राजविराज । बिहानको उज्यालो घरको आँगनमा पस्छ । साँझको अँध्यारो फेरि त्यही आँगनमा फर्किन्छ । तर, राजविराज नगरपालिका-१६ बोरिया टोलकी २७ वर्षीया दरोपती कुमारी सदाको प्रतीक्षा भने उज्यालो-अँध्यारोसँगै बदलिएको छैन । उहाँको नजर दिनभरि बाटोतिर हुन्छ ।
कुनै अपरिचित पाइला आँगनतिर मोडियो कि, टाढाबाट कसैको आवाज सुनियो कि- दरोपतीको मनमा एउटै प्रश्न उठ्छ, ‘कतै उहाँ त फर्किनुभएन ?’
भदौ १० गते रसुवामा आएको बाढीमा श्रीमान् सुरेन्द्र सदा बेपत्ता भएको ४१ दिन बितिसकेको छ । धेरैका लागि यो समय एउटा कठोर निष्कर्षमा पुग्न पर्याप्त हुनसक्छ । तर, दरोपतीका लागि भने यो केवल पर्खाइको अर्को दिन हो ।
उहाँ अझै श्रीमान्को मृत्यु स्वीकार गर्न तयार हुनुहुन्न । सिउँदोमा सिन्दूर छ । आँखामा श्रीमान् फर्किने विश्वास छ । र, मनमा एउटै अठोट– ‘उहाँ आउनुहुन्छ ।’ ‘मेरो सिउँदोको सिन्दूरले १२ वर्षसम्म श्रीमान्को प्रतीक्षा गर्नेछ । उहाँ फर्केर आउनुहुन्छ भन्ने विश्वास छ’, दरोपतीले भन्नुभयो । ‘आफ्नै आँखाले नदेखेसम्म कसरी मान्नु ?’
नुवाकोटको किस्पाङ गाउँपालिका-५ स्थित त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा सुरेन्द्र चार महिनादेखि कामदारका रूपमा कार्यरत हुनुहुन्थ्यो । चार महिनाको रोजगारीले घरको चुलो बलिरहेको थियो । तीन छोराछोरीको भविष्यका लागि उहाँ पसिना बगाइरहनु भएको थियो । तर, भदौ १० गते आएको बाढीले एकाएक सबै कुरा बदलिदियो । बाढीपछि सुरेन्द्र सम्पर्कविहीन हुनुभयो । त्यसयता दरोपतीको मोबाइलमा श्रीमान्को फोन आएको छैन । ढोकामा उहाँको पाइला परेको छैन । तर, दरोपतीको मनले अझै हार मानेको छैन । ‘रसुवामा वास्तवमा के भयो भन्ने मैले आफ्नै आँखाले देखेकी छैन । कसैले भन्दैमा श्रीमान्को अन्तिम संस्कार गर्दिनँ’, उहाँले भन्नुभयो, ‘अहिले त्यसबारे सोचेकी पनि छैन । १२ वर्षसम्म प्रतीक्षा गर्छु ।’
त्यो १२ वर्ष केवल एउटा समयसीमा होइन । त्यो एउटा पत्नीले आफ्नो श्रीमान् फर्किने विश्वासलाई दिएको जीवनभरको जस्तो लामो प्रतिज्ञा हो ।
तीन साना आँखामा एउटै प्रश्न
सुरेन्द्र र दरोपतीका तीन सन्तान छन्- आठ वर्षीया चाँदनी, ६ वर्षीया कुसुम र चार वर्षीय रौनक । उनीहरूका लागि बाढी, बेपत्ता, मृत्यु र खोजी जस्ता शब्दको अर्थ सायद अझै स्पष्ट छैन । उनीहरूलाई यति मात्रै थाहा छ- बुवा घरमा हुनुहुन्न । र, उनीहरूको मनमा पनि एउटै प्रश्न छ- ‘बुवा कहिले फर्किनुहुन्छ ?’ बुवाको अवस्थाबारे चिन्तित भएपछि उनीहरूले पढाइसमेत छाडेर घरमै बस्न थालेका छन् ।
दरोपती आफैँ पनि अहिले शारीरिक पीडामा हुनुहुन्छ । दुई साताअघि घर आउने क्रममा ई–रिक्सा दुर्घटनामा परेपछि उहाँको खुट्टामा चोट लागेको छ । ओछ्यानमा थलिएर बस्नुपरेको छ । वैसाखीको सहारामा जेनतेन हिँड्डुल गर्नुहुन्छ । तर, उहाँका लागि खुट्टाको चोटभन्दा ठूलो पीडा अर्कै छ । श्रीमान्को पर्खाइ ।
कमाउने हात हराएपछि चुलोको चिन्ता
सुरेन्द्रको कमाइबाटै परिवारको गुजारा चल्दै आएको थियो । अहिले कमाउने हात नै बेपत्ता भएपछि दरोपतीलाई तीन सन्तानको पेट पाल्ने चिन्ताले सताएको छ । बसोबास गरेको जग्गाको भाडाबापत मात्रै मासिक एक हजार रुपैयाँ बुझाउनुपर्छ । घरमा आम्दानीको अर्को भरपर्दो स्रोत छैन ।
एकातिर श्रीमान् फर्किने आशा, अर्कोतिर छोराछोरीको पेट । एकातिर भविष्यको अनिश्चितता, अर्कोतिर दैनिक जीवनको कठोर आवश्यकता । दरोपतीको जीवन अहिले यी दुई ध्रुवबीच अडिएको छ । तर, आशा भने अझै बाँचेको छ ।
बोरियामा तीन घरको प्रतीक्षा
दरोपतीको घरमा मात्रै होइन, बोरिया टोलका अरू दुई परिवारमा पनि अहिले दिनहरू प्रतीक्षामै बितिरहेका छन् । शिवकुमार सदा पनि त्यही बाढीमा बेपत्ता हुनुभयो । उहाँकी ३२ वर्षीया श्रीमती गुडिया देवी, १५ वर्षीय छोरा प्रकाश, १२ वर्षीया नितु, नौ वर्षीया रेणुका र छ वर्षीय जितेन अहिले बाबुको बाटो कुरिरहेका छन् । शिवकुमारको अवस्था पनि अहिलेसम्म अज्ञात छ । ‘मेरो श्रीमान् फर्केर आउनुहुन्छ भन्ने मलाई विश्वास छ’, गुडियाले भन्नुभयो । अन्तिम संस्कारबारे अहिले सोच्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
त्यही बाढीमा बेचन सदा पनि बेपत्ता हुनुभयो । बेचनका लागि घरमा पर्खिने श्रीमती भने हुनुहुन्न । उहाँकी श्रीमती फुलिया देवीको एक वर्षअघि क्यान्सरका कारण मृत्यु भइसकेको थियो । चार सन्तानमध्ये दुई छोरीको विवाह भइसकेको छ । घरमा १३ वर्षीय छोरा सुभाष र सात वर्षीया छोरी निभा छन् । उनीहरूका लागि बुवा नै अन्तिम सहारा हुनुहुन्थ्यो । तर, अहिले त्यही सहारा पनि कहाँ छ, कसैलाई थाहा छैन । ‘बुवा फर्केर आउनुहुन्छ भन्ने विश्वास छ । अन्तिम संस्कार गर्नेबारे सोचेका छैनौँ’, सुभाषले भन्नुभयो ।
बोरिया टोलका यी तीन परिवारका लागि ४१ दिन केवल पात्रोमा बितेको समय होइन । यो ४१ दिन प्रत्येक बिहान उठेर बाटो हेरेको समय हो । प्रत्येक साँझ ढोकातिर कान थापेको समय हो । हरेक फोनको घण्टी बज्दा मुटु ढुकढुकाएको समय हो । र, हरेक अपरिचित अनुहारमा आफ्ना मान्छेको अनुहार खोजेको समय हो ।
तीनैजना- सुरेन्द्र, शिवकुमार र बेचन– नुवाकोटको त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा काम गर्दै आउनुभएको थियो । बाढीपछि उहाँहरू बेपत्ता हुनुभयो । परिवारले अहिलेसम्म उहाँहरूको अवस्थाबारे निश्चित खबर पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार रसुवा बाढीपछि सप्तरीका ५३ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ११ जना सम्पर्कमा आएका छन् । एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन् ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार बेपत्ताको खोजी तथा अवस्थाबारे विवरण संकलनको काम भइरहेको छ । तर, प्रशासनको तथ्यांकमा रहेका ती ४१ नामका पछाडि ४१ परिवार छन् । ४१ घरका अधुरा कथाहरू छन् । आमाका आँखा छन् । श्रीमतीका सिउँदो छन् । छोराछोरीका प्रश्न छन् । र, सायद सबैभन्दा ठूलो कुरा– परिवारको अझै नमरेको आशा छ ।







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