पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ माझठानामा विद्यार्थी बोकेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएपछि घटनाको छानबिन गर्न महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ ।
शुक्रबार बिहान ट्युसन पढ्न जाँदै गरेका विद्यार्थी सवार बस कालिकास्थित ओख्लेको भिरबाट खसेको थियो । बसमा चालक, सहचालक र विद्यार्थीसहित २२ जना सवार थिए । दुर्घटनालगत्तै उद्धार कार्य सुरु गरिए पनि पाँच जनाको ज्यान जोगाउन नसकिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयाे ।
दुर्घटनाको कारण पत्ता लगाउन महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा मेकानिकल इन्जिनियर, महानगर शिक्षा समितिका सदस्य, नगर प्रहरी निरीक्षक र ट्राफिक सहायक निरीक्षक सदस्य छन् ।
समितिलाई पाँच दिनभित्र घटनाको प्राविधिक तथा अन्य पक्षबाट विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
घटनास्थलको निरीक्षणपछि मेयर आचार्यले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
उहाँले सडकको अवस्था हेर्दा दुर्घटना हुने खालको बाटो नदेखिए पनि घटना गम्भीर रहेको बताउनु भयाे । छानबिन समितिले दुर्घटनाको प्राविधिक तथा अन्य पक्षको अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने उहाँको भनाइ छ ।
विद्यालयका सवारीसाधनमा अनिवार्य सुरक्षा मापदण्ड पालना भए–नभएको, नियमित प्राविधिक जाँच र पहेँलो रङको मापदण्ड कार्यान्वयनको अवस्थाबारे पनि थप कडाइ गरिने महानगरले जनाएको छ ।
छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दुर्घटनामा दोषी देखिएकामाथि कारबाही प्रक्रिया अघि बढाइने मेयर आचार्यले बताएका छन् ।







गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन निर्णय
साढे ५ घण्टा ढिलो कांग्रेस
भोजपुरमा २४४ किलोभन्दा बढी गाँजासहित
मलंगवामा एक लाख घुससहित इन्जिनियर
कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक
‘अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन