काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गतेसम्म ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ । फेस्टिभलमा विभिन्न १० देशका ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ ।
महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै फेस्टिभलबारे जानकारी दिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार फेस्टिभलका लागि दुई विधामा २७ वटा लघु चलचित्र छनोट भएका छन् ।
युथ भिडियो च्यालेन्जअन्तर्गत १२ वटा र नेपाल पानोरमाअन्तर्गत १५ वटा चलचित्र छनोट गरिएको उहाँले जानकारी दिनुभयो ।
युथ भिडियो च्यालेन्जअन्तर्गत ४० वर्षसम्मका युवालाई लक्षित गरी ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा पाँच मिनेटसम्मका भिडियो निर्माण गर्न आह्वान गरिएको थियो । यस विधामा प्राप्त ३५ वटा भिडियोमध्ये १२ वटा छनोट भएका हुन् ।
त्यस्तै, नेपाल पानोरमाअन्तर्गत खुला वृत्तचित्र, फिक्सन, एनिमेसन तथा प्रयोगात्मक विधाका तीन मिनेटसम्मका भिडियो माग गरिएको थियो । यस विधामा प्राप्त ७५ वटा भिडियोमध्ये १५ वटा छनोट गरिएको प्रवक्ता मानन्धरले बताउनुभयो ।
उत्कृष्ट चलचित्रलाई डेढ लाखसम्म पुरस्कार
महानगरपालिकाले युथ भिडियो च्यालेन्जमा उत्कृष्ट हुने चलचित्रलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । यस विधामा पहिलो हुने चलचित्रले एक लाख ५० हजार रुपैयाँ, दोस्रोले एक लाख रुपैयाँ र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, नेपाल पानोरमा विधामा छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
फेस्टिभलमा नयाँ चलचित्रका साथै नेपाली पुराना चलचित्रसमेत प्रदर्शन गरिनेछ । प्रवक्ता मानन्धरका अनुसार ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दुर’ लगायतका चलचित्र पनि प्रदर्शनका लागि राखिनेछन् ।
काठमाडौंको मौलिक पहिचान, सम्पदा र रचनात्मक उद्योगको प्रवर्द्धन गर्नुका साथै स्थानीय कलाकार तथा चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।






न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी