खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी हिमाल संरक्षण, जलवायु न्याय र नेपालको अन्तर्राष्ट्रिय पहिचान प्रवर्द्धनसँग जोड्नुपर्ने उनको भनाइ छ ।
शुक्रबार काठमाडौंको द सोल्टी होटलमा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टअन्तर्गत प्ले रग्बी नेपालले नेपाल रग्बी संघसँगको सहकार्यमा आयोजना गरेको ‘एभरेस्ट रग्बी लेगेसी २०२६–२७’ राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा देखिन थालेको बताए ।
आफू स्वयं सगरमाथा आरोही भएकाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव नजिकबाट अनुभव गरेको उल्लेख गर्दै उनले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालजस्ता मुलुकले बढी भोग्नुपरेको बताए ।
औद्योगिक तथा धनी राष्ट्रबाट हुने उत्सर्जनको परिणाम हिमाल, हिमाली जनजीवन र प्राकृतिक सम्पदाले बेहोर्नुपरेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा पुर्याउनुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले सगरमाथालाई केन्द्रमा राखेर सञ्चालन गरिने खेलकुद गतिविधि तथा अन्तर्राष्ट्रिय अभियानमार्फत जलवायु परिवर्तनको वास्तविकता विश्वसामु प्रस्तुत गर्न सकिने धारणा राखे । खेलकुदको विश्वव्यापी पहुँच उपयोग गरी हिमाल संरक्षण, वातावरणीय सन्तुलन र जलवायु न्यायका पक्षमा साझा आवाज उठाउनुपर्ने उनले बताए ।
मन्त्री पौडेलले नेपालमा रग्बी खेलको विकासका लागि सरकार, खेल संघ, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।
विद्यालय तथा समुदायस्तरबाटै रग्बीको विस्तार, खेलाडी उत्पादन, नियमित प्रशिक्षण, प्रतियोगिता सञ्चालन, खेल पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सहभागिता बढाउन ध्यान दिनुपर्ने उनको भनाइ थियो । खेलको दीर्घकालीन विकासका लागि नीतिगत स्पष्टता, पर्याप्त स्रोतसाधन र संस्थागत प्रतिबद्धता पनि आवश्यक रहेको उनले उल्लेख गरे ।
खेलकुद क्षेत्रको नेतृत्वमा खेलको मर्म बुझेका, खेलाडीका समस्या पहिचान गर्न सक्ने र अनुभव हासिल गरेका व्यक्तिहरू आउनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत निकटता वा समूहगत सम्बन्धका आधारमा नेतृत्व चयन गर्ने प्रवृत्तिले संस्थागत विकासमा बाधा पुर्याउन सक्ने बताए ।
खेलाडी तथा खेलको विकासलाई केन्द्रमा राखेर पारदर्शी, व्यवस्थित र परिणाममुखी प्रणाली निर्माण गर्नुपर्ने उल्लेख गर्दै उनले सुशासन, जवाफदेहिता र योग्यतामा आधारित नेतृत्वलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
मन्त्री पौडेलले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबीच नीतिगत उद्देश्य तथा कार्यान्वयनका विषयमा बुझाइको अन्तर हुँदा विकासका काममा ढिलाइ हुने गरेको बताए ।
नीतिगत निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट संवाद, आपसी समझदारी र समन्वय आवश्यक रहेको उनको भनाइ थियो । कानुनी प्रक्रिया र प्रशासनिक जिम्मेवारी सुशासनका आधार भए पनि प्रक्रियागत जटिलता तथा समन्वयको अभावले सार्वजनिक काममा अनावश्यक ढिलाइ हुन नहुने उनले बताए ।
‘एभरेस्ट रग्बी लेगेसी २०२६–२७’ राष्ट्रिय संवादमा नेपालमा रग्बी खेलको विकास, खेलकुद क्षेत्रका नीतिगत तथा संस्थागत चुनौती, नेतृत्वको भूमिका र खेलकुदमार्फत नेपालको हिमाली पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने सम्भावनाबारे छलफल भएको थियो ।







दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण
सेन्चुरी मसलाको नयाँ एयरटाइट जार
कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि,
हेटौँडामा ठगीको आशङ्कामा तीन जना
जलवायु परिवर्तनको असर विश्वसामु पुर्याउन