काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हतारमा निर्णय गरेर पछि पछुताउनुपर्ने अवस्था सिर्जना नगर्न सुझाव दिनुभएको छ। केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउन उहाँले आग्रह गर्नुभएको हो।
भट्टराईले केन्द्रीय सदस्य मनोनयन गर्दा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिनुपर्ने र विगतमा छुटेका भूगोल तथा समुदायलाई समेट्नुपर्ने बताउनुभएको छ। त्यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ तथा पुराना नेताको मिश्रणसहित स्पष्ट मापदण्ड बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
उहाँले जरुरी कामका कारण स्थायी कमिटी बैठकमा उपस्थित हुन नसकेको र आफ्नो अनुपस्थितिबारे पहिले नै जानकारी गराएको पनि उल्लेख गर्नुभएको छ।
भट्टराईले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनेको बताउनुभएको छ। यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता निर्माण गरी राष्ट्रिय चुनौतीको सामना गर्न अग्रसरता लिनुपर्ने उहाँको भनाइ छ।
एमाले केन्द्रीय कमिटीको असोजको पहिलो साता सम्पन्न बैठकमा पनि पार्टी रूपान्तरण, युवा सहभागिता तथा सङ्गठनात्मक सन्तुलनका विषयमा आफूहरूले पर्याप्त छलफल उठाएको उहाँले स्मरण गराउनुभएको छ।
पार्टीको जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने तथा वडा र पालिका तहका अधिवेशन आयोजना गर्ने निर्णय गरेको उल्लेख गर्दै भट्टराईले सङ्गठनात्मक प्रक्रियामार्फत पार्टीलाई थप गतिशील बनाउने अपेक्षा व्यक्त गर्नुभएको छ। आन्तरिक तथा राष्ट्रिय महत्त्वका विषयमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्नुपर्ने उहाँको धारणा छ।
तर, केन्द्रीय सदस्य मनोनयनमा युवालाई प्राथमिकता दिने तथा स्थायी कमिटी र पोलिटब्युरो गठनमा नयाँ र पुराना नेताबीच सन्तुलन कायम गर्ने विषयमा आफूहरूले दिएको सुझावअनुसार निर्णय हुन नसकेको उहाँले बताउनुभएको छ। यसले पार्टीभित्र सकारात्मक ऊर्जा सिर्जना गर्न नसकेको उहाँको भनाइ छ।
आसन्न निर्वाचनलगायत चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गर्दै भट्टराईले पार्टी एकतालाई कमजोर बनाउने निर्णय नगर्न चेतावनी दिनुभएको छ।
उहाँले भन्नुभएको छ, ‘पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय हतारमा निर्णय र फुर्सदमा पछुताउनु सरह हुनेछ।’
केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा सहमति र सन्तुलन कायम हुन नसके ती एजेन्डामा केन्द्रीय कमिटीको आगामी बैठकबाट निर्णय गर्नु उपयुक्त हुने भट्टराईको सुझाव छ।
केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिटब्युरो गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा विभिन्न विभागका जिम्मेवारीका लागि अध्यक्ष ओलीले एकल रूपमा तयार पारेको सूची बैठकमा पेस भएपछि एमालेभित्र असन्तुष्टि देखिएको छ। उक्त विषयमा निर्णय लिन स्थायी कमिटी बैठक आज पनि बस्दै छ।






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म