काठमाडौं । नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । छुट जग्गा दर्ताको सिफारिससहितको फाइल सम्बन्धित कार्यालयमा पठाउन सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो । वली नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछा पोखरीका टोली प्रमुखसमेत हुन् ।
वलीले छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल फाइल र आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन तथा दर्ता प्रक्रियामा सहजीकरण गर्न सेवाग्राहीसँग घुस मागेको आयोगको आरोप छ । सेवाग्राहीलाई अनावश्यक सास्ती र हैरानी दिँदै घुस मागिरहेको उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा वलीले छुट जग्गा दर्तासम्बन्धी फाइल भूमि प्रशासन कार्यालयमा पठाइदिने र दर्ताको काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १० लाख रुपैयाँ माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १० लाख रुपैयाँ बिगो कायम गरेको छ ।
सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवानाको सजाय मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
तत्कालीन कार्यालय प्रमुखसहित सात जनाविरुद्ध मुद्दा
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रुपन्देहीबाट परीक्षाको नतिजा र सरकारी अभिलेख हेरफेर गरी १३ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसहित यातायात कार्यालयका चार कर्मचारी र तीन प्रहरी अधिकारीविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगको अनुसन्धानअनुसार वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत लिखित र प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएको देखाएर सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो । ती व्यक्ति २०७७ मंसिर २५ गते (सन् २०२० डिसेम्बर १०) जापान गएका थिए । उनी २०८३ भदौ ८ गतेसम्म नेपाल फर्किएको नदेखिए पनि २०७८ कात्तिक १७ गते (सन् २०२१ नोभेम्बर ३) उनको नाममा जे–१ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
त्यस्तै, लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूको नतिजा संशोधन गरिएको अभिलेख तयार गरी उत्तीर्ण भएको देखाइएको थियो । उनीहरूले प्रयोगात्मक परीक्षा दिएको जस्तो देखिने कागजातसमेत तयार गरेर तीन जनालाई जे–१ र चार जनालाई जे-२ वर्गको सवारी चालक अनुमति पत्र जारी गरिएको आयोगको आरोप छ ।
यसैगरी, लिखित परीक्षामा सहभागी नै नभएका पाँच जनालाई प्रयोगात्मक परीक्षामा सहभागी भएको झुटो अभिलेख तयार गरी जे-१ वर्गको सवारी चालक अनुमति पत्र उपलब्ध गराइएको अनुसन्धानमा देखिएको छ । यसरी जापानमा रहेका एक व्यक्तिसहित कुल १३ जनाको नाममा अनियमित रूपमा सवारी चालक अनुमति पत्र जारी गरिएको आयोगको निष्कर्ष छ ।
आयोगले यातायात कार्यालयका तत्कालीन प्रमुख यादव, तत्कालीन मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, तत्कालीन अधिकृत स्तर सातौँ तुल्सिराम अधिकारी र तत्कालीन अधिकृत स्तर छैटौँ राजीव अर्याललाई प्रतिवादी बनाएको छ । त्यस्तै, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डे भन्ने डिल्ली नारायण पाण्डेय, तत्कालीन प्रहरी निरीक्षक गणेश ज्ञवाली र तत्कालीन प्रहरी नायब निरीक्षक हुमानन्द खनालविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
आयोगका अनुसार आरोपितहरूले आपसी मिलेमतोमा सरकारी कार्यालयका कागजात तथा अभिलेख अनधिकृत र गैरकानुनी रूपमा सच्याउने, केरमेट गर्ने, थपघट गर्ने तथा हेरफेर गरी परीक्षाको परिणाम परिवर्तन गरेका थिए ।
आयोगले सातै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र १३ बमोजिमको कसुरमा सोही दफाहरूअनुसार कैद र जरिवानाको सजाय मागदाबी गरेको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा