महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भौतिक सम्पदाको पुनर्निर्माणसँगै त्यससँग जोडिएका अमूर्त सांस्कृतिक परम्पराको निरन्तरता पनि उत्तिकै आवश्यक रहेको बताउनुभएको छ । उहाँले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महानगरपालिकाले नीतिगत तथा व्यावहारिक नेतृत्व गर्ने जानकारी दिनुभयो ।
कार्यवाहक प्रमुख डंगोलका अनुसार महानगरपालिकाले हालसम्म विभिन्न भौतिक सम्पदा, मठमन्दिरलगायत संरचनाको पुनर्निर्माण गरिसकेको छ । तर, ती सम्पदाको मौलिकता र सांस्कृतिक महत्त्व कायम राख्न तिनसँग जोडिएका संस्कार, परम्परा र प्रचलनलाई जीवित राख्नुपर्ने उहाँको भनाइ छ ।
सम्यक महादानलाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न गठन गरिएको ३०१ सदस्यीय मूल समारोह समितिले यसको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व संरक्षणमा काम गर्नेछ । यसका लागि महानगरपालिकाले सुरक्षा व्यवस्थापन, नीतिगत सहजीकरण र आर्थिक व्यवस्थापनमा समेत सहयोग गर्ने भएको छ ।
महानगरपालिकाले पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका सांस्कृतिक परम्परालाई युवा पुस्तासँग जोड्ने प्रयाससमेत गर्दै आएको छ । मुहाली बाजाको परम्परा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाको सहकार्यमा त्यसलाई पुनर्जीवित गरिएको उदाहरण प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले सम्यक महादानलाई पनि नयाँ पुस्तामाझ पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
यस अभियानअन्तर्गत विभिन्न उपसमिति गठन गरेर कामसमेत सुरु गरिएको महानगरपालिकाले जनाएको छ । सम्बन्धित समुदायका गुठियार, द्यः (देवता) थुवा तथा स्थानीय बुद्धिजीवीसँग समन्वय गरी सम्यक महादानलाई व्यवस्थित, मर्यादित र परम्पराअनुरूप सञ्चालन गर्ने महानगरपालिकाको प्रतिबद्धता छ ।
महानगरपालिकाले सम्पदा संरक्षणलाई भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सीमित नराखी त्यससँग जोडिएका संस्कार, संस्कृति र परम्पराको निरन्तरतासँग जोडेर अघि बढाउने नीति लिएको छ । सम्यक महादानको संरक्षण र पुस्तान्तरणको पहललाई पनि यही नीतिको हिस्सा मानिएको छ ।







चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु