प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रतिष्ठानको विकास, स्वास्थ्य सेवा विस्तार तथा सेवाको गुणस्तर सुधारका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास, आवश्यक उपकरण व्यवस्थापन र स्वास्थ्य सेवाको विस्तारमा मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानको सेवा थप प्रभावकारी बनाउँदै सर्वसाधारणलाई सहज र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल गरिने उहाँको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्य, सांसद कमल सुवेदी, स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्र र रजिस्ट्रार प्रा. श्याम लम्साललगायतले प्रतिष्ठानको सेवा विस्तार तथा भावी योजनाबारे धारणा राख्नुभएको थियो ।
महामन्त्री आचार्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान यस क्षेत्रको स्वास्थ्य सेवाको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै नागरिकले विश्वास गर्न सक्ने गुणस्तरीय स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारमा जोड दिनुभयो ।
त्यस्तै, सांसद सुवेदीले स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै प्रशासनिक प्रणालीलाई पनि प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । सेवा प्रवाहलाई सहज, पारदर्शी र परिणाममुखी बनाउन प्रशासनिक सुधारलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
अन्तरक्रियामा प्रतिष्ठानको सेवा विस्तार, भौतिक पूर्वाधार विकास, उपकरण व्यवस्थापन, संस्थागत क्षमता सुदृढीकरण तथा सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढाउने विषयमा छलफल भएको थियो ।
प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले अस्पतालको भावी विकासका योजना अघि बढाउन, विद्यमान चुनौती पहिचान गर्न तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब