काठमाडौं । सरकारले अन्तरप्रदेशका छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने विद्युतीय शक्तिबाट चल्ने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विभागका अनुसार तराई तथा पहाडी सडकखण्डमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारीसाधनको दूरीअनुसार प्रतिकिलोमिटर भाडादर परिमार्जन गरिएको छ ।
नयाँ दरअनुसार तराईका पक्की तथा ग्राभेल सडकमा २५० किलोमिटरभन्दा बढी दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा प्रतिकिलोमिटर प्रतियात्रु २ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा तोकिएको छ ।
काठमाडौं–पोखरा र पोखरा–नारायणगढ सडकखण्डमा भने प्रतिकिलोमिटर प्रतियात्रु ३ रुपैयाँ २४ पैसा भाडादर कायम गरिएको विभागले जनाएको छ ।
डिलक्समा २० र सुपर डिलक्समा थप २० प्रतिशत भाडा
विभागका अनुसार सम्बन्धित कार्यालयबाट डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले सामान्य भाडादरमा २० प्रतिशत थप रकम लिन पाउनेछन् ।
त्यस्तै, सुपर डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले डिलक्स भाडादरमा थप २० प्रतिशत रकम जोडेर लिन सक्ने व्यवस्था गरिएको छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई छुट अनिवार्य
विभागले जारी गरेको आचारसंहिताअनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई प्रचलित नियमअनुसारको सहुलियत अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।
यस्तो छुटका लागि निश्चित रुट, कोटा वा दिन तोक्न नपाइने व्यवस्था गरिएको छ । यात्रुले सक्कल परिचयपत्र देखाएमा नियमानुसारको सहुलियत उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ ।
रात्रिकालीन बसमा दुई चालक अनिवार्य
लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था पनि कडाइका साथ लागू गरिने भएको छ । चालक तथा सहचालकले तोकिएको पोसाक लगाउनुका साथै परिचयपत्र पनि अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ ।
तोकिएकोभन्दा बढी भाडा असुल गरेमा कारबाही गरिने चेतावनी विभागले दिएको छ । बढी भाडा लिएको पाइएमा यात्रुले ‘हेलो सरकार’को टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी दिन सक्नेछन् ।







अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार