने प्रवृत्ति अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले चिकित्सा शिक्षा आयोग र सम्बन्धित विश्वविद्यालयले फ्याकल्टी व्यवस्थापनमा कडाइ गर्दा मेडिकल कलेजहरूले दक्ष जनशक्ति व्यवस्थापनमा समस्या भोगिरहेको बताउनुभयो । बजारमा उपलब्ध विशेषज्ञ चिकित्सकलाई आवश्यकताअनुसार एकभन्दा बढी संस्थामा अध्यापन गराउन सक्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्कीका अनुसार विशेषगरी काठमाडौं बाहिरका मेडिकल कलेजमा आवश्यक विशेषज्ञ जनशक्तिको अभावका कारण यस्तो समस्या देखिएको हो । आधारभूत विज्ञानका कतिपय विषयमा नेपालमै दक्ष जनशक्ति सीमित रहेको भन्दै उहाँले विगतमा विदेशी चिकित्सकले नेपालको चिकित्सा शिक्षा विकासमा पुर्याएको योगदानलाई पनि नकार्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आधारभूत विज्ञानका ६ वटा विषयमा नेपालमा दक्ष जनशक्ति औँलामा गन्न सकिने अवस्थामा छ । काठमाडौं बाहिर झन् अभाव छ । त्यसैले विगतमा भारतलगायतका देशबाट विशेषज्ञ ल्याएर अध्यापन गराउनुपर्ने अवस्था थियो ।’
विदेशी चिकित्सकलाई मात्रै ‘खडेबाबा’ भनेर परिभाषित गर्न नमिल्ने उहाँको भनाइ थियो । अहिले नेपाली विशेषज्ञ चिकित्सकको हकमा पनि एकभन्दा बढी संस्थामा अध्यापन गर्न पाउने वा नपाउने विषयमा समस्या देखिएको उहाँले बताउनुभयो ।
‘कुनै संस्थामा दक्ष विशेषज्ञ चिकित्सक उपलब्ध नभएको अवस्थामा अर्को संस्थामा कार्यरत चिकित्सकलाई आवश्यकताअनुसार केही समय अध्यापनमा सहभागी गराउन सक्ने व्यवस्था हुनुपर्छ,’ कार्कीले भन्नुभयो ।
उहाँले पोखरामा रहेका मणिपाल र गण्डकी मेडिकल कलेजको उदाहरण दिँदै एउटै क्षेत्रमा रहेका दुई संस्थाबीच विशेषज्ञ जनशक्ति साझा गर्न सकिने व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
‘गण्डकी मेडिकल कलेजका प्राध्यापकलाई दुईवटा कक्षाका लागि मणिपालले बोलाउन पाउने कि नपाउने ? यस्तो विषयलाई चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयले संवेदनशील रूपमा हेरिदिएको भए आज “खडेबाबा” भन्ने शब्द नै हुँदैनथ्यो,’ उहाँले भन्नुभयो ।
अध्यक्ष कार्कीले पीजी, डीएम र एमसीएच तहमा ‘खडेबाबा’ समस्या आउन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।
‘हामी एउटा वचन दिन्छौँ– यो वर्षदेखि चाहे पीजी, डीएम वा एमसीएचमा यस्तो समस्या आउँदैन,’ उहाँले भन्नुभयो ।
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन सरकारले विशेषज्ञ चिकित्सकलाई आवश्यकताअनुसार एकभन्दा बढी मेडिकल कलेजमा अध्यापन गर्न पाउने गरी कानुनी व्यवस्था गर्नुपर्नेमा कार्कीले जोड दिनुभयो ।







मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको