नेपाल फेरि एउटा निर्णायक राजनीतिक मोडमा उभिएको छ । विगतका सत्ता गठबन्धन, राजनीतिक संरक्षणमा हुर्किएको आर्थिक स्वार्थ, कमजोर संस्थागत अनुशासन, भ्रष्टाचार र दण्डहीनताको संस्कृतिबाट आजको नेपालले ठूलो राजनीतिक असन्तोषको यात्रा तय गरेको छ । त्यसको पछिल्लो परिणामका रूपमा नयाँ राजनीतिक शक्तिको उदय र प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारलाई हेर्न सकिन्छ । तर, एउटा प्रश्न अत्यन्त महत्त्वपूर्ण छ–सरकार परिवर्तन भयो कि शासन गर्ने शैली परिवर्तन हुँदैछ ?
यो प्रश्नको उत्तर भाषण, सामाजिक सञ्जाल वा विगतका दलप्रतिको आक्रोशबाट होइन, राज्यका संस्थाहरूले कस्तो व्यवहार गर्छन्, भ्रष्टाचार अनुसन्धान कति निष्पक्ष हुन्छ, विकासका आयोजना कति छिटो अघि बढ्छन्, सुरक्षा संयन्त्र कति व्यावसायिक बन्छन् र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कति परिपक्व ढंगले सञ्चालन हुन्छ भन्ने आधारमा खोजिनुपर्छ ।
नेपाललाई अब अर्को सत्ता परिवर्तनभन्दा ठूलो कुरा चाहिएको छ–सत्ता सञ्चालनको संस्कृतिमा स्थायी परिवर्तन । यही नै भ्रष्टाचारबाट विकासतर्फ, अविश्वासबाट संस्थागत लोकतन्त्रतर्फ र राजनीतिक अस्थिरताबाट जिम्मेवार राज्यतर्फ जाने वास्तविक बाटो हो ।
नेपालमा लामो समयदेखि सरकार फेरिए, प्रधानमन्त्री फेरिए, गठबन्धन फेरिए तर प्रशासनिक र आर्थिक संरचनाको चरित्रमा अपेक्षित परिवर्तन आउन सकेन । पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली र शेरबहादुर देउवाजस्ता शीर्ष नेताहरूले विभिन्न कालखण्डमा सत्ता सञ्चालन गरे । उनीहरूबीच राजनीतिक प्रतिस्पर्धा र सहकार्य दुवै देखियो । तर, अहिले उठेको प्रश्न कुनै एक नेता वा दलमाथि मात्र आरोप लगाउने होइन-के नेपालको पुरानो सत्ता संरचनाले राजनीतिक नेतृत्व र आर्थिक स्वार्थबीच अस्वस्थ सम्बन्ध निर्माण गरेको थियो ? यसको उत्तर तथ्य र कानुनी प्रक्रियाबाट खोजिनुपर्छ । हाल पूर्वप्रधानमन्त्री ओली, देउवा र दाहालका तत्कालीन निजी सचिवहरूसँग सम्बन्धित सम्पत्ति अनुसन्धान अघि बढिरहेको समाचार सार्वजनिक भएको छ । यसको अर्थ ती नेताहरू दोषी प्रमाणित भए भन्ने होइन, अनुसन्धान र न्यायिक निर्णय अलग कुरा हुन् । यस्ता अनुसन्धानले राजनीतिक पहुँच, प्रशासनिक निर्णय र आर्थिक हितबीचको सम्बन्धमाथि सार्वजनिक चासो बढाएको छ । यहीँबाट नेपालको आगामी राजनीतिक यात्राको एउटा आधार स्पष्ट हुन्छ–व्यक्तिलाई होइन, प्रणालीलाई जवाफदेही बनाउने ।
बालेन्द्र साह नेतृत्वको सरकारप्रति ठूलो सार्वजनिक अपेक्षा छ । त्यसको कारण केवल नयाँ अनुहार हुनु होइन, पुरानो राजनीतिक अभ्यासप्रति बढेको असन्तोषले नयाँ शासनशैलीको माग गरेको हो । त्यसैले प्रधानमन्त्री साहको वास्तविक परीक्षा विपक्षीलाई पराजित गर्नुमा होइन, आफ्नो सरकारलाई पुरानो राजनीतिक संस्कृतिको पुनरावृत्ति हुन नदिनुमा हुनेछ । सरकारको सफा छवि कायम राख्ने सबैभन्दा बलियो उपाय प्रचार होइन-खुला निर्णय प्रक्रिया हो ।
मन्त्रिपरिषद्का निर्णय, सार्वजनिक खरिद, ठेक्का, नियुक्ति, राजस्व छुट, जग्गा तथा सार्वजनिक सम्पत्ति उपयोग, नियामक निकायका निर्णय र ठूला पूर्वाधार आयोजनालाई पारदर्शी बनाइयो भने सरकारको विश्वसनीयता संस्थागत हुन्छ ।
नेपालमा भ्रष्टाचारविरुद्धको बहस प्रायः केही चर्चित व्यक्तिलाई पक्राउ गर्ने वा मुद्दा चलाउनेमा सीमित हुन्छ । अब त्यो शैली परिवर्तन गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रणको स्थायी सूत्र पाँच तहमा बनाउन सकिन्छ ।
पहिलो : राजनीतिक संरक्षण अन्त्य । कुनै दल, नेता वा सरकारसँग निकटता भ्रष्टाचार अनुसन्धानबाट बच्ने कवच बन्नु हुँदैन ।
दोस्रो : सम्पत्तिको वास्तविक परीक्षण । राजनीतिज्ञ, उच्चपदस्थ कर्मचारी र सार्वजनिक पदाधिकारीको वैध आय र सम्पत्तिबीचको सम्बन्ध नियमित रूपमा परीक्षण गर्ने प्रणाली आवश्यक छ ।
तेस्रो : सरकारी खरिद डिजिटल र पारदर्शी। ठेक्का तयार गर्नेदेखि मूल्यांकन र भुक्तानीसम्मको प्रक्रिया सार्वजनिक डिजिटल प्रणालीमा ल्याउनुपर्छ । चौथो-नियामक निकाय स्वतन्त्र । बैंकिङ, बीमा, धितोपत्र, सहकारी, दूरसञ्चार, निर्माण, जलविद्युत् र सार्वजनिक खरिद क्षेत्रमा नियामक निकाय राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ । पाँचौं–मुद्दा छिटो टुंग्याउने न्यायिक संरचना । वर्षौंसम्म अनुसन्धान र मुद्दा लम्ब्याएर भ्रष्टाचार नियन्त्रण हुँदैन । प्रमाण, अभियोजन र न्यायिक सुनुवाइलाई समयबद्ध बनाउनुपर्छ ।
दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित मुद्दाहरूले नेपालको वित्तीय तथा नियामकीय संरचनामा गम्भीर प्रश्न उठाएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध करिब २० अर्ब रुपैयाँबराबरको कारोबारसँग सम्बन्धित अभियोजन सिफारिश गरेको रिपोर्ट सार्वजनिक भएको छ । त्यसपछि जिल्ला अदालतले उनीहरूलाई धितोपत्र तथा बीमासम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्ने आदेश दिए पनि छुट्टै सम्पत्ति शुद्धीकरण मुद्दाका कारण उनीहरू हिरासतमै रहने अवस्था रिपोर्ट गरिएको थियो । यसलाई व्यक्तिविशेषलाई ‘अपराधी’ घोषित गर्ने आधारका रूपमा होइन, नेपालको नियामक प्रणाली कति प्रभावकारी छ भन्ने परीक्षणका रूपमा हेर्नुपर्छ ।
यदि कुनै व्यवसायीले राजनीतिक पहुँचका आधारमा लाइसेन्स, नियामक निर्णय, सार्वजनिक ठेक्का वा वित्तीय संस्थामा प्रभाव पार्नसक्छ भने समस्या एउटा व्यक्तिमा मात्र छैन, समस्या राज्य प्रणालीमा छ । त्यसैले अब प्रश्न ‘को पक्राउ पर्यो ?’ भन्दा ठूलो हुनुपर्छ-कसरी यस्तो पहुँच सम्भव भयो ? कुन निकाय असफल भयो ? कुन निर्णयकर्ताले के निर्णय गरे ? पैसाको प्रवाह कहाँबाट कहाँ पुग्यो ? र भविष्यमा यस्तो हुन नदिन कुन संस्थागत सुधार गरिन्छ ? यिनै प्रश्नको उत्तरले भ्रष्टाचारविरुद्धको अभियानलाई राजनीतिक प्रतिशोधबाट सुशासनको अभियानमा बदल्न सक्छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पछिल्लो पक्राउले न्यायपालिका र सरकारबीचको सम्बन्धबारे नयाँ बहस जन्माएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले सरकारी कदमप्रति आपत्ति जनाउँदै न्यायपालिकालाई बाह्य तथा आन्तरिक प्रभावबाट स्वतन्त्र राख्नुपर्ने धारणा राखेको रिपोर्ट आएको छ । साथै न्यायाधीश नियुक्ति, संवैधानिक इजलास, नेतृत्व र न्यायपालिकाभित्रको गुटबन्दीसम्बन्धी प्रश्न सतहमा आएका छन् । यस घटनालाई ‘सरकारविरुद्ध षड्यन्त्र’ वा ‘सरकारको प्रतिशोध’ भनेर एकतर्फी निष्कर्ष निकाल्नु दुवै गलत हुन्छ । बरू सरकारले प्रमाण सार्वजनिक गर्नुपर्छ । अदालतले कानुनी प्रक्रिया पालना गर्नुपर्छ । अनुसन्धान निकायले राजनीतिक निर्देशनबाट मुक्त भएर काम गर्नुपर्छ । न्यायपालिकालाई सरकारको नियन्त्रणमा पनि राख्न मिल्दैन, न्यायपालिकालाई सरकारमाथि राजनीतिक दबाब सिर्जना गर्ने माध्यम पनि बन्न दिन मिल्दैन । यही सन्तुलन लोकतन्त्रको वास्तविक परीक्षा हो ।
नेपालको संविधानमाथि पुनर्विचार, संशोधन वा विगतको संवैधानिक संरचनातर्फ फर्कने बहस अब राजनीतिक बहसको विषय बन्नसक्छ । तर, ‘पुरानो संविधान पुनःस्थापना’ भन्ने विषयलाई भावनात्मक नाराभन्दा माथि उठाएर हेर्न आवश्यक छ । कुन व्यवस्था किन हटाइएको थियो ? त्यसको विकल्प किन खोजिएको थियो ? अहिलेका कमजोरी के हुन् ? जनताले चाहेको शासन संरचना कस्तो हो ? संघीयता, निर्वाचन प्रणाली, संसद्, कार्यकारी नेतृत्व, न्यायपालिका र संवैधानिक निकायलाई कसरी प्रभावकारी बनाउने ? यी प्रश्नमा व्यापक राष्ट्रिय बहस आवश्यक छ ।
हाल साह सरकारले गठन गरेको संवैधानिक संशोधनसम्बन्धी कार्यदलले ठूलो संख्यामा संवैधानिक प्रावधान संशोधन गर्न सुझाव दिएको र प्रतिवेदन अझै सार्वजनिक छलफलमा पूर्णरूपमा नआएको रिपोर्ट छ । त्यसैले संविधान फेर्नेभन्दा पहिले संविधानको समस्या के हो भन्ने सार्वजनिक रूपमा स्पष्ट हुनुपर्छ ।
सुरक्षा : राजनीतिक स्थिरताभन्दा राष्ट्रिय सुरक्षाको प्रश्न नेपालको सुरक्षा अब केवल सीमा सुरक्षा वा प्रहरी परिचालनको विषय रहेन । साइबर सुरक्षा, वित्तीय अपराध, संगठित अपराध, सीमा अपराध, मानव तस्करी, अवैध पुँजी प्रवाह, सामाजिक सञ्जालमार्फत हुने गलत सूचना, राजनीतिक हिंसा र बाह्य प्रभाव सबै राष्ट्रिय सुरक्षाका विषय हुन् । त्यसैले राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र गृह प्रशासनबीच स्पष्ट समन्वय आवश्यक छ । तर, सुरक्षा राज्यको नाममा नागरिक स्वतन्त्रता कमजोर पार्ने बाटो स्वीकार्य हुनुहुँदैन । सुरक्षित नागरिक र स्वतन्त्र नागरिक–दुवै लोकतान्त्रिक राज्यका आधार हुन् ।
नेपालको विदेश नीति भावनात्मक राष्ट्रवाद र परम्परागत कूटनीतिक अभ्यासको बीचमा अल्झिनु हुँदैन । भारतसँग खुला सीमा, व्यापार, ऊर्जा, रोजगारी र जनस्तरीय सम्बन्ध छ । चीनसँग व्यापार, पूर्वाधार, पर्यटन र रणनीतिक सम्बन्ध छ । अमेरिका, युरोपेली संघ र अन्य मुलुकसँग विकास, लगानी, शिक्षा र प्रविधिको सम्बन्ध छ । त्यसैले नेपालको नीति कुनै एक शक्तिको पक्षमा उभिने होइन- नेपालको राष्ट्रिय हितमा सबैसँग सन्तुलित सम्बन्ध राख्ने हुनुपर्छ । साह सरकारले कूटनीतिक शैलीमा केही परिवर्तनको संकेत दिएको छ । उनले विभिन्न राजदूतसँग सामूहिक भेटघाट गरेर राज्यकेन्द्रित कूटनीतिक अभ्यासको संकेत दिएको रिपोर्ट छ । तर, भारतसँगको सम्बन्धमा सरकारको केही प्रारम्भिक कदमले कूटनीतिक असहजता पनि उत्पन्न गरेको रिपोर्ट छ । यसबाट पाठ स्पष्ट छ-राष्ट्रवाद र कूटनीति एकअर्काका विरोधी होइनन् । बलियो राष्ट्रवादको आधार नै परिपक्व कूटनीति हो ।
नेपालको पुरानो राजनीतिक नेतृत्वबारे जनतामा असन्तोष छ । तर, प्रचण्ड, ओली र देउवाबीच ‘नक्सा कोरेर बनेको भ्रष्टाचारको एउटै गठजोड’ थियो भनेर प्रमाणबिना निष्कर्ष निकाल्नु पत्रकारिता होइन । उनीहरूबीच भएका राजनीतिक सहकार्य, सत्ता गठबन्धन, नियुक्ति, नीतिगत निर्णय, सार्वजनिक खरिद र प्रशासनिक हस्तक्षेपको निर्णयगत अभिलेख परीक्षण गरिनुपर्छ । कसले के निर्णय गर्यो ? कसको पालामा कुन आयोजना स्वीकृत भयो ? कसले नियुक्ति गर्यो ? कसको समयमा कुन संस्थामाथि अनुसन्धान रोकियो वा अघि बढ्यो ? कसले कुन सार्वजनिक स्रोतबाट लाभ पायो ? यस्तो तथ्यमा आधारित अनुसन्धानले मात्र पुरानो राजनीतिक संरचनाको वास्तविक चित्र देखाउनसक्छ ।
प्रधानमन्त्री साहको व्यक्तिगत छवि कस्तो छ भन्ने प्रश्नभन्दा महत्त्वपूर्ण प्रश्न हो- उनको सरकारको संस्थागत छवि कस्तो बन्दैछ ? नयाँ नेतृत्वले आफूलाई पुरानो नेतृत्वबाट फरक प्रमाणित गर्न तीन काम तत्काल गर्नुपर्छ । एक-आफ्नै मानिसमाथि पनि समान कानुन । दुई-सरकारका निर्णयमा पूर्ण पारदर्शिता । तीन- आलोचनालाई शत्रु नठानी संस्थागत सुधारको स्रोत बनाउने । सरकारका निर्णयहरूलाई सर्वोच्च अदालतले अवरुद्ध गरेका घटना र सरकारमाथि संस्थागत प्रक्रिया बेवास्ता गरेको आरोपबारे सार्वजनिक बहस भइरहेको छ । त्यसैले सरकारको शक्ति संसद्, अदालत, संवैधानिक निकाय र सञ्चारमाध्यमलाई कमजोर बनाएर होइन, ती संस्थासँग उत्तरदायी सम्बन्ध बनाएर बलियो हुन्छ ।
नेपालको विदेश नीति भावनात्मक राष्ट्रवाद र परम्परागत कूटनीतिक अभ्यासको बीचमा अल्झिनु हुँदैन । भारतसँग खुला सीमा, व्यापार, ऊर्जा, रोजगारी र जनस्तरीय सम्बन्ध छ । चीनसँग व्यापार, पूर्वाधार, पर्यटन र रणनीतिक सम्बन्ध छ । अमेरिका, युरोपेली संघ र अन्य मुलुकसँग विकास, लगानी, शिक्षा र प्रविधिको सम्बन्ध छ ।
