काठमाडौं । सरकारी कार्यालयहरूले खपत गरेको विद्युत्को महसुल अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरण र महालेखा नियन्त्रक कार्यालयबीच सरकारी निकायले उपयोग गरेको विद्युत् महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । महालेखा नियन्त्रक कार्यालयको एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सेवा र प्राधिकरणको संस्थागत ग्राहक भुक्तानी प्रणालीबीच अन्तरआबद्धतापछि सरकारी कार्यालयको विद्युत् महसुलको भुक्तानी विद्युतीय माध्यमबाट हुने भएको हो ।
प्राधिकरणका अनुसार दुई निकायका प्रणालीबीच गरिएको अन्तरआबद्धता डिजिटल भुक्तानी प्रोत्साहन गर्नुका साथै सार्वजनिक वित्तीय व्यवस्थापन र विद्युत् महसुल संकलन प्रणालीलाई थप आधुनिक र प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण कदम हो । जसबाट सरकारी निकाय, महालेखा नियन्त्रक कार्यालय र प्राधिकरणबीच वित्तीय तथा सूचना प्रणालीगत समन्वय थप प्रभावकारी भई डिजिटल अर्थतन्त्र तथा नगदरहित र चेकरहित कारोबारलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले नयाँ व्यवस्थाबाट सरकारी निकायहरूले विद्युत् महसुल भुक्तानीका लागि चेक तथा नगद प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भई सहज, सुरक्षित र पारदर्शी रूपमा भुक्तानी गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस व्यवस्थाले विद्युत् महसुल समयमै भुक्तानी सुनिश्चित गर्न, बक्यौता तथा बिलम्ब शुल्क न्यूनीकरण गर्न र महसुल संकलन प्रक्रिया थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’
सरकारी निकायले तिर्नुपर्ने विद्युत् महसुलको दायित्वसम्बन्धी विवरणसमेत समयमै प्राप्त हुने भएकाले भुक्तानी व्यवस्थापन थप व्यवस्थित हुने र अग्रिम रूपमा ठूलो रकम निकासा गरिराख्नुपर्ने अवस्था न्यूनीकरण हुनुका साथै वास्तविक विद्युत् खपतअनुसारको महसुल भुक्तानी गर्न सकिने भएकाले सरकारी निकायको वित्तीय व्यवस्थापनमा समेत सहजता आउने उहाँको भनाइ थियो ।






संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर