काठमाडौं । सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधान कार्यान्वयनको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको छ । यसक्रममा दोलखा र रामेछापमा अनुगमन सम्पन्न भएको सरकारले जनाएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले महासन्धि कार्यान्वयनको अवस्थाबारे क्रमशः सबै जिल्लामा अनुगमन तथा निरीक्षण गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले धनकुटा, सुनसरी र मोरङका कारागार तथा केही हिरासतमा रहेका कैदीबन्दी र थुनुवाको मानव अधिकार अवस्थाबारे समेत अनुगमन गरेको छ । निरीक्षणका क्रममा कैदीबन्दी तथा थुनुवाको मानव अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
यसैबीच, सरकारले असोज २२ देखि २८ गतेसम्म सिंहदरबारस्थित सबै मन्त्रालय तथा मन्त्रालय परिसरमा सरसफाइ सप्ताह सञ्चालन गरेको छ ।
प्रवक्ता अर्यालका अनुसार अभियानलाई प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा सरसफाइसम्बन्धी गतिविधिको अनुगमन तथा निरीक्षण गर्न एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको छ । मन्त्रालयहरूलाई सरसफाइका गतिविधिको नियमित अनुगमन गरी त्यसको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनसमेत निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हरेक मन्त्रालयमा एक जना सरसफाइ फोकल पर्सन तोक्ने र उहाँमार्फत सरसफाइ भए–नभएको नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था गरिएको छ । सरसफाइसम्बन्धी गतिविधिको विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाउन पनि निर्देशन दिइएको छ ।”
प्रवक्ता अर्यालले नागरिकका गुनासालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारले आवश्यक काम गरिरहेको पनि बताउनुभयो ।







काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको