काठमाडौं । पूर्वसचिव तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख विज्ञ सल्लाहकार दिनेशकुमार घिमिरेले विद्युत् निर्यातमा मात्रै निर्भर नभई देशभित्रै विद्युत् खपत बढाउने नीति लिनुपर्ने बताउनुभएको छ।
इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा बोल्दै उहाँले अन्तरदेशीय विद्युत् निर्यातलाई आधार मानेर मात्रै विद्युत् उत्पादनमा जोड दिन नहुने बताउनुभयो। तत्कालका लागि भारत र बंगलादेशमा विद्युत् निर्यात गर्नु बाध्यता भए पनि दीर्घकालीन रूपमा आन्तरिक खपत विस्तारमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ।
घिमिरेले देशभित्र प्रसारण तथा वितरण पूर्वाधार निर्माण, औद्योगिक करिडोर विस्तार र विद्युत् खपत बढाउने संरचनाको विकासमा जोड दिनुभयो। उहाँका अनुसार नेपालको वर्तमान विद्युत् माग वास्तविक सम्भावनाभन्दा निकै कम छ। आवश्यक पूर्वाधार निर्माण गर्न सके हालको मागभन्दा धेरै विद्युत् खपत हुन सक्ने उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिलेको समस्या भनेको जेनेरेटेड पावरलाई म्यानेज गर्न हो। देशभित्रको ट्रान्समिसन र डिस्ट्रिब्युसन संरचना पनि हामीसँग पर्याप्त छैन। त्यसले गर्दा जेनेरेट भएको विद्युत् पनि उपयोग हुन सकेको छैन।”
नेपालमा हाल विद्युत्को आन्तरिक माग करिब २ हजार ५०० देखि ३ हजार मेगावाटसम्म रहेको उल्लेख गर्दै उहाँले यो वास्तविक नभई पूर्वाधार अभावका कारण खुम्चिएको माग भएको बताउनुभयो। प्रसारण तथा वितरण पूर्वाधार र औद्योगिक करिडोरको विकास गर्न सके विद्युत्को माग ५ हजारदेखि ६ हजार मेगावाटसम्म पुग्न सक्ने उहाँको भनाइ छ।
विद्युत् खपत बढाउन विद्युतीय यातायात, सार्वजनिक यातायातको विद्युतीकरण तथा घरायसी खाना पकाउने र ताप उत्पादनका लागि विद्युत्को प्रयोग विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसबाट देशभित्रै उत्पादित विद्युत्को उपयोग बढाउन सकिने उहाँले बताउनुभयो।
विद्युत् निर्यात विस्तारमा समेत विभिन्न चुनौती रहेको घिमिरेले उल्लेख गर्नुभयो। उहाँका अनुसार सीमापार प्रसारण पूर्वाधारको सीमितता, प्रसारण क्षमतामा अवरोध तथा विद्युत्को स्रोत र उत्पादनमा संलग्न पक्षसँग सम्बन्धित छिमेकी मुलुकका प्रतिबन्धले निर्यात प्रभावित हुन सक्छन्।
बुटवल–गोरखपुरलगायतका प्रसारण आयोजना निर्माणाधीन रहे पनि निर्यातको परिमाण बढाउन पूर्वाधारसँगै रणनीतिक अवरोधहरू समाधान गर्नुपर्ने उहाँको भनाइ छ। त्यसैले निर्यातलाई तत्कालीन आवश्यकताका रूपमा लिएर दीर्घकालमा आन्तरिक माग विस्तारमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
यसैगरी, घिमिरेले जलाशययुक्त आयोजना र सौर्य ऊर्जाको विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। जलाशययुक्त आयोजना निर्माण गर्न लामो समय लाग्ने भएकाले तिनको अध्ययन तथा कार्यान्वयनसँगै ठूला क्षमताका सौर्य विद्युत् आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) को विकासलाई तीव्रता दिनुपर्ने उहाँको सुझाव छ।
सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीले विद्युत् आपूर्तिमा हुने उतारचढाव व्यवस्थापन गर्न सहयोग पुर्याउने उहाँले बताउनुभयो। साथै, वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् व्यवस्थापनका लागि सीमापार विद्युत् व्यापारको बजार विस्तार पनि आवश्यक रहेको उहाँको भनाइ छ।







यसपाली बागलुङ कालिकामा छैन चहलपहल
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस
पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले