वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने सम्झौता घोषणा गर्नुभएको छ । अमेरिकामा इन्धनको मूल्य बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्ने दबाबबीच ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।
ट्रम्पको निर्णयप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आपत्ति जनाउनुभएको छ । उहाँले यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको उपहारको संज्ञा दिँदै युद्ध लम्ब्याउन सहयोग पुग्ने टिप्पणी गर्नुभएको छ ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउने जानकारी दिनुभएको थियो । उहाँका अनुसार नोभेम्बरमा पाँच लाख टन र त्यसलगत्तै थप १० लाख टन डिजेल आपूर्ति गरिनेछ । साथै, रुसका तेल प्रशोधन केन्द्रको अवस्थाका आधारमा छोटो अवधिमै थप ३० लाख टन डिजेल उपलब्ध गराउन सकिने उहाँले बताउनुभएको छ ।
सम्झौताको हिस्साका रूपमा अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल निर्यातमाथिका प्रतिबन्ध आगामी अप्रिल ७ सम्म अस्थायी रूपमा निलम्बन गरेको बताइएको छ । यद्यपि, अमेरिकी बैंकमा रहेका रुसी सम्पत्तिलगायत अन्य प्रतिबन्ध भने यथावत् रहनेछन् ।
रुसी राष्ट्रपति पुटिनले पनि शुक्रबार ट्रम्पसँग विश्वव्यापी ऊर्जा अवस्थाबारे कुराकानी भएको पुष्टि गर्नुभएको छ । अमेरिका तथा विश्व बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न रुस तयार रहेको उहाँले बताउनुभएको छ । तर, आपूर्ति गरिने परिमाण भने उहाँले खुलाउनुभएको छैन ।
जेलेन्स्कीको कडा विरोध
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी डिजेल आयातसम्बन्धी सम्झौताले युद्ध अन्त्य गर्नुभन्दा पनि लम्ब्याउन सहयोग पुग्ने बताउनुभएको छ ।
‘पुटिनलाई उपहार दिँदैमा शान्ति आउँदैन,’ उहाँको भनाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । रुसले इन्धन व्यापारबाट प्राप्त गर्ने आर्थिक लाभ युक्रेनमाथिको आक्रमण जारी राख्न प्रयोग गर्न सक्ने उहाँको आशय छ ।
जेलेन्स्कीले रुसले डिजेलको बदलामा थप आक्रमण र आतंक सिर्जना गर्ने दाबी गर्नुभएको छ । युक्रेनको प्रतिरक्षाका लागि अमेरिकाको बलियो समर्थन आवश्यक रहेको उल्लेख गर्दै उहाँले अमेरिकालाई रुससँग कडा रूपमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ ।
रुसले पछिल्लो समय युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण गर्दै आएको छ । त्यसको जवाफमा युक्रेनले रुसी तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । यस्ता आक्रमणका कारण रुसी इन्धन उत्पादनमा असर परेको बताइएको छ ।
जेलेन्स्कीले रुसी ऊर्जा पूर्वाधारमाथि गरिएका आक्रमणको बचाउ गर्दै रुसले युक्रेनको ऊर्जा संरचनामा आक्रमण नगरे आफूहरूले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्ने बताउनुभएको छ ।
रुसको इन्धन उत्पादनमा गिरावट
युक्रेनी ड्रोन आक्रमणका कारण रुसले यस वर्ष दुई चरणमा गम्भीर इन्धन अभावको सामना गरेको बताइएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार रुसको डिजेल उत्पादन झन्डै ३० प्रतिशतले घटेको अनुमान छ ।
रुसले आन्तरिक बजारमा डिजेल अभाव भएपछि यस वर्षको सुरुवातमा निर्यातमा प्रतिबन्धसमेत लगाएको थियो । यस्तो अवस्थामा ट्रम्पले घोषणा गर्नुभएको परिमाणमा रुसले डिजेल आपूर्ति गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न उठेको छ ।
त्यस्तै, यस सम्झौताले विश्व बजारमा इन्धनको मूल्य कति घटाउन सक्छ भन्ने पनि स्पष्ट भइसकेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको प्रमुख मानक ब्रेन्टको मूल्य प्रतिब्यारेल १०३ अमेरिकी डलरभन्दा माथि रहेको छ । इरान युद्ध सुरु हुनुअघि यसको मूल्य करिब ७३ डलर थियो ।
युरोपेली सहयोगीबाट आलोचना हुन सक्ने
रुससँगको सम्झौताका कारण ट्रम्पले युरोपेली सहयोगी तथा अमेरिकाभित्रका युक्रेन समर्थक राजनीतिज्ञबाट आलोचना खेप्नुपर्ने सम्भावना छ । रुसी ऊर्जा व्यापारबाट प्राप्त आम्दानीले मस्कोलाई युद्ध सञ्चालन गर्न आर्थिक सहयोग पुग्न सक्ने उनीहरूको चिन्ता छ ।
विशेषतः अमेरिकी कंग्रेसले रुसी तेल तथा ग्यास आयात गर्ने देशहरूमाथि नयाँ प्रतिबन्ध र कर लगाउने अधिकार दिने कानुन पारित गरेको र ट्रम्पले त्यसमा हस्ताक्षर गरिसकेको अवस्थामा नयाँ सम्झौतालाई विरोधाभासपूर्ण रूपमा हेरिएको छ ।
बेलायत सरकारले भने युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग जारी राख्ने र रुसमाथिको प्रतिबन्ध कायम राख्ने जनाएको छ । युक्रेनविरुद्धको युद्ध अन्त्य गर्ने निर्णय रुसले अहिले नै गर्न सक्ने बेलायती सरकारको भनाइ छ ।
यसअघि ट्रम्पले विश्व बजारमा इन्धनको आपूर्ति बढाउन जी–७ राष्ट्रहरूलाई उनीहरूको रणनीतिक भण्डारबाट १० करोड ब्यारेल तेल तथा डिजेल बजारमा पठाउन दबाब दिनुभएको थियो ।
रुससँगको नयाँ सम्झौताले विश्व बजारमा इन्धनको मूल्य घटाउन सहयोग गर्छ वा पुटिनको युद्ध सञ्चालनलाई थप आर्थिक लाभ पुर्याउँछ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ ।






आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना
प्रश्न उठाएर उदाएका गगन जवाफ
संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,