नेपालले अब ‘भ्रष्टाचारविरुद्ध अभियान’मात्र होइन, भ्रष्टाचार नियन्त्रणसहितको विकास रोडम्याप चाहिन्छ । पहिलो एक सय दिन सबै ठूला सरकारी खरिदको डिजिटल निगरानी, उच्च जोखिमका आयोजनाको सार्वजनिक अडिट, भ्रष्टाचारसम्बन्धी अनुसन्धानको प्रगति, सार्वजनिक सरकारी निर्णयको सर्चेबल डाटाबेस, सम्पत्ति विवरणको प्रभावकारी परीक्षण, सीमा र वित्तीय अपराध नियन्त्रणका लागि संयुक्त संयन्त्र एक वर्षभित्र सार्वजनिक खरिद प्रणाली सुधार, नियामक निकायमा राजनीतिक नियुक्तिको समीक्षा, विशेष भ्रष्टाचार अदालत/फाष्ट ट्याक न्यायिक संयन्त्रबारे अध्ययन, स्थानीय तहका ठूला आयोजनाको इन्डिपेन्ड अडिट, सरकारी सेवाको पूर्ण डिजिटलाइजेसन, लगानी स्वीकृति र व्यवसाय दर्तामा वन स्टेप सिस्टिम तीन वर्षभित्र रोजगारी सिर्जना गर्ने उद्योगमा केन्द्रित आर्थिक नीति, जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधारमा निजी लगानी, भारत र चीनसँग ऊर्जा तथा व्यापार सहकार्य, वैदेशिक रोजगारीबाट फर्किने युवाका लागि उद्यम कार्यक्रम, शिक्षा र स्वास्थ्यमा गुणस्तर तथा नियमन सुधार, राष्ट्रिय सुरक्षा र साइबर सुरक्षाको दीर्घकालीन रणनीति, अन्ततः जनताको प्रश्न एउटै हो नेपालका जनताले अब नयाँ नेतामात्र खोजिरहेका छैनन् । उनीहरू नयाँ शासन प्रणालीको अनुभव गर्न चाहन्छन् । उनीहरूलाई महँगो भाषण होइन, सस्तो र सहज दैनिक जीवन चाहिएको छ । उनीहरूलाई भ्रष्टाचारको आरोपमा वर्षौंसम्म चल्ने मुद्दा होइन, निष्पक्ष अनुसन्धान र समयमै न्याय चाहिएको छ ।
उनीहरूलाई राजनीतिक संरक्षण पाएका सीमित व्यवसायी होइन, समान प्रतिस्पर्धा गर्ने निजी क्षेत्र चाहिएको छ, अस्थिर गठबन्धन होइन, स्थिर नीति चाहिएको छ । उनीहरूलाई बाह्य शक्तिसँग झुक्ने वा अनावश्यक टकराव गर्ने विदेश नीति होइन, नेपालको हितमा आधारित आत्मविश्वासी कूटनीति चाहिएको छ । र सबैभन्दा महत्त्वपूर्ण–उनीहरूलाई पुरानो व्यवस्था फर्काउने वा नयाँ व्यवस्था ल्याउने नाराभन्दा जुनसुकै संविधान र शासन संरचनामा पनि भ्रष्टाचार गर्न नसक्ने राज्य व्यवस्था चाहिएको छ । त्यसैले नेपालको आगामी राजनीतिक यात्राको वास्तविक प्रश्न ‘को प्रधानमन्त्री ?’ मात्र होइन ।
कस्तो राज्य ? कस्तो न्याय ? कस्तो सुरक्षा ? कस्तो कूटनीति ? र भ्रष्टाचारमुक्त शासन कसरी ? बालेन्द्र साह नेतृत्वको सरकारले यी प्रश्नको उत्तर व्यवहारबाट दिनसकेमा नेपालको राजनीतिक परिवर्तन व्यक्ति परिवर्तनमा सीमित रहने छैन । तर, पुरानै शैली, पुरानै संरक्षणवाद र पुरानै अपारदर्शिता दोहोरियो भने नयाँ राजनीतिक शक्तिप्रतिको जनअपेक्षा पनि चाँडै परीक्षणमा पर्नेछ । नेपाललाई अब अर्को सत्ता परिवर्तनभन्दा ठूलो कुरा चाहिएको छ–सत्ता सञ्चालनको संस्कृतिमा स्थायी परिवर्तन । यही नै भ्रष्टाचारबाट विकासतर्फ, अविश्वासबाट संस्थागत लोकतन्त्रतर्फ र राजनीतिक अस्थिरताबाट जिम्मेवार राज्यतर्फ जाने वास्तविक बाटो हो ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा